ऋचा श्रेष्ठ तिवारी | दृष्टिकोण | श्रावण ६, २०७७
वैदेशिक रोजगारी कसैलाई फेसन भएको छ भने कसैलाई वाध्यता । पश्चिमा मुलुकमा जानु र खाडी मुलुकमा वैदेशिक रोजगारीमा जानुले मानिसहरुमा एउटा फरक रेखा कोरिने गरको छ । हेर्ने दृष्टिकोण र सोचाइमा फरक ल्याइदिएको छ । नेपालमा रेमिटयान्स भित्रने विशेष गरि खाडी मुलुकको वैदेशिक रोजगारीबाट नै हो । मुलुकको अर्थतन्त्र धानेको एउटा ठुलो समुदाय अहिले कोरोना भाइरसका कारण खाडी मुलुकमा अलपत्र अवस्थामा परेको कुरालाई नर्कान सकिन्न ।
नेपालमा भने जस्तो काम नपाउने र काम पाए पनि समयमै तलब नपाउने आम प्रचलन जस्तै छ । कतिपय अवस्थामा त तलव नै पाइँदैन । यस्ता विविध कारण छन जो पारिवारिक कारणले समस्या भई श्रीमान् सँग अलग भएर माइतीमा, होस्टेलमा आफ्ना छोराछोरी छोडेर भविष्यका लागि बाध्यात्मक परिस्थितिमा विदेशिएका छन् । त्यस्ता महिलाहरुको संख्या उल्लेख्य रुपमा रहेको छ । ती मध्येकी प्रतिनिधि पात्र हुन् राममाया ।
पारिवारिक मनमुटावका कारण श्रीमानसँग अलग रहेर काठमाडौंको सामाखुशीमा बस्दै आइरहेकी थिइन् राममाया तामाङ । उनले आफ्नो घर धादिङ भएको बताइन् । आफूले यहाँ केही कमाइ गर्न नसकेपछि उनले सानो छोरी समेत लिएर भारतको महाराष्ट्रमा गएर घरेलु कामदारको रुपमा काम गर्न थालिन । वि.स २०६५ सालबाट । यो उनको वैदेशिक रोजगारीको शुरुवात हो । जसका लागि उनले गाउँकै एक जना दाई पर्नेलाई केही रकम दिइन् । गाउँकै केही साथीहरुको सगंतमा उनी गोरखपुर पुगिन र त्यहाँबाट रेल चढेर भारतको महाराष्ट पुगीन् ।
घरहरुमा साफसफाई गर्ने, घरका सदस्यहरुको लुगाहरु धोबी कहाँ पुर्याउने आदि काम गरेर घरेलु कामदारको रुपमा उनले दैनिक गुजारा चलाइरहेकी थिइन् । पहिला पहिला हिन्दी भाषा त्यति नआउने भएपनि विस्तारै सिक्दै गइन् । दैनिक १२ घण्टा काम गरे वापत उनको कमाइ मासिक ८,९ हजार भारु हुन्थ्यो । कोठाको भाडा १५०० जति तिर्ने गर्थिन । त्यहि पैसाबाट उनले आफू खाने र बच्चा हेर्ने आइमाइलाई केहि रकम दिएर आफनो गुजारा चलाउँदै आएकी थिइन् ।
काम खासै गाह्रो थिएन । सबै सहज नै थियो । तलब पनि समयमै पाउँथिन उनी । उनले करबि साँढे चार वर्ष काम गरिन महाराष्ट्रमा । कमाएको सबै पैसा लाइखाइमै सकियो । २०६८ सालमा उनी नेपाल फर्किन् । नेपाल फर्कँदा उनी लगभग रित्तो हात नै फर्किन् ।
तर उनी यति मा नै सन्तुष्ट थिइनन् । उनले फेरी आफनो छोरीलाई हुर्काउन पढाउनका लागि भएता पनि फेरी वैदेशिक रोजगारीमा जाने निर्णय गरिन् । करिब एक वर्ष नेपाल बसेर २०७० सालमा उनी मलेशिया जानु अघि छोरीलाई भाइ बुहारीको जिम्मा लगाएर गएकी थिइन् । मलेशियामा काम गर्दा उनको तलब त्यति बेला ९०० मलेशियन रिंगेट थियो । आफ्नो भाइको साथीको म्यानपावरलाई ९० हजार बुझाएर विना कुनै सीप ,नागरिकतामा उमेर बढाएर उनी मलेशिया गएकी थिइन् ।
