वंशजकै ‘जेठा मुखिया’ हुँदै परिबन्दको काँग्रेसदेखि नायव बडा गुरुज्यूसम्म

वंशजकै ‘जेठा मुखिया’ हुँदै परिबन्दको काँग्रेसदेखि नायव बडा गुरुज्यूसम्म

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण १०, २०७७

कुरो ०९ सालको हो । तर, ठ्याक्कै ०९ सालकै हो भन्नेमा उहाँ पनि निश्चिन्त हुनुहुन्न । दस्ताबेजले यही भन्छ । यति भइसकेपछि यो नै प्रामाणिक हो । जन्मँदाको वास्तविक साल यही भनेर यकिन गर्न नसके पनि उहाँ आफूलाई सात दशक पार गर्न आँटेको र आठ दशकको सम्मुखमा रहेको मान्नुहुन्छ । 

जिल्ला पनि उही रहेन उहाँ जन्मेको । जन्मँदाको ओखलढुंगे तर, अहिलेको खोटाङे । गाविस उस्तै । पहिले लामिडाँडा । अहिले रावाबेसी गाउँपालिका । 

गाउँको मुखियाको  नाती मुखिया कै ज्येष्ठ सुपुत्र । उहाँ अफैले पनि ‘जेठा मुखिया’ सम्मान पाउनु भएको व्यक्ति । गाउँको सामाजिक सांस्कृतिक काम उहाँकै घरबाट निर्देशित हुन्थ्यो । 

अलि अलि गाउँमै पढेपछि गाउँका साथीभाइसँग उहाँ लाग्नु भो अध्ययनका लागि भोजपुरको दिङला । षडानन्द विद्यालय । पूर्वमा संस्कृतको अर्को पाठशाला थिएन । कक्षा ८ सम्मको अध्ययन त्यहीँबाट पूरा गर्नु भयो । दुई महिना धरानको पिण्डेश्वर । एसएलसी भने जनकपुरबाट । 

महोत्तरी मटिहानीको संस्कृत कलेजबाट आइए अर्थात् मध्यमा । मुख्य विषय भने संस्कृत साहित्य । उहाँ नेपाल टप अर्थात् सर्वोत्कृष्ट । तर, सर्वोत्कृष्ट बन्छु भन्ने कुनै सोच र आकाङ्क्षा भने थिएन । पढ्ने हो पास गर्ने हो र सकेसम्म राम्रो नम्बर ल्याउने भन्ने चाहिँ थियो ।  

नेपाल खाल्डोको यात्रा 

सर्वोत्कृष्ट भएपछिको यात्रा मोडियो नेपाल खाल्डोतिर । यो ०२४ सालको कुरो हो । त्यस बेला खोटाङेका मान्छेको काठमाडौँमा घर हुने कुरै भएन । सरकारी जागिरे डेरामा बस्थे । उहाँको नेपाल खाल्डोको बसाई गैरीधाराबाट सुरु भयो । त्यसपछि उहाँले यो खाल्डो त्याग्नु भएको छैन । 

संस्कृतमा सर्वोत्कृष्ट भएर नेपाल खाल्डोमा पढ्न आएको केटो अब लाग्यो तीन धारा पाठशालातिर । ०२५ सालदेखि चार वर्ष उहाँ त्यहीँ छात्रावासमा रहनु भयो । 

शास्त्रीमा पनि उहाँ देशभरिबाट सर्वोत्तम । त्यो बेला गोरखापत्रले एसएलसी, आई लगायतका अन्य तहमा सर्वप्रथम हुनेको अन्तरवार्ता गथ्र्यो । भोलिका गहना शीर्षक दिएर । 

गोरखापत्रका तत्कालीन सम्पादक गोपाल भट्टराई थिए कि शिवप्रसाद गौतम त्यति हेक्का भएन उहाँलाई । उहाँ अन्तरवार्ताका लागि गोरखापत्रको कार्यालय जानुभयो । त्यस बेला अन्तरवार्ताको खासै चलन पनि थिएन । भर्खर पढ्दै गरेको केटोले अन्तरवार्ता के जान्नु त्यो समयमा । 

अन्तरवार्ता लिने पत्रकार थिए मधुसूदन । उहाँ त्यो बेलामा पनि थर लेख्नु हुँदैन थियो । बिसौँ वर्षसम्म पनि आफ्नो पहिलो अन्तरवार्ताकारसँग भेट भएन । थर पनि थाहा भएन । 

उहाँ गोरखापत्रको जागिर छोडेर बैङ्कतिