कांग्रेसको विरोधपछि कार्यसूचीबाट हटाइयो विधेयक

कांग्रेसको विरोधपछि कार्यसूचीबाट हटाइयो विधेयक

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेपछि संसद्को कार्यसूचीबाट हटाइएको छ। विधेयकले सीधै प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिएको भन्दै कांग्रेसले विरोध गरेको छ।

सोमबारको संसद् बैठकमा सभामुख कृष्णबहादुर महराले सरकारको आदेशबमोजिम विधेयक प्रस्तुत गर्ने कार्यसूची तय गरेका थिए। कांग्रेसले त्यसलाई हटाउनुपर्ने अडान लिएपछि विधेयक कार्यसूचीबाट हटाइएको थियो। संसद् सचिवालय स्रोतले भन्यो, ‘कार्यसूचीमा राखेको भए पनि पछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अघि बढ्न नदिने बताएपछि कार्यसूचीबाट हटाइएको हो।’

सरकारले फागुन २९ गते संसद्मा ल्याएको यो विधेयक हतारहतारमा प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा राख्न खोजिएको थियो। सरकारी विधेयक दर्ता भएको पाँच दिनपछि संसद्मा प्रस्तुत गर्न सकिने भएकाले फागुन २९ मा दर्ता भएको यो विधेयकलाई तुरुन्तै प्रस्तुत गर्ने तयारी गरिएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।