दक्षिण चीन सागरमा बढ्दो तनाव : दुई शक्ति राष्ट्रबिच शक्ति प्रदर्शनको परिणाम !

दक्षिण चीन सागरमा बढ्दो तनाव : दुई शक्ति राष्ट्रबिच शक्ति प्रदर्शनको परिणाम !

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण ४, २०७७

काठमाडौं ।यो वर्षको सुरुदेखि नै चीन केही मुद्दाका कारण चर्चामा रह्यो । कोरोना भाइरसको संक्रमण, अमेरिकासँगको व्यापारिक युद्ध, हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानुन, लद्दाखमा भारतसँग सीमा विवादलगायतका विषयले चीन सधैंजसो समाचारका हेडलाइन बन्यो । योसँगै एक पटक फेरि दक्षिण चीन सागरमा पनि तनाव सिर्जना भएको छ । दक्षिण चीन सागरको करिब ९० प्रतिशत क्षेत्रलाई चीनले आफ्नो दाबी गर्दै आएको छ । जसमाथि भियतनाम, ताइवान, मलेसिया, फिलिपिन्स र ब्रुनाईले समेत दाबी गर्दै आइरहेका छन्  । 

उनीहरुको यो दाबीलाई अमेरिकाले साथ दिँदै आएको छ र यस क्षेत्रमा हुने चिनियाँ गतिविधिविरुद्धका सबै क्रियाकलाप उसले नै गर्दै आएको छ । दक्षिण चीन सागरमा चीनको दाबी अस्वीकार गर्नु र समुद्री क्षेत्रलाई कथित स्वतन्त्रताको नाममा आफ्नो हैकम प्रदर्शन गर्नुका पछिको कारण भनेको खरबौं डलरको व्यापारिक मार्ग हुनु नै हो । जसलाई अमेरिका चीनको हातबाट खोसेर चीनालाई ठूलो क्षति पु¥याउन र यो क्षेत्रमा आफ्नो शक्ति स्थापित गर्न चाहन्छ । 

हालैमात्र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दक्षिण चीन सागरमाथि चिनियाँ दाबी गैरकानुनी भएको बताएपछि यो क्षेत्रलाई लिएर एक पटक पुनः विवाद सतहमा आएको हो । दक्षिण चीन सागर पानी जहाजको एक महत्वपूर्ण रुट हो, जसलाई लिएर पछिल्ला केही दशकदेखि नै तनाव रहँदै आएको छ । इन्डोनेसिया र भियतनामकोबीचमा पर्ने समुद्रको करिब ३५ लाख वर्गकिलोमिटरमा यो सागर फैलिएको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो समुद्री इलाकामा सयौं प्रजातिका जीवहरु पनि पाइन्छ ।

त्यहाँ बस्ने मानिसले मोबाइलमा ५ जी नेटवर्कको सुविधा उपभोग गरिरहेका छन् । उनीहरुका लागि ताजा फलफुल र सागसब्जी जहाजबाट पठाइन्छ । केही चट्टानी क्षेत्रमा माछा पालनका लागि विकसित गरिएको छ । यो क्षेत्रमा माछा पालन गर्ने परिवार निकट भविष्यमा स्थायी रुपमा बस्ने र उनीहरुका बालबच्चाहरु चिनियाँ कम्युनिस्ट पार्टी र सरकारी अधिकारीका बच्चाहरुसँगै त्यही पढ्न सक्ने सम्भावना छ । 

के हो दक्षिण चीन सागर ?

चीन सागर प्रशान्त महासागरकै एक हिस्सा हो र दक्षिण चीन सागरपनि । यो चीनको दक्षिणमा पर्छ । यो प्रशान्त महासागरको एक हिस्सा हो जुन, सिंगापुरदेखि ताइवानको खाडीसम्म लगभग ३५ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । पाँच वटा महासागरपछि यो सबैभन्दा ठूलो सागर हो । यसमा ठूलो संख्यामा साना साना टापुहरु रहेका छन् । यिनीहरुलाई संयुक्त रुपमा द्वीप समूह भनिन्छ । यो दक्षिण चीन सागर र यी द्वीपहरुमाथि विभिन्न देशले आफ्नो दाबी गरिरहेका छन् । दक्षिण चीन सागर ताइवानसहित चीनको दक्षिणी क्षेत्र, भियतनाम र कम्बोडियाको पूर्व, फिलिपिन्सदेखि पश्चिम, मलाया पेनिनसुएला र सुमात्राको पूर्व तथा बाङ्का–बेलितुङ टापु र बोर्नियोको उत्तरी क्षेत्र हो । 

