बाढीमा परेर मृत्यु तथा धनमाल नष्ट

बाढीमा परेर मृत्यु तथा धनमाल नष्ट

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ५, २०७७

काठमाडौं । दार्चुला, नौगाड गाउँपालिका-६ परीगाँउमा अविरल वर्षाका कारण परिगाँउ खोलाको पानीको बहाव बढ्न गई सोही ठाउँ बस्ने हरजित सिंह ठगुन्ना लगायत ३ जनाको घर बगाउँदा उनकी श्रीमती ४२ वर्षीया मानमती ठगुन्नाको घरमा च्यापिएर आइतबार राति मृत्यु भएको छ । बाढीले बगाउँदा सोही ठाउँ बस्ने मानसिंह ठगुन्नाकी छोरी ६ वर्षीया आरती ठगुन्ना बेपत्ता भएकी छन् । साथै सोही ठाउँस्थित समैजी आधारभूत विद्यालयको नयाँ भवनको ५ कोठा र पुरानो भवनको ७ कोठा बगाएको छ । ईलाका प्रहरी कार्यालय गोकुलेश्वर र प्रहरी चौकी होपरीगार्डबाट खटिएको प्रहरीले आरतीको बेपत्ताको खोजी गर्नुका साथै आवश्यक उद्धार कार्य गरिरहेको छ । 

बारा, पचरौता नगरपालिका-६ पकडिया बस्ने जुबैर अन्सारी लगायत ३ जना दाजुभाई बस्दै आएको सगोलको घर अविरल वर्षाको कारण आइतबार दिउँसो भत्किँदा घरभित्र रहेको फर्निचर, अन्नपात, लत्ताकपडा गरी करिब २ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

भक्तपुर, चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ४० वर्षीय राम बहादुर तामाङको पुल हाउसको पर्खाल आइतबार दिउँसो वर्षाको कारण भत्किँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

महोत्तरी, गौशाला नगरपालिका-१२ कान्तिबजार बस्ने ६० वर्षीया सुकमाया योन्जनको फुसको घर अविरल वर्षाको कारण आइतबार साँझ भत्किँदा भाँडावर्तन, अन्नपात, लत्ताकपडासमेत गरी करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

बाजुरा, बुढीगंगा नगरपालिका-२ ताप्रीसेरास्थित साँफे-मार्तडी सडकखण्डको घट्टेखोलामा रहेको १६ मिटर लम्बाई रहेको पक्की पुल बाढीले बगाई आइतबार साँझदेखि सडक अवरोध भएको छ । साथै खोलाको किनारामा रहेको पदम थापा लगायत १२र१३ जनाको करिब १ सय रोपनी धान रोपेको खेत  र ७र८ वटा घट्ट बगाउनुको साथै सोही ठाउँस्थित ताप्रीसेरा बजारमा रहेका १०र१२ वटा पसलहरुमा बाढीले खाद्यान्न लगायतका सामानहरुमा समेत क्षति पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।