दमौली डुम्रे सडकखण्डमा सवारी सञ्चालनमा रोक

दमौली डुम्रे सडकखण्डमा सवारी सञ्चालनमा रोक

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण ९, २०७७

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

सडक मर्मतका लागि शुक्रबार र शनिबार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

साथै बिहीबार साँझदेखि नै अवरुद्ध भएको डुम्रे–दमौली सडकखण्डमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिनुभयो । 'वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो', उहाँले भन्नुभयो ।

त्यसुतै, बन्दीपुर गाउँपालिकाले बाढीपहिराबाट घर क्षति भएकालाई राहत दिने भएको छ । केही दिनदेखि परेको वर्षापछि आएको बाढी र पहिराले पूर्ण र आंशिकरुपमा घर क्षति भएकालाई गाउँपालिकाले राहत दिने निर्णय गरेको हो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले पूर्णरुपमा घर क्षति भएकालाई प्रति घर ३० हजार रुपैयाँ र आंशिक घर क्षति भएकालाई प्रतिघर १० हजार रुपैयाँका दरले राहत दिइने जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष थापाका अनुसार बाढीले खेत बगर भएका किसानलाई प्रतिरोपनी दुई हजार रुपैयाँका दरले राहत दिइनेछ ।

'पहिराले घर पूर्णरुपमा क्षति भएर २० घरपरिवार विस्थापित भएको प्रारम्भिक तथ्याङ्क सङ्कलन भएको छ, पूर्ण तथ्याङ्क आइसकेको छैन', उहाँले भन्नुभयो, 'प्रत्येक वडा कार्यालयमार्फत तथ्याङ्क लिने काम भइरहेको छ ।' अध्यक्ष थापाका अनुसार २० घर आंशिकरुपमा क्षति भएको छ । पहिराबाट विस्थापित भएका छिमेकी र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् । 

बाढीले बन्दीपुर गाउँपालिकाभित्रका धेरै खेत बगर भएका छन् । बगर भएका खेतको अनुगमन गरी क्षति भएका किसानलाई राहतस्वरुप क्षतिपूर्ति दिइनेछ । 'खेतमै पुगेर कति भएको छ, त्यसको निरीक्षण गर्छाैं, त्यसपछि कृषकलाई प्रतिरोपनी रु दुई हजारका दरले राहत रकम दिन्छौँ', उहाँले भन्नुभयो ।

वर्षाका कारण बन्दीपुर गाउँपालिकाका सबै शाखा मार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । 'यहाँका बाटाघाटा ध्वस्त भएका छन्, शेराटार, धरमपानी जाने बाटो त अत्यन्तै नराम्रोसँग बिग्रिएको छ,' अध्यक्ष थापाले भन्नुभयो, 'शाखा मार्गको हालत पनि उस्तै छ ।'