दक्षिण चीन सागरका विषयमा सतहमा चीन र अन्य एसियाली राष्ट्रहरुबीच विवाद देखिदै आएपनि यसको खास विवाद चीन र अमेरिकी वर्चस्वको लडाई बन्दै आएको छ । केही समयअघि अमेरिकाका विध्वंसात्मक युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेका थिए । चीनले यसलाई एसियाली क्षेत्रमा स्थायित्व र शान्ति विगार्ने कदम भन्दै कडा आलोचना गरेको थियो । 

चीनको दाबी

चीनले दक्षिण चीन सागरमा आफूले सदयौंदेखि उपभोग रहेको भन्दै दाबी बलियो रुपमा उठाँउदै आएको छ । आफूले दाबी गर्दै आएको दक्षिण चीन सागरमा चीनले सैनिक उपस्थिति पनि बढाएको छ । एक दशकअघिमात्रै पनि दक्षिण चीन सागरमा अहिलेजस्तो तानातानको अवस्था थिएन । 

चीनले आफ्नो अधिनमा रहेको दाबी गर्दै आएको यो क्षेत्रमा उत्खनन गर्ने जहाज, ठूलो संख्यामा इँटा, बालुवा, रोडा जम्मा गर्न थाल्यो । उसले सानो समुद्री किनाराको वरिपरी बालुवा, रोडा, इँटा र संक्रिटको सहयोगमा निर्माण कार्य सुरु गर्‍यो । 

अमेरिकी प्यासिफिक कमाण्डका पूर्व कमाण्डर एडमिरल ह्यारी ह्यारिसले एक पटक ‘द ग्रेट वाल अफ स्यान्ड’ का रुपमा यसको वर्णन गर्दैै भनेका थिए, ‘चीनले समुद्रमा आफ्नो चारैतर्फ एक सुरक्षात्मक घेरा बनाएको छ, जुन जमिनमा बनेको पर्खालजस्तो छ ।’ 

चीन र अमेरिकाबीच व्यापारमा राम्रो साझेदारी रहँदा पनि उनीहरुबीच तीखो वक्तव्यबाजी हुँदै आएको थियो । दुई देशबीच व्यापारिक संघर्षका बाबजुद अमेरिकाले चीनलाई यो क्षेत्रमा आवतजावतमा रोक नलगाउन बारम्बार चीनलाई आग्रह गर्दै आएको थियो । चीनमाथि गत डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसलाई प्रभावकारी रुपमा नियन्त्रण नगरेको र यसैका कारण संसारभर फैलिएको आरोप लगाउँदै चौतर्फी रुपमा घेराबन्दी सुरु भयो । त्यसको एक साधन बन्यो–दक्षिण चीन सागर । जसका कारण यस क्षेत्रमा पुनः विवाद बढेको छ । 

चिन्ताजनक समयमा सैन्य तनाव

अप्रिलको सुरुमा एक चिनियाँ तटरक्षक पानीजहाजले प्यारासेल द्विप समूह नजिकै माछा मार्ने भियतनामी जहाजलाई ठक्कर दिएर डुबाइदियो । यो क्षेत्रमा चीन र भियतनाम दुवैको दाबी रहँदै आएको छ । 

यस्तै चिनियाँ नौसेना र तटरक्षक बलको एक चिनियाँ समुद्री सर्वेक्षण पोतले बोर्नियोको तटीय क्षेत्रमा एक मलेसियाको तेल खोज परियोजनाको काममा अपरोध गर्‍यो । परिणामस्वरुप अस्ट्रेलियाको युद्धक विमानको समर्थन समेत प्राप्त एक अमेरिकी नौसेनाको युद्धपोत यस क्षेत्रमा तैनाथ गरियो । यसपछि अमेरिकाले दुई ठूला युद्धपोत प्यारासेल र स्पे्रटली द्विपको नजिक तैनाथ गर्‍यो । 

