पहिराेले सात परिवार जोखिममा

पहिराेले सात परिवार जोखिममा

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ४, २०७७

बाजुरा । बाजुरा जिल्लाका अधिकांश बस्ती पहिराको उच्च जोखिममा रहेका छन् । सदरमुकामलगायत अन्य बस्ती अविरल वर्षाका कारण  पहिराको जोखिममा रहेको पाइएको छ ।

बडीमालिका नगरपालिका–७ माउलेख गाउँ पहिराको उच्च जोखिममा रहेको छ । अविरल वर्षाका कारण पहिरो आउन थालेपछि जोखिममा रहेको स्थानीयवासी हरिचन्द्र पाध्यायले बताउनुभयो । सो गाउँमा बस्ने सात परिवारको पहिराले गर्दा विस्थापित हुनुपर्ने अवस्था रहेको जनाइएको  छ ।

अविरल वर्षाका कारण माउलेख बस्ती नजीकै तलबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो । पहिराको जोखिममा रहेका परिवार पानी परेको दिन एकै घरमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीय पत्रकार हेमराज उपाध्यायले जानकारी दिनुभयो ।

नगरपालिका–७  जिल्ली र रजातोलीका बस्ती नै पहिराको जोखिममा छन् । वडा नै जोखिममा भए पनि सो गाउँको तलपट्टिबाट पहिरो बग्न थालेपछि झनै जोखिम बढेको पत्रकार उपाध्यायको भनाइ छ । वर्षाले सोही वडाको जिल्लीमा रहेको लक्ष्मी माविमा समेत क्षति पुर्‍याएको विद्यालयले जनाएको छ ।

विद्यालय नजीकैबाट पहिरो आएर लाखाँैको क्षति भएको छ । पहिराका कारण विद्यालयसहित नजीकको टोल पनि उच्च जोखिममा रहेको वडा नं ७ का वडा सदस्य धनलाल पाध्यायले बताउनुभयो  ।  जिल्लीदेखि रजातोली जोड्ने बाटोसमेत बन्द भएको छ । जिल्ली–माउलेखमा गएको पहिराका कारण गाउँबाट आवतजावत रोकिएको छ ।

पहिराले बाटो पूर्ण रुपमा बन्द भएपछि आवतजावत नै ठप्प भएको हो । पहिराले बगाएको गोरेटो बाटो नबन्दा दुई गाउँको सम्बन्ध नै विच्छेद भएको पत्रकार उपाध्यायले बताउनुभयो ।