केसीले राष्ट्रसंघ गुहारे

केसीले राष्ट्रसंघ गुहारे

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

काठमाडौं । चिकित्सक गोविन्द केसीसहित चारजनाले दस वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराधका घटनाका दोषीलाई कारबाहीको माग गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। चिकित्सक केसीका साथै अधिवक्ता ओमप्रकाश अर्याल, इन्जिनियर प्रितम सुवेदी र अधिवक्ता शिवहरि तिमल्सिनाले मंगलबार संयुक्त राष्ट्रसंघको पुल्चोकस्थित कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

शृंखलाबद्ध मानवताविरोधी अत्याचार र त्यसबाट पीडित भएका व्यक्तिका पीडाको साक्षी आफूहरु पनि भएको जनाउँदै उनीहरुले भनेका छन्, ‘आफ्नो देश, समाज र छरछिमेकमा भएका मानवताविरोधी अत्याचारबाट पीडित व्यक्तिले न्याय नपाएको, बरु हिंसा, प्रतिहिंसा, भ्रष्टाचार र कालोधनको बलमा सर्वसत्ता कब्जा गर्न सफल आततायी पीडक पक्षकै रजगज झन् घनीभूत हुँदै गएको स्थितिले हामीले अत्यन्तै चिन्तित बनाएको छ।’

सक्रिय नागरिकको रुपमा देश, समाज, पीडित तथा समग्र मानव समुदायप्रति कर्तव्यबोध गर्दै गम्भीर ध्यानाकर्षण गराएको जनाउँदै उनीहरुले तत्कालीन माओवादी र राज्यका निकायसँग सम्बन्धित व्यक्तिको संलग्नतामा १७ हजारको ज्यान गएको उल्लेख गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।