अमेरिकी नौसेनाले यो क्षेत्रमा संयुक्त अपरेशनका लागि दुई विमानबाहक युद्धपोत ल्यायो भने ‘स्ट्राटेजिक बम्बिङका लागि चर्चित बी–५२ विमान पनि यो क्षेत्रमा गस्तीका लागि उतार्‍यो । दक्षिण चीन सागरमा अमेरिकी सैन्य उपस्थितिको चीनले कडा शब्दमा निन्दा गर्‍यो । अमेरिकी सेनाको दक्षिण चीन सागरमा उपस्थितिको सबैभन्दा ठूलो खतरा भनेकै दुई शक्ति राष्ट्रबीच शत्रुता अझ बढ्नेछ भने कुनै ठूला घटना घट्ने खखतरा पनि उत्तिकै हुन्छ । 

चीन आफ्ना रणनीतिक स्थानमा बढी संवेदनशील देखिन्छ । हालै भारतसँगको सीमा क्षेत्रमा भएको भिडन्त भएको छ भने हङकङमा  प्रदर्शनहरुलाई नियन्त्रणमा लिनका लागि नयाँ राष्ट्रिय कानुन लागू गरेको छ । अन्तर्राष्ट्रिय मोर्चामा चीनलाई चौतर्फी घेराबन्दीमा पार्ने कोशिस भइरहेकाले चीनले पनि त्यसलाई रोक्न र आक्रामक नीति लिएको देखिन्छ । 

दक्षिण चीन सागरको विवाद

चीन दक्षिण चीन सागरलाई चीनले आफ्नो महत्वपूर्ण भाग मान्दै आएको छ । उसका लागि यो महत्वपूर्ण व्यापारिक मार्ग पनि हो । त्यसका साथै दक्षिण चीन सागर नै उसको ‘वान बेल्ट वान रोड’ परियोजनाको हिस्सा पनि हो । चीनले दक्षिण चीन सागरलाई एक बन्दरगाह बनाएको थियो । त्यसपछि सो क्षेत्रमा विमानस्थल बनायो । यतिबेला उसले एक कृत्रिम द्विप नै तयार गरेर सैनिक अड्डा निर्माण गरेको छ । 

चीनको ‘ग्रेटर बे एसियार इकोनोमिक डेभलपमेन्ट प्लान’ का लागि दक्षिण चीन सागर महत्वपूर्ण छ । यसै योजना अनुसार चीनले हङकङलाई पनि सामेल गरेको छ । दक्षिण चीन सागरमा मानव वस्ती राख्ने उसको योजना सन् २०१२ मा सुरु भएको हो । त्यसको एक वर्षपछि सन् २०१३ मा फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको दाबीविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो । जुलाई, २०१६ मा अन्तर्राष्ट्रिय अदालतले चीनविरुद्ध फैसला गर्‍यो । तर त्यसलाइ चीनले अस्वीकार गरिदियो र अंग्रेजी ‘यू’ आकारको यो सागरमा आफ्नो उपस्थितिलाई बलियो बनाउनँदै लग्यो । चीनले उसकै भाषामा त्यो फैसलालाई ‘रड्डीको टोकरीमा हाल्न लायक’ भनेर टिप्पणी गरेको थियो । सन् २०१२ मा चीनले सुरु गरेको बस्ती बनाउने योजनामा उडी नामको द्विपस्थित सान्शा सहरलाई यस क्षेत्रमा चिनियाँ प्रशासन सञ्चालनको केन्द्र मानिएको थियो । यो क्षेत्रलाई काउन्टीभन्दा ठूलो संरचनामा राखिएको थियो । 

चिनियाँ सरकारले माछा मार्ने मानिसहरुको एक समुदायलाई आधुनिक आवासमा बसायो, एक स्कुल, बैंक र अस्पताल बनायो । यसका साथै मोबाइल सञ्चार स्थापित गर्‍यो र पर्यटक पनि यो टापुमा घुम्न जान थाले । यी टापुमा बस्ती बसाउने योजनाको दोस्रो चरण यसै वर्षको अप्रिलमा सुरु गरिएको थियो । चीनले दुई काउन्टी स्तरका प्रशासनिक जिल्लाको निर्माण गरेको थियो ।

