गल्याङ नगरपालिकाद्वारा पशुपालनका लागि एक करोड अनुदान

गल्याङ नगरपालिकाद्वारा पशुपालनका लागि एक करोड अनुदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ४, २०७७

स्याङ्जा । गल्याङ नगरपालिकाले पशुपालनका क्षेत्रमा एक करोड रुपैयाँ अनुदान वितरण गरेको छ । आर्थिक वर्ष २०७६/७७ को बजेटबाट नगरपालिकामा पशुपालन गर्दै आएका कृषकलाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगपालिकाका प्रमुख भूपराज अधिकारीले किसानलाई कामका आधारमा अनुदान दिएर कृषिलाई व्यावसायिक रुपमा अगाडि बढाउने योजनानुसार नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेका अनुसार प्रतिलिटर १५ रुपैयाँका दरले ४८ लाख र गाईभैँसीका लागि ७५ लाख रुपैयाँ अनुदानस्वरुप वितरण गरिएको छ । 

पशु शाखा प्रमुख सुशील अर्यालले चार सयभन्दा बढी घर परिवारले दूधमा प्रतिलिटर  १५ रुपैयाँ का दरले अनुदान पाएको जानकारी दिनुभयो । यसैगरी पशुधन बीमा कार्यक्रमअन्तर्गत दुई हजार तीन सय परिवार लाभान्वित भएको र १० लाख रुपैयाँ अनुदानस्वरुप वितरण गरिएको छ । बङ्गुरपालन, बाख्रापालन, घाँस खेती, दूध सङ्कलनका साथै क्षमता विस्तारका लागिसमेत अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।