पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

पाँचपोखरीमा जनैपूर्णिमा मेला नगर्न आग्रह

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ७, २०७७

सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।
 
यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ । पालिकाले मानिसको भीडभाड हँुदा कोरोना सङ्क्रमण फैलन अझ मद्दत पुग्ने भएको भन्दै यो वर्षको मेला नगर्न र सहभागी नहुन सबैलाई आग्रह गरेको हो । विभिन्न जिल्लाबाट सर्वसाधरण मेला भर्न पुग्ने गरेका थिए । समुद्री सहतबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना–ठूलो गरी पाँच ताल रहेका छन् ।
 
पाँचपोखरीमा जनैपूर्णिमाको मेला भर्न खासगरी तामाङ समुदायको झाँक्री र उनका आफन्तहरु पुग्ने गरेका थिए । पाँचपोखरीको दुई÷तीन पटकसम्म मेला भरेर आएपछि मात्रै झाँक्रीको रुप धारण गर्न पाउने यो समुदायमा विश्वास छ ।  पालिकाले पाँचखोपारी क्षेत्रबाहेक अन्य ठाउँहरुमा समेत मेला, जात्रा, पर्वजस्तो मानिसको भीडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । पालिकामा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३३ सङ्क्रमित छन् ।