पहिराेकाे कारण गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्व

पहिराेकाे कारण गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्व

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ६, २०७७

गोरखा । अविरल वर्षाका कारण आएको पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड  अवरुद्ध भएको छ । उक्त सडकखण्डको आठकिलो भन्ने स्थानमा दुई ठाउँमा खसेको पहिरोका कारण सडक आजविहानदेखि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार सो सडकखण्डको बाह्रकिलो क्षेत्रमा पनि पहिरो खसेको छ ।  पहिरोबाट पिच सडक नै भाँसिएको छ । सडकमा पहिरो खसेपछि गोरखा प्रवेश गर्ने मुख्य नाका नै बन्द भएको छ । सडक अवरुद्ध भएपछि आँबुखैरेनीबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन उतैतर्फ रोकिएको उहाँले बताउनुभयो । 
  
निरन्तर पानी परिरहेकाले पहिरो हटाउनसमेत समस्या भएको जनाइएको छ । पानी रोकिने बित्तिकै पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मित्रलाल ढकालले बताउनुभयो । आइतबार पनि ठूलो पहिरो खसेर उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।