जस्तापाताको छानासहित दुई सय घर बन्ने

जस्तापाताको छानासहित दुई सय घर बन्ने

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

मकवानपुर । नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत  मकवानपुर जिल्लामा विपन्न तथा गरिब परिवारका दुई सय घरको छाना जस्तापाताबाट बनाइने भएको छ ।  सङ्घीय सरकारको सघन शहरी तथा भवन निर्माण योजनाअन्तर्गत  सुरक्षित नागरिक आवास कार्यक्रममार्फत मकवानपुरमा निर्वाचन क्षेत्र नं २  मा खरले छाएको घरलाई पक्की जस्ताको घर बनाइने बताइएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरमा  बसेको  सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले मकवानपुरका चार पालिकामा जस्तापाताको छाना भएको घर बनाइने निर्णय गरेको हो ।

बैठकबाट प्राप्त भएको जानकारीअनुसार हेटौँडा उपमहानगरपालिका तथा मनहरि, कैलाश र  मकवानपुरगढी गाउँपालिकामा ५० का दरले खरको छानोका स्थानमा जस्तापाताका घर बनाइने भएको छ ।

नागरिक सुरक्षित आवास कार्यकमअन्तर्गत आव २०७५/७६ को स्वीकृत कार्यक्रमानुसार हेटौँडा–१९ मा ४०  घरको छानो फेरिएको छ । बाँकी १० घरका छानो तथा अन्य गाउँपालिकाको छनोट गरी बैठकबाट अनुमोदनसमेत भएको छ । बैठकबाट अनुमोदन भएका लाभग्राहीलाई सम्बन्धित पालिकासँग सम्झौता गरी निर्माण अगाडि बढाइने निर्णय भएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । 

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गरीबी निवारणका लागि सुरक्षित आवास आवश्यक रहेको बताउँदै यस कार्यमा सबैलो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।