गंगोत्री धाममा पहिलो पटक मतदान केन्द्र स्थापना

गंगोत्री धाममा पहिलो पटक मतदान केन्द्र स्थापना

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ५, २०७५

काठमाडौं । हिन्दूहरूको आस्थाको केन्द्र रहेको गंगोत्री धाममा पहिलो पटक मतदान केन्द्र राखिएको छ । 

यो क्षेत्र समुद्र सतहदेखि ३१४० मिटरको उचाइमा छ । यो उत्तराखण्डको सबैभन्दा उचाइमा रहेको ‘पोलिङ बुथ’ (मतदान केन्द्र) हो । यस क्षेत्रमा लोकसभा चुनावको मतदाता नामावलीमा ४५ मतदाताको नाम छ । 

टिहरी संसदीय क्षेत्रअन्तर्गत उत्तरकाशी जिल्लामा अवस्थित गंगोत्रीलाई हुन त नगर पञ्चायतको श्रेणीमा राखिएको छ । तर, मतदाता संख्या अति न्यून भएका कारण यहाँ कहिले पनि नगर पञ्चायतको चुनाव भएको छैन । यसअघि यहाँका मतदातालाई भोट हाल्न २९ किमि टाढा मुखवा गाउँ पुग्नुपर्ने बाध्यता थियो । 

हिउँले चुनावमा असर पुर्याउँला ? 

अहिले गंगोत्री क्षेत्र हिउँले ढाकिएको छ । त्यसकारण हिउँले चुनावमा असर पुर्याउँछ कि भन्ने कतिपयको आशंका छ । 

मौनी बाबाका नामले विख्यात पूर्ण चैतन्यका अनुसार गंगोत्रीभन्दा माथि रहेको गौमुख क्षेत्रमा भारी हिमपात भएको छ । सन् २००७ देखि तपोवन बसिरहेका उनले तपोवन–गंगोत्री धामको यात्रा ३३ घन्टामा पूरा गरेका थिए । उनका अनुसार यस बाटोमा पचासभन्दा बढी हिमखण्ड बनेका छन् । ती हिमखण्ड २० फिटभन्दा बाक्लो रहेको उनको अनुमान छ ।   

जाडोयाममा आवागमन शून्य 

जाडोयाममा उत्तर काशी–गंगोत्री मार्गको हर्षिलसम्म मात्रै आवागमन हुन्छ । त्यहाँबाट झण्डै तीस किमि माथि छ, गंगोत्री धाम । यहाँ जाडो याममा आवागमन शून्य हुन्छ । 

गंगोत्री मन्दिर पनि बन्द 

जाडोयाममा गंगोत्रीमा रहेको मन्दिर पनि झण्डै ६ महिनाका लागि बन्द हुन्छ । उत्तराखण्डमा रहेका चार धाम यमुनोत्री, बद्रीनाथ, केदारनाथ र गंगोत्रीमध्ये गंगोत्रीमा मात्रै केही साधु सन्यासी स्थायी रूपमा बसोबास गर्छन् ।