भूमि आयोग सदस्यलाई मनोनयन प्रदान

भूमि आयोग सदस्यलाई मनोनयन प्रदान

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ८, २०७७

बुटवल । भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा प्रदेश नं ५ सरकारको तर्फबाट मनोनयन गरिएका दाङका शोभाराम बस्नेतलाई बुधबार सदस्य पदको मनोनयनपत्र प्रदान गरिएको छ । प्रदेश नं ५ सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार दाङका बस्नेतलाई भूमिसम्बन्धी समस्या समाधान आयोगको सदस्यमा मनोनयन गरिएको थियो ।

सङ्घीय सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६ अनुसार आयोगको सदस्यमा सम्बन्धित प्रदेश सरकारले एकसदस्य मनोनयन गर्ने व्यवस्था भएअनुसार प्रदेश सरकार मन्त्रिपरिषद्ले बस्नेतलाई सदस्यमा मनोनयन गरेको हो ।

आदेशमा सङ्घीय सरकारले अध्यक्षसहित एक जना विज्ञ समावेश हुने गरी चार जना सदस्य तथा नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत सदस्यसचिव रहने गरी आयोग गठन गर्ने व्यवस्था गरिएको छ । बस्नेतलाई प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले मनोनयनपत्र प्रदान गर्नुभएको हो ।