पहिरो विस्थापितलाई शिविरमा राखिने

पहिरो विस्थापितलाई शिविरमा राखिने

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ६, २०७७

जाजरकोट । गत असार २५ गते आएको पहिरोमा परी विस्थापित भएका एक हजार १५५ घरधुरीलाई व्यवस्थापनका लागि बारेकोट गाउँपालिकाले शिविरमा राख्ने निर्णय गरेको छ । 

गाउँपालिकाले तीन वटा मापदण्डका आधारमा विस्थापितलाई व्यवस्थापन गर्न लागेको छ । घर पूर्णरूपमा क्षति भएर विस्थापित भएको रातो ९क०, घर भत्किएर आंशिक क्षति भई विस्थापित भएकालाई पहेँलो ९ख० र घर भत्किएर आंशिक क्षति भई जोखिममा नरहेकालाई हरियो ९ग० मा विभाजन गरी राहतको प्याकेज घोषणा गरिएको छ । सोही आधारमा उत्पादनशील जमीनमा भएको क्षतिको विषयमा राहतको घोषणा गरिएको छ । 

मृतकका परिवार र पूर्ण वा आंशिक घर क्षति भई विस्थापित भएका घर परिवारलाई गाउँपालिकाको तर्फबाट खानेपानी, धारा, शौचालय, ट्याङ्की, काठेपुल तथा घट्ट  निर्माणका लागि गाउँपालिकाले तत्काल काम अगाडि बढाउने भएको छ ।

गाउँपालिकाले विस्थापितलाई पर्ने स्वास्थ्य समस्याका विषयमा शिविर सञ्चालन गर्ने जनाएको छ । वडा नं १ देखि ७ सम्मका विस्थापितलाई सम्बन्धित वडा कार्यालयले सुरक्षित ठाउँ छनोट गरी आधारभूत आवश्यकता परिपूर्ति गर्ने निर्णय गरेको छ ।  त्यस्तै प्रति मृतकका परिवारलाई रु २५ हजार दिने निर्णय गरिएको छ । पूर्णरूपमा क्षति भई बस्नै नमिल्ने घरलाई रु ५० हजार, आंशिकरूपमा क्षति भएका घरलाइ मर्मत गर्न रु १३ हजार दिने निर्णय भएको छ । 

गाउँपालिकालाई जोखिम रहेको स्थानीय तह घोषणा गर्न प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गरिएको छ । गाउँपालिकामा भूगर्भविदको प्रतिवेदनका आधारमा बस्ती बसाल्न र दीर्घकालीन योजना बनाउन प्रदेश र सङ्घीय सरकारसँग माग गर्ने निर्णयसमेत गरिएको छ । गाउँपालिकामा खाद्य सङ्कट भएकाले १० हजार क्विन्टल चामल उपलब्ध गराउनसमेत माग गरिएको छ ।