एकै व्यक्तिलाई दुई नागरिकता : एकातिर छानबिन, अर्कोतिर चलखेल

एकै व्यक्तिलाई दुई नागरिकता : एकातिर छानबिन, अर्कोतिर चलखेल

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौँ । दुई फरक नागरिकता भएको व्यक्ति एउटै हो भनी उच्च अदालत तुलसीपुरको बुटबल इजलासबाट भएको आदेश छानबिनमा परेको छ । न्यायपरिषदका अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल समिति गठन गरी छानबिनका लागि निर्देशन दिएका छन् । परिषद्मा परेको उजुरी छानबिनका क्रममा केसी सोमबार दिनभर बुटबल थिए ।

आदेशमाथि छानबिन सुरु भएलगत्तै 'विवादास्पद' आदेश गर्ने न्यायाधीशहरू कुमारप्रसाद पोखरेल र गोकर्ण डाँगीले त्यसलाई प्रभावित पार्न सक्रियता देखाएको उच्च अदालतस्रोतले बतायो । उनीहरूले नेपाली कांग्रेस निकटका व्यक्तिलगायत बारका पदाधिकारीलाई प्रभावमा पार्न खोजेका छन् ।

'छानबिनका लागि सर्वोच्चबाट केसी यहाँ (उच्च अदालत बुटबल) आउनुभएको छ । शंकाको घेरामा परेका दुई न्यायाधीशले अनेक तहबाट सक्दो चलखेल गरिरहेका छन्,' स्रोतले भन्यो । जिल्ला अदालत रूपन्देहीको आदेशलाई न्यायाधीशहरू पोखरेल र डाँगीको इजलासले उल्ट्याइदिएको थियो । उच्च अदालत बुटबलको उक्त आदेश पनि सर्वोच्चको अन्तरिम आदेशबाट निष्कृय भइसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।