आफूले आमाबाबु दुबैको जिम्मेवारी वहन गरी छोराछोरीको भविष्यका लागि सँधै समर्पित राममाया जस्ता वैदेशिक रोजगारीमा असफल महिलाहरु भने समाजमा आफनो दायीत्व पुरा गरेर सफल भएका पनि छन् । समाजले यस्ता महिलालाई विभिन्न कार्यक्रम ल्याएर स्थापित गरिरहेको पनि छ । एकल महिलाका पैत्रिक सम्पत्ति नहुने र आर्थिक हैसियत कमजोर हुनेहुँदा महिलाहरू शिक्षा, स्वास्थ र सञ्चारजस्ता आधारभूत कुराबाट बञ्चित रहन्छन् । फलस्वरूप अवैधानिक बाटो प्रयोग गरी खाडी मुलुकमा जोखिमपूर्ण काम गर्न पुग्छन् ।
यहाँबाट जाँदा उनको अन्तरवार्ता म्यानपावर कम्पनीले नै लिएको थियो । म्यानपावरले भन्न त १ लाख ३० हजार भनेको थियो । तर, उनले ९० भने हजार तिरेकी हुन् । उनको समूहमा ९ जना थिए । माइतीको आमासँग ६० हजार सापटी लिएँ र बाँकी आफैं ३० हजार जम्मा गरेर ९० हजार पुर्याएर म्यानपावरलाई दिएँ, उनी भन्छिन् । पासपोर्ट बनाउँदा र मेडिकल गर्दा अर्को १२ हजार ५ सय लाग्यो, उनी भन्छिन् ।
उनलाई एउटा इलेक्ट्रीक कम्पनीमा काम गर्न लगिएको थियो । पहिले काम नगरेको र विना कुनैसीप गएको हुनाले उनको काम सानो सानो बिर्को काट्ने थियो । प्याकिंग गर्ने काम पनि गर्नुपर्दथ्यो । दाजुभाइको कम्पनी भएकोले ६ महिना दाजुको कम्पनी र ६ महिना भाइको कम्पनीमा काम गर्नु पर्दथ्यो भने काम पनि फरक प्रकृतिको हुन्थ्यो ।
मलेशियामा हिन्दी तथा बंगालीभाषा पनि बोलिन्थ्यो । भारतमा काम गरिसकेको हुनाले उनलाई हिन्दी भाषा बोल्न कुनै समस्या थिएन । उनले बिस्तारै काम सिकिन् । मलाई काम गर्दा कसैले नराम्रो व्यवहार भने गरेनन् । हामी महिलाहरुलाई एउटा कोठा दिइएको थियो कम्पनीबाट, उनी भन्छिन् । । दिनमा १२ घण्टा काम गर्नुपर्दथ्याे । आखिर यहाँ भने जस्तो काम नपाउने र तलब पनि राम्रो नहुने भएकोले विदेश जानुपरेको त हो, उनी गुनासो गर्छिन् ।
वि. सं २०७३र७४ सालतिर उनी फेरी मलेशियाबाट नेपाल फर्किन् । फर्केपछि फेरी उही संर्घषका दिन शुरु भए । दिनमा ८,९ घण्टा घरेलु कामदारको रुपमा विभिन्न घरहरुमा काम गर्न थालिन् । कोठा बहाल ४ हजार तिर्नुपर्थ्यो । खान लाउन आमा छोरीको लागि अलग खर्च हुन्थयो । छोरीको पढाई खर्च आफूले काम गरेको घरबाट नै हेरिदिएका कारण स्कूलमा शुल्क तिर्न नर्पने भएकोले पनि आफुले महिनामा १० ,१५ हजार कमाइ गरेर जीवन यापन गरिरहेकी थिइन रामामाया ।
समय बित्दै थियो यसरी । फेरि यहाँ काम गर्दै गर्दा उनलाई धादिङ तिरको दलालले विदेश गए राम्रो कमाइ हुने आश्वासन दिएछ । तर यस पटकको वैदेशिक रोजगारी उनले सोचे जस्तो सहज रहेन् । समय सधै एकैनाशको नहुने रहेछ । कहिले दुःख कहिले सुख । उनको जीवनमा पनि त्यस्तै भयो यस पटक ।
विसं २०७५ साल असार महिनामा उनी किर्गीस्तान मा घरेलु कामदारका लागी जान तयार भईन् । दलाललाई करिब ८० हजार बुझाएर उनी दलालको साथ केहि कतै काम को प्रकृति नबुझीकन नै घरेलु कामदारको रुपमा काम गर्नका लागी अरु ४ महिला सहित भारततर्फ लागिन् ।
उनी भन्छिन् यहाँबाट हामीलाई गोरखपुर हुँदै भारतको पहाडगञ्जमा लगेर एउटा होटलमा राख्यो दलालले । त्यहाँ भिसा आएपछि दिल्ली हुँदै किर्गीस्तान उडाउने भनिएको थियो । उनीहरु भविष्यका मिठा मिठा सपना देख्दै त्यहाँ भिसा को पर्खाइमा महिनौं बसिरहे । खाना खर्च बापत उनीहरुलाई आफूले बुझाएको रकम बाट १० हजार ने रु काटेर दिइएको थियो ।
उनीहरु दिल्ली पुग्दा त्यहाँ बाट नेपाली महिलालाई घरेलु कामदारको रुपमा उडान गर्न नमिल्ने भएको रहेछ । भारत सरकारले त्यहाँको विमानस्थल प्रयोग गरी घरेलु कामदारहरु विदेश जान नपाउने व्यवस्था गरिसकेको रहेछ । कामदार विदेश लैजाने दलाललाई भारतको प्रहरीले दिल्लीका केहि होटेलहरुमा छापा मारेपछि भने उनीहरु बिच्चलीमा परे । तर पनि उनीहरुलाई एजेन्टले त्यहाँ होटेलमा राखेर केहि समय केहि उपाय निकालेर भए पनि लान सकिन्छ कि भनेर कोशिश गरे । तर उनीहरु सफल भएनन् ।उनीहरु त्यहाँबाट भाग्नै पर्ने अवस्था आयो । अन्तत उनीहरुलाई टिकट काटेर दलालले २०७५ साल भदौमा फेरि नेपाल फर्कायो ।
अब गर्ने के ? यहाँ अर्को समस्या शुरु भयो । आफनो कमाइको ८० हजार पनि डुब्यो । त्यसपछि उनले नेपाल आएर रोजगारीका लागि विदेश पठाउने दलालसँग सम्पर्क गरिन् पैसा फिर्ता माग्नका लागि । दलालले दिन्छु पनि भन्यो । फोन गर्यो आज दिन्छु भन्छ , भोलि दिन्छु भन्छ । दिन्छु मात्रै भन्छ । तर, पैसा र्फिता दिने छाँटकाँट देखाएन राममायाको ।
पछिल्लो पटक फोन गर्दा भने त्यो दलालको फोन स्वीच अफ गरिएको छ मात्र भन्न थाल्यो । उनले कैयौं पटक सम्पर्क गर्ने कोशिश गरिन तर सम्पर्क भएन । अब त्यो पैसा उठ्ने कुरामा उनको आश मरिसकेको छ । पैसा उठ्छ भन्ने कुरामा उनी विश्वास गर्दिनन् उनी । उनी भन्छिन, ज्यान त जसोतसो जोगियो तर पनि पैसा भने माया मार्न नसकिने रहेछ । उनका सपनाहरुमा तुषरापात् भए । उनले अब त्यो पैसा र्फिता आउँछ भन्ने सपना नै देख्न छोडिन् ।
फेरि यहाँ उही संर्घषका दिनहरु शुरु भए । दैनिक ८,९ घण्टा घरेलु कामदारको रुपमा । विभिन्न घर चहार्यो । दैनिक घरेलु काम गर्यो । १५ ,१६ हजार कमाइमा जसोतसो गुजारा चलायो । कोरोनाले उनको पुरानो काम र दैनिकी फेरिएको छ । कोरोना अघि उनी ५,६ घरमा काम गर्थिन् । महिनामा १५,१६ हजार सम्म कमाउँथिन । अहिले भने रामामाया हप्ताको हिसाबले ३ वटा घरमा मात्र काम गर्छिन । कोरोनाले उनको कमाइ पनि खुम्चिएको छ । मासिक ५, ६ हजार मात्र । यसले कसरी घर चलाउने । उनी केही सोच्न सकिरहेकी छैनन् । केही समय आफूले काम गर्ने घरहरुमा कोरोनाको कारण काम नदिए पनि बिस्तारै परिस्थिति सहज भएपछि काम बढ्ने उनको आश छ । काम बढेपछि दाम त अवश्य बढ्ने नै भयो ।
गरिबीका कारण केही कमाएर आफ्नो घर व्यवहार र सन्तानको भविष्य उज्ज्वल बनाउँ भन्ने एकल महिलाहरुको कथा हो यो । उनीहरु सुखद भविष्यको आशामा आफनो बालबच्चा माईतीको जिम्मा लगाएर विदेश जाने गरेका छन् । तिनै मध्येकी एक प्रतिनिधि पात्र हुन राममाया । विदेश जाँदा कसैले आफूले भने जस्तो काम र दाम पाएर सहज र सुख भोगका छन् भने धेरैले दुखनै पाएको उदाहरण छ । तर, पनि वाध्यता छ वैदेशिक रोजगारीमा जानुको विकल्प छैन । राममाया जस्ता हजारौं एकल महिलाहरु छन् जो आफनो सन्तानको भविष्यका लागि विदेशी भूमिमा आफनो रगत पसिना चुहाइरहेका छन् ।
राममाया त एउटी मात्र पात्र हुन यस्ता महिलाहरु यो समाजमा कति छन् लेखाजोखा छैन । त्यसकारण पनि उनीहरुका कामको सम्मान हुनुपर्दछ, समयमा तलब दिने , बिदा दिने,उनीहरुको पनि स्वास्थ्यको, समयको ख्याल राख्ने गरेको खण्डमा उनीहरुको काम प्रति सच्चा सम्मान हुनेछ ।
आफूले आमाबाबु दुबैको जिम्मेवारी वहन गरी छोराछोरीको भविष्यका लागि सँधै समर्पित राममाया जस्ता वैदेशिक रोजगारीमा असफल महिलाहरु भने समाजमा आफनो दायीत्व पुरा गरेर सफल भएका पनि छन् । समाजले यस्ता महिलालाई विभिन्न कार्यक्रम ल्याएर स्थापित गरिरहेको पनि छ । एकल महिलाका पैत्रिक सम्पत्ति नहुने र आर्थिक हैसियत कमजोर हुनेहुँदा महिलाहरू शिक्षा, स्वास्थ र सञ्चारजस्ता आधारभूत कुराबाट बञ्चित रहन्छन् । फलस्वरूप अवैधानिक बाटो प्रयोग गरी खाडी मुलुकमा जोखिमपूर्ण काम गर्न पुग्छन् ।
महिलाहरूलाई त्यस्ता मुलुकमा पुग्नासाथ राहदानी जफत गरी बलजफ्ती काममा लगाउने गरिन्छ । उनीहरूलाई विदेशमा घरेलु कामदारका रूपमा रहनुपर्ने बाध्यता हुन्छ । अधिकांश नेपाली महिला स्थानीय दलालहरूको प्रलोभनमा परी दोस्रो मुलुकको हवाईमार्ग प्रयोग गरेर विदेशिएको पाइन्छ । उनीहरू श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जाने गर्छन् । भविष्यका सपना बोक्दै विदेशिएका नेपाली महिला विदेश पुगेपछि मात्र आफू बेचिएको थाहा पाउँछन् । थाहा पाउने समयसम्म एउटी एकल महिलाको सपना वर्वाद भैसकेको हुन्छ भने जीवन नै जोखिममा परिसकेको हुन्छ । आफ्नो सन्तान अरुको जिम्मामा छोडेर ,ऋण काढेर विदेश गई जीवन यापन गर्न पक्कै सहज छैन । तर पनि सन्तानको उज्ज्वल भविष्यका लागि राममायाहरुको संर्घष जारी नै छ ।