६ वर्षमा जब चीनले दक्षिण चीन सागरका टापुमा बस्ती बसाउने योजना बनायो, उपग्रह र हवाई निगरानीपछि यो भन्न सकिन्छ कि चीनले यो क्षेत्रमा समुद्री इन्जिनियरिङ र सैन्य निर्माणको ‘संसारकै सबैभन्दा कठिन काम’ गरेर देखायो । द्विपमा सैनिक सुविधाका साथै ३ हजार मिटरको रनवे, नौसेनाको आवास, ह्याङ्गर, गोला बारुदको बंकर, मिसाइलको कोष्ठाघर, राडार साइट, व्यवस्थित आवासीय ब्लक, प्रशासनिक भवन (जो नीलो सिरामिक टायलबाट बनेको), अस्पताल र खेलकुदका संरचना समेत बनाएको छ ।  

केही क्षेत्रमा खेती भइरहेको छ भने केही भागमा चीनको मुख्य भूभागबाट ल्याइएका सुगुर पालन केन्द्र बनाइएको छ । केही क्षेत्रमा कुखुरा र माछा पालन समेत भइरहेको छ । ‘चाइना एकेडेमी अफ साइन्सेज’ ले जनवरी, २०१९ मा त्यहाँ समुद्री वैज्ञानिक अनुसन्धान केन्द्रको स्थापना गरेको छ । 

त्यहाँ बस्ने मानिसले मोबाइलमा ५ जी नेटवर्कको सुविधा उपभोग गरिरहेका छन् । उनीहरुका लागि ताजा फलफुल र सागसब्जी जहाजबाट पठाइन्छ । केही चट्टानी क्षेत्रमा माछा पालनका लागि विकसित गरिएको छ । यो क्षेत्रमा माछा पालन गर्ने परिवार निकट भविष्यमा स्थायी रुपमा बस्ने र उनीहरुका बालबच्चाहरु चिनियाँ कम्युनिस्ट पार्टी र सरकारी अधिकारीका बच्चाहरुसँगै त्यही पढ्न सक्ने सम्भावना छ । 

एक अपरिवर्तनीय चिनियाँ जलमार्ग

दक्षिण चीन सागरमा चीनको कति जोड रहेको छ भन्ने यसको सबैभन्दा प्रतिकात्मक प्रमाण चीनबाट ल्याएर लगाइएको पत्थर हो । अप्रिल, २०१८ मा स्पे्रटली टापु समूहका तीन सबैभन्दा ठूला टापुमा २/२ सय टनका विशालकाय स्मारक स्मृति चिन्ह स्थापित गरिएको छ । 

ताइशानको चट्टानबाट निकालिएको र ठूला जहाजबाट स्प्रेटली टापुमा पठाइयो । यी विशालकाय स्मारक स्मृति चिन्ह चीनका राष्ट्रपति सी जिनपिङको चिनियाँ सपनाको प्रतीकका रुपमा मानिएको छ । माउन्ट ताइशानलाई चीनमा सबैभन्दा पवित्र पहाडका रुपमा लिइन्छ । जो हजारौं वर्षदेखि अखण्ड चिनियाँ सभ्यताको प्रतीक हो । 

यसबाट चीन दक्षिण चीन सागरको यो रणनीतिक जलमार्गलाई एक अपरीवर्तनीय चिनियाँ क्षेत्र बनाउने योजनाको दोस्रो चरणमा पुगिसकेको छ । जसमा हालै अमेरिकाले सैनिक अभ्यास गरेर चीनलाई चिढ्याउने काम गरेको थियो । अमेरिकाले यस क्षेत्रमा चीनको प्रगति रोक्नका लागि शक्ति राष्ट्रको राजनीतिक गठबन्धन बनाउने कोशिस गरिरहेको छ । जसले यो क्षेत्रमा पुनः दुई शक्ति राष्ट्रबीच शक्ति प्रदर्शनको अवस्था देखा परेको छ ।