नागेश्वरमा भक्तजनको भीड

नागेश्वरमा भक्तजनको भीड

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ५, २०७७

काठमाडौं । कामपा–३२, पेप्सीकोला टाउन प्लानिङस्थित नागेश्वर महादेव मन्दिरमा दर्शनार्थीको बिहानदेखि नै घुइँचो लागेको छ ।  सामाजिक दूरी कायम गरेर मन्दिरमा दर्शनार्थ आएका श्रद्धालु भक्तजनको लाम चारै ढोकामा लगाई छिटोछिटो दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिरमा आइसकेका भक्तलाई असुविधा नहुने गरी विशेष व्यवस्था मिलाइएको छ । नागेश्वरको दर्शन गर्नाले मानिसको साह्रै कष्ट पनि नाश हुन्छ भन्ने मान्यता रहिआएको नागेश्वर महादेव व्यवस्थापन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो  । विसं १८८१ मा  स्थापित नागेश्वर शिवालय सरदार बाक्सिङ रायले स्थापना गरेका हुन् । 

चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सो मन्दिर परिसरमा धर्मशाला, ढुङ्गेधारा, गौचरण, बगैंचा आदि छन् । त्रिभुवन विमानस्थल विस्तारका क्रममा अधिग्रहणमा परेपछि त्यहाँको शिवलिङ्ग स्थानान्तरण गरिएको हो ।  मन्दिरमा बिहान–बेलुका सधैँ वैदिक विधिपूर्वक पूजा, रुद्री, आरती आदि हुन्छ । विश्वशान्ति र मानवकल्याण र समस्त जीवात्माको रक्षा होस् भनेर विशेष पूजार्चना गरिने रायमाझीले बताउनुभयो ।