काहुँडाँडामा ढकमक्क लालीगुराँस, तस्बिर खिच्नेको भीड

काहुँडाँडामा ढकमक्क लालीगुराँस, तस्बिर खिच्नेको भीड

लोकसंवाद संवाददाता  |  पर्यटन  |  चैत्र ५, २०७५

चिप्लेढुंगा । ‘म त लालीगुराँस भएँछु, वनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु ।’ 

गीतका हरफजस्तै पोखरा महानगरपालिका–११ स्थित काहुँडाँडामा गुराँसले ढपक्क ढाकेको छ । लालीगुराँस फुलेसँगै यहाँ तस्बिर खिच्ने आउनेको भीड देख्न सकिन्छ । पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत काहुँडाँडा पछिल्लो समय आन्तरिक पर्यटकका लागि दृश्यावलोकन र वनभोजस्थलका रूपमा आर्कषक गन्तव्य बन्दै गएको छ । सहरबाट नजिक लालीगुराँस फुल्ने यस डाँडामा लालीगुराँस फूल टिप्न निषेध गरिएको छ । जोगाइएका लालीगुराँसमा पर्यटकले फोटो खिचेर रमाउने गरेका छन् । 

समुद्री सतहदेखि एक हजार ४४४ मिटरको उचाइमा रहेको काहुँडाँडामा तत्कालीन अञ्चलाधीश नन्दबहादुर मल्ल र यस क्षेत्रका सामाजिक अभियानकर्मीका रूपमा परिचित स्व मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण भएको काहुँ धरहराले पनि आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । धरहराबाट पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडासहित माछापुच्छे« र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । 

पोखराको महेन्द्रपुलबाट साढे सात किलोमिटरको दूरीमा रहेको उक्त स्थल पुग्न साढे पाँच मिटरको पक्की बाटोले पनि पर्यटकलाई सहज भएको स्थानीय नवराज क्षेत्रीले बताउनुहुन्छ । काहुँडाँडामा प्राचीन समयमा काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काहुँडाँडा रहन गएको क्षेत्रीको भनाइ छ । 

ऐतिहासिक काहुँडाँडा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्र गुरुङले काहुँडाँडाको विशेषता नै सहरको नजिकबाट लालीगुराँससँगै माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला सुन्दर दृश्य देखिनु रहेको बताउनुभयो । प्राकृतिक सुन्दरतामा रमाउन चाहने जोकोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य भएको उहाँको भनाइ छ । 

मौसम सफा भएको बेला माछापुच्छे«, अन्नपूर्णलगायत हिमशृंखलाको अवलोकन गर्न सकिने यस क्षेत्रको विकासका लागि पर्यटन मन्त्रालयले ५० लाख रूपैयाँ विनियोजन गरेको गुरुङले बताउनुभयो । ऐतिहासिक धरहरालाई संरक्षण गर्दै आधुनिक धरहरा बनाइने उहाँको भनाइ छ । गुरुङका अनुसार दैनिक १५० देखि २०० मानिस अवलोकनका लागि यहाँ आउने गर्छन् भने शनिबार र सार्वजनिक विदाको दिन ५०० माथि पर्यटक आउने गरेका छन् । 

धरहरा चढ्न चाहने पर्यटकले २० रूपैयाँको टिकट काट्नु पर्छ । वनभोजका लागि भने ‘क्याटरिङ’सहित जानेले तीन हजार र क्याटरिङ नलिई जानेले १५ सय रूपैयाँ समितिलाई बुझाउनुपर्छ । विशेषगरी मङ्सिर, पुुस, माघ र फागुनमा काहुँडाँडा घुम्न र वनभोज खाने आउनेको भीड हुने गर्दछ । 

डाँडाको हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले आफूलाई मोहित गराएको पोखरा बगरबाट घुम्न आउनुभएका वेद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोखरा नजिक यति सुन्दर ठाउँ रहेछ, घुम्ने अवसर बल्ल मिल्यो, पारिवारिक वनभोज खान सपरिवार आएका छौँ ।’

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक उत्कृष्ट दृश्यावलोकन गन्तव्य निर्माण विकास गर्ने प्रयास भइरहेको स्थानीयवासी एवं पत्रकार दामु आचार्यले बताउनुभयो । उहाँका अनुसार १६१ रोपनी सामुदायिक वन र आठ रोपनी व्यक्तिको गरी १६९ रोपनीमा धर्मकाया बुद्धमण्डला निर्माण हुँदैछ, जहाँ विशाल बुद्धको मूर्ति र वरिपरि यशोधरा उद्यानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै गरेको आर्चायले जानकारी दिनुभयो । 

वडा अध्यक्ष मोहनप्रसाद बाँस्तोलाले यो क्षेत्रको विकासले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि भूमिका खेल्ने बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, ‘प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विकाससँगै बृहत् प्रचारप्रसारको खाँचो छ ।’ यो खबर राससमा जमुना वर्षा शर्माले लेख्नुभएको छ ।