आ-आफ नै दुःख : लकडाउनमा  अभिभावकत्व गुमाउनु पर्ने सर्वसाधारणको नियति !

आ-आफ नै  दुःख : लकडाउनमा  अभिभावकत्व गुमाउनु पर्ने सर्वसाधारणको नियति !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  श्रावण ६, २०७७

कोरोनाका कारण करिब ४ महिना जति भएको लकडाउनले गर्दा त्यस अवधिमा कुनै आम्दानी नहुँदा धेरै मानिसलाई जीवन चलाउन निकै गाह्रो हुँदै गइरहेको छ । ४ महिनासम्म काम नगरी थपक्क बस्नु परेकोले धेरैका आम्दानीको स्रोत प्राय सकेको अवस्थामा पुगेको छ । यसले गर्दा निम्न आय स्तर भएकालाई जीवन धान्न नै धौधौ बनिरहेको छ ।   मध्यम वर्गीय परिवारलाई पनि निकै नै अप्ठ्यारो पारिरहेको छ । निम्न आय स्तर भएकाहरू गोजीमा रुपैंया रित्तिएपछि लकडाउन खुल्दा नखुल्दै काममा निस्की हाल्नु बाध्यता थियो भने मध्यम वर्गीय परिवारका सबै व्यक्ति काममा निस्किन सकिरहेका छैनन् । पहिले बचत गरेको रुपैंयाले जीवन गुर्जान पर्दा निकै नै कठिनाइ उत्पन्न  हुनु स्वाभाविक हो ।

मुलुकमा कोरोना नियन्त्रण भइसकेको अवस्था होइन । कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहेको अवस्था छ । छिमेकी मुलुक भारतमा दिनहुँ कोरोना सङ्क्रमित थपिँदै छन् । नेपालमा भने कोरोना सङ्क्रमितको सङ्ख्या पहिलेको तुलनामा त्यति धेरै बढेको नदेखाए पनि जोखिम भने कायमै छ । उच्च घरानियाँ जसलाई यो समयमा काम नगर्दा पनि केही पनि फरक नपर्ला पर्दैन त्यस्ता मानिसहरू कोरोनासँग अझै उत्तिकै सशङ्कित छन् । उनीहरू मानिससँग सामाजिक दुरी कायम राखेरै बसेका छन् । मध्यम वर्गका मानिसहरू कोही डराई डराई घरबाट निस्किन सुरु गरिसके भने कोही अझै बाहिर निस्कन सकिरहेका छैनन् । 

फेरी मागेर खाने बानी परेपछि आफ्नो खुट्टामा उभिन पनि कहाँ जानिन्छ र ? बाह्य सहयोगले त राष्ट्रलाई नै परनिर्भर बनाउँछ । सानो तिनो लगानी गरेर आफ्नै खुट्टामा उभिने प्रयास नै निकै राम्रो हो । साना उद्यमी र लगानीकर्तालाई राज्यले न कुनै उत्साह थप्न सकेको छ न त कुनै सहुलियत नै । महिला उद्यमीहरूको व्यथा त झनै अर्को छ । त्यसैले मुलुकले खेप्नु परेको यो सङ्कटको सामना गर्दै हामी आफै आत्मनिर्भर हुनु पनि त्यत्तिकै आवश्यकता छ ।

निम्न आय स्तर भएकाहरू धेरै जसो घरबाट निस्केर काममा लागिसकेका छन् । मानिसहरू पहिलेको जस्तैसरि खुलेआम हिँड्न थालेका छन् । कत्तिले त मुखमा मास्क लगाएको पनि देखिदैंन । लाग्छ ! उसलाई पो कोरोना लाग्यो, मलाई त केही हुँदैन जस्तो गरेको भान हुने गर्दछ । भाइरसका कारण सर्ने भएकोले सजगता निकै नै अपनाउनु पर्छ तर मानिसहरूको हेलचेक्रयाईं बढी नै देखिएको छ । घरमा थन्किएर एक रुपैंया नकमाउँदा उच्च तहका घरानियाँ वर्गका लागि खासै केही फरक पारेको पाइँदैन तर मध्यमवर्ग र निम्न आय स्तर भएकाहरूलाई ४ महिनासम्म काम नगरी बस्नुपर्दा निकै नै समस्यामा पारेको छ । कोरोनाको डर भन्दा आफ्नो पेट भर्न नपाएपछि निम्नआयस्तर भएकाहरू बाध्य भएर काममा निस्किएका हुन् । कोरोनाको डरले गर्दा अहिले पनि सबै मानिस काममा निस्कन सकेका छैनन् । सार्वजनिक यातायात सुचारुको तयारी भइरहँदा अझ सतर्कता अपनाउनु जरुरी छ ।

प्राय गरी, मानिसका आ–आफनै दुःख छन् । आम्दानी नहुँदा घर खर्च चलाउन धेरैलाई हम्मे हम्मे परिरहको छ । व्यापारीहरू कोरोनाको कुनै प्रवाह नगरी पसल खोल्न निस्किए पनि व्यापार सुको हुने नगरेको उनीहरूको गुनासो छ । मानिससँग रुपैंया भए पो खरिद गर्न सक्छन् । कपडा जुत्ता लगायतका फेन्सी स्टोरका पसलहरूमा चहल पहल हुन सकेको छैन  किनभने मानिससँग भएको रुपैंया, खानको लागि नै खर्च भइरहेको छ । त्यसैले मानिसहरूले अहिले जुत्ता, लुगा कपडा पुराना नै चलाइरहेका छन् र जून पुराना कुराबाटै गर्जो टार्न सकिन्छ यस्ता कुराहरूमा मानिसहरूले खर्च गरिरहेका छैनन् । 

