राजधानीमा सडकभन्दा अग्ला पुल अलपत्र

राजधानीमा सडकभन्दा अग्ला पुल अलपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडौं । मैतीदेवी–देवीनगरमा धोबीखोलामाथि पुल बनाउन स्थानीयले माग गरेपछि सरकारले ०७१/७२ मा ठेकेदार कम्पनी भण्डार थोडङ/वल्र्डवाइडलाई दुई करोड ७४ लाखमा ठेक्का दिएको थियो । निर्माण सुरु गर्न ठेकेदार प्रतिनिधि डोजर लिएर फिल्डमा पुगेपछि नक्सा हेर्दा थाहा भयो, सडकको सतहभन्दा पुल करिब आठ फिट माथि हुन्छ । गाडी त चल्नै नसक्ने भयो, मान्छेसमेत भर्‍याङ लगाएर चढ्नुपर्ने र हामफालेर झर्नुपर्ने देखिएपछि स्थानीयले विरोध गरे । सडक विभागले नक्सा सच्याउनुको सट्टा पुल अलपत्र पारेको छ । ठेकेदारले दुईपटक गरी ४८ लाख रुपैयाँ लगिसकेका छन्, तर पुलको जगसमेत खनिएको छ । 

थापागाउँ–अनामनगरमा धोबीखोलामाथि पुल बनाउन तीन करोड ८२ लाखको ठेक्का परेको छ । ठेकेदार भण्डार थोडङ/टेकले एक करोड ५९ लाख लगिसकेका छन् । पुलको काम पनि ६० प्रतिशत सम्पन्न भएको प्रतिवेदन बनेको छ । तर, पुलमाथि स्ल्याब हाल्ने वेलामा थाहा भयो– पुल सडक सतहभन्दा आठ फिट माथि पुग्ने भयो । पुलको नक्सा डिजाइनमै समस्या भएको निश्चित भएपछि काम रोकिएको छ । सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाश श्रेष्ठ भन्छन्, ‘नक्सा सच्याएर काम अगाडि बढाउँछौँ ।’

बबरमहल–बुद्धनगर जोड्न धोबीखोलामाथि पुल बनाउन ०६६/६७ मै सम्झौता भएको थियो । पेस्की रकम लगेर ठेकेदार जयम/अभिकाले दुईतिर पिलर पनि बनाए । तर, बाटो हिँड्ने जोकोहीलाई पनि थाहा हुन्छ, पिलर सडक सतहभन्दा धेरै माथि पुगेको छ । सडक र पुल बराबर हुने गरी नक्सा बन्नुपर्ने हो, तर राजधानीका धेरै पुलमा पिलर बनेपछि मात्र पुल अग्लो हुन थालेको थाहा हुन्छ । तब मात्र झस्किन्छन् ठेकेदार र सडक विभाग । त्यसैले एक करोड ३० लाख बजेट भएको यो पुल पनि अलपत्र छ, ठेकेदारले ८४ लाख लगिसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।