चिनी रोगको निदानमा ख्याल राख्नै पर्ने केही सवालहरु

चिनी रोगको निदानमा ख्याल राख्नै पर्ने केही सवालहरु

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण ४, २०७७

चिनी रोगको उपचार सुरु गर्नु भन्दा पहिले चिनी रोग भएको निश्चित गर्नु आवश्यक छ । चिनी रोग निदान गर्न रगतमा ग्लुकोज हुनुपर्ने भन्दा ज्यादा भएको हुनुपर्छ । जुनसुकै बेला रगतमा २०० मिलिग्राम र यो भन्दा ज्यादा ग्लुकोज हुनुको साथै चिनी रोगमा हुने लक्षणहरू पनि भएको पाइयो भने चिनी रोग भएको मान्नु पर्छ । ज्यादा पिसाब लाग्नु, तिर्खा लाग्नु, भोक लाग्नु र शरीर दुब्लाउँदै जानु चिनी रोगका लक्षणहरू हुन् ।

खाली पेटमा जाँचेको रगतको ग्लुकोज १२६ मिलिग्राम अथवा यो भन्दा ज्यादा भयो भने डायवेटिज भएको मान्नु पर्छ । १२६ मिलिग्राम अथवा यो भन्दा ज्यादा  रगतमा ग्लुकोज हुँदा डायवेटिज भएको मान्नु पर्ने कारण पनि थाहा पाइ राख्नु आवश्यक छ । १२६ मिलिग्राम अथवा यो भन्दा ज्यादा ग्लुकोज हुनेहरूमा आँखाको रेटिना प्रभावित हुने भएकोले चिनी रोगको निदानमा १२६ मिलिग्राम अथवा यो भन्दा ज्यादा ग्लुकोजलाई चिनी रोग भएको मानिएको हो । १०० मिलिग्राम देखि १२५ मिलिग्राम रगतमा ग्लुकोज पाइयो भने चिनी रोग हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ र यस्तो अवस्थालाई प्रिडायवेटिज भनिन्छ ।

रगतको ग्लुकोज १८० मिलिग्राम भन्दा ज्यादा हुँदा पिसाबमा चिनी देखिन थाल्छ । केही व्यक्तिहरूको रगतमा ग्लुकोज हुनुपर्ने जति मात्र भए पनि पिसाबमा चिनी देखा पर्छ । यस्तो अवस्थामा चिनी रोगमा प्रयोग गरिने औषधिहरूद्वारा उपचार गराउनु हुँदैन  । 

रगतको जाँचले चिनी रोग देखाएका व्यक्तिहरूले अर्को रगत जाँचेर रगतमा ग्लुकोज हुनुपर्ने भन्दा ज्यादा भएको निश्चित गर्नु बुद्धिमानी हुन्छ । 

डायवेटिज भए नभएको पत्ता लगाउन हिजो आज एचबी एआई सी (Hb Aic) नामक रक्त जाँच पनि गरिन्छ । यो जाँच जुनसुकै बेलाको रगतमा गर्न सकिन्छ । यो जाँच गर्न खाली पेटमा लिइएको रगतको आवश्यक पर्दैन । रातो रक्त कोष भित्र हेमोग्लोविन हुन्छ ।

क्रोमोटाग्राफीबाट एडल्ट (Adult)  हेमोग्लोविनलाई आई ए, आई बी र आई सी मा विभाजन गर्न सकिन्छ ।  हेमोग्लोविन आई सी मा ग्लुकोज मिसिएको हुन्छ र यसैलाई जाँचेर चिनी रोग पत्ता लगाउन सकिन्छ ।  रातो रक्त कोषको जीवन अवधि ३ महिना जति हुने भएकाले यो जाँचले रक्त ग्लुकोजको ३ महिना भित्रको साला–खाला ग्लुकोजलाई सङ्केत गर्छ । एचबी एआईसीको नतिजा प्रतिशतमा हुन्छ । बेलायत तिर यसको नतिजा mmol/mol मा दिने गरिन्छ ।

एचबी एआई सीले ३ महिना भित्रको ग्लुकोजको स्थिति र चिनी रोगको निदानमा मद्दत गर्दछ । चिनी रोगको निदानमा र नियन्त्रणमा ठुलो मद्दत गर्ने यो जाँचलाई इरानी वैज्ञानिक स्यामुल रहवार (Samuel Rahbar) ले सन् १९६८ मा पत्ता लगाएको इतिहास छ । स्यामुल रहवार इरानी भएता पनि पछि क्यालीफोर्निया गए । उन्को जन्म १९२९ मा भएको थियो र सन् २०१२ मा उनको मृत्यु भयो ।

एचबी एआई सी धेरै अगाडी पत्ता लागी सकेको भएता पनि सन् २०१० मा मात्र अमेरिकन डायवेटिज एसोसिएसनले यसको प्रयोग गर्न सकिने कुराको सिफारिस गरेको थियो । हिजोआज यो रगतको जाँच विश्व व्यापी भइसकेको छ ।

हेमोग्लाेविनको रोगमा यो जाँचको नतिजा कम बेसी हुने भएकाले यो जाँच उपयोगी हुँदैन । रगतमा आइरन कम हुँदा यो जाँचले एचबी आईसीको प्रतिशत ज्यादा देखाउँछ भने क्रमिक किड्नी रोगमा यो जाँचको प्रतिशत कम हुन्छ ।

एचबी एआई सी ६ प्रतिशत भन्दा कम हुनु पर्छ । चिनी रोगमा यो जाँच ६.५ प्रतिशत अथवा यो भन्दा ज्यादा हुन्छ । प्रिडायवेटिजमा एचबी एआई सी ६–६.४ प्रतिशत हुन्छ ।
पहिलो र दोस्रो प्रकारको डायवेटिज छुट्टाउन आइलेटसेल र ग्लुटामिक एसिड डिकार्वेक्सिलेज–६५ अटो एण्टीवडी भए नभएको पत्ता लगाउनु पर्छ 

रगतको ग्लुकोज १८० मिलिग्राम भन्दा ज्यादा हुँदा पिसाबमा चिनी देखिन थाल्छ । केही व्यक्तिहरूको रगतमा ग्लुकोज हुनुपर्ने जति मात्र भए पनि पिसाबमा चिनी देखा पर्छ । यस्तो अवस्थामा चिनी रोगमा प्रयोग गरिने औषधिहरूद्वारा उपचार गराउनु हुँदैन  । 

डायवेटिज रोग लागेका महिला तथा पुरुषहरूको रगतमा कोलेष्ट्रोल,  ट्राइग्लिसेरायड, एचडिएल कोलेष्ट्रोल जाँच्नु पर्छ । मिर्गौला र कलेजो प्रभावित भए नभएको कुरा थाहा पाउन आवश्यक जाँचहरू पनि गराउनु पर्छ । मिर्गौलामा चिनी रोगको प्रभाव परेर क्रियाटिनिन बढेका व्यक्तिहरूलाई मेटफर्मिन नामक औषधिद्वारा उपचार गर्नु हुँदैन । 

यो पनि 

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

चिनी रोग : जसका कारण देखिने अल्पकालीन बिमार, लक्षण र उपचार

चिनी रोग र दीर्घकालीन रोग : यसले मिर्गौला, आँखा, स्नायु र छालामा पुर्‍याउने गम्भीर खाले क्षति

चिनी रोगका औषधि : कुन अवस्थामा कुन प्रयोग गर्ने ?

गर्भावस्थाको चिनी रोगको निदान, लाग्नु कारण र उपचारका विधि

इन्सुलिनको सुई र मात्रा : कस्ता कस्ता चिनी रोगीले लगाउने, ध्यान दिनै पर्ने कुरा