बैकबाट ऋण  लीनहरूको बिजोग नै छ । बैङ्कले ब्याज लिन छाडेको छैन । हरेक महिना बैङ्कमा रुपैंया बुझाउनुपर्छ । लकडाउन अवधिभरको मात्र भए पनि बैङ्कले व्याज नलिइदिए हुने भन्ने सबैको चाहाना छ ।  तर त्यो चाहानामा सिमति छ । सरकारले यस विषयमा केही सुविधा दिएको छैन । यसले गर्दा लगानीकर्ताहरू निकै नै सङ्कटमा फसेका छन् । त्यसैले ऋण लिएर व्यवसाय गर्नेहरूको बिजोग नै हुने निश्चितै छ । यसै गरी काठमाण्डौंका अधिकांश परिवारको घर भाडाबाट राम्रो आम्दानी हुने गरेको यर्थाथ नै हो । आम्दानी नहुँदा कतिपयले घरधनीलाई घर भाडा बुझाउन सकिरहेका छैनन् । घर भाडा तिर्न नसक्दा कतिपयले कोठा खाली गरिसकेको अवस्था छ । इन्टरनेटबाटै काम गर्ने भन्दै भाडा लिएर चलाइएका कार्यालयहरू बन्द गरी घरको कोठा बाटै कार्यालय चलाउन थालिएको छ । 

कोरानाकै कारण धेरैले रोजगारी समेत गुमाएका छन् । विश्वमै बेरोजगारीको सङ्ख्या बढिरहेका बेला नेपालमा पनि बेरोजगारीको सङ्ख्या बढ्ने निश्चित छ । धेरै कार्यालयले कर्मचारीको भारी कटौती गरिरहेको छन् । धेरै प्राइभेट कम्पनीहरूले निकै नै थोरै कर्मचारीबाट काम लिन खोजिरहेका छन् । कतिपय ठाउँमा कर्मचारीले तीन महिनादेखि तलब पाइरहेका छैनन् । तलब उपलब्ध गराउने कार्यालयहरूले पनि आधा मात्र तलब उपलब्ध गराएका छन् । जनतालाई यति धेरै सास्ती र दुःख पर्दा सरकार भएको महसुस गर्न सकिरहेका छैनन् । जनताको चराइरहेको मनमा सरकारले सामान्य मलहम लगाउने प्रयास समेत गरेको पाइँदैन । जसलाई दु,ख पर्‍यो, पर्‍यो ! दुःखका बेला सरकारको साथ नपाउँदा जनता निकै चिढिइरहेको अवस्था छ र दुःखी समेत बनेका छन् । सरकारले हरेक क्षेत्रमा कर लिन भने झन् झन् कडाइ गरिरहेको छ । मानौँ सरकार भनेको जनतासँग विभिन्न बहानामा कर सङ्कलनको लागि मात्र गठन हुन्छ भन्ने सन्देश दिइरहेको छ  । 

लकडाउनका कारण कतिपय मानिसहरू बिजुली, खानेपानी र टेलिफोनको रुपैंया तिर्न जान सकेनन् । यस्तो बेलामा पनि सरकारले टेलिफोनको पैसा बुझाउन नसकेकाहरूको लाइन काटिदियो । जरिवाना असुलेर सरकारले रकम लिने काम गर्‍यो । सरकार भनेको त अभिभावक जस्तो हुनुपर्ने हो । जनताले दुःख पाउँदा जहिले साथ दिनु पर्ने हो  । अभिभावकत्व निभाउन जान्नु पर्छ । आस नै नरहे पछि यस्तो सरकार जनताको लागि के काम नै भयो र ? बन्दाबन्दीको समयमा घरबाट निस्किन नसकेर शुल्क तिर्न नसकेकाहरूको उल्टो लाइन काटेर मानिसको मन दुखाउने चिढाउने काम यो सरकारले गरेको छ । 

धेरै मानिसहरूले आफ्नो जागिर गुमाउनु परेको अवस्था छ । जागिरबाट निकालिएपछि आफै सानो तिनो केही व्यवसाय गरौँ भन्यो भने मानिससँग अहिले रुपैंया छैन । लगानी गरेको रुपैंया उठ्ने हो की होइन मानिसमा अहिले शङ्का छ । मानिसले आधारभूत आवश्यकताका कुरा मात्र खरिद गर्न सक्ने भएपछि अन्य क्षेत्रमा लगानी गर्न १० पटक सोच्नै पर्ने हुन्छ । विश्व नै अप्ठ्यारो स्थितिमा परेका बेला बाह्य सहयोगको अपेक्षा पनि व्यर्थ हुन जान्छ । वाहय सहयोग दिगो त हुँदै होइन । फेरी मागेर खाने बानी परेपछि आफ्नो खुट्टामा उभिन पनि कहाँ जानिन्छ र ? बाह्य सहयोगले त राष्ट्रलाई नै परनिर्भर बनाउँछ । सानो तिनो लगानी गरेर आफ्नै खुट्टामा उभिने प्रयास नै निकै राम्रो हो । साना उद्यमी र लगानीकर्तालाई राज्यले न कुनै उत्साह थप्न सकेको छ न त कुनै सहुलियत नै । महिला उद्यमीहरूको व्यथा त झनै अर्को छ । त्यसैले मुलुकले खेप्नु परेको यो सङ्कटको सामना गर्दै हामी आफै आत्मनिर्भर हुनु पनि त्यत्तिकै आवश्यकता छ ।