मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो: नेता भण्डारी

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो: नेता भण्डारी

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७७

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताउनुभएको छ । अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताउनुभयो ।

नेता भण्डारीले भन्नुभयो, 'बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।' बिपीले सधैँ आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पु¥याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर काँग्रेस बलियो नहुने तर्क गर्नुभयो । 'आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ', नेता भण्डारीले भन्नुभयो । 

काँग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पुर्‍याएको योगदान सधैँ अविष्मरणीय रहने बताउनुभयो । 'बिपीको लोकतन्त्रप्रतिको निष्ठा सधैँ अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन काँग्रेसका कार्यकर्ता लाग्नुपर्छ', उहाँले भन्नुभयो । बिपी स्मृतिको दिवसमा नेपाली काँग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । सो क्रममा आँप, बेल, अशोक, कपुरलगायतका २२५ बिरुवा रोपिएको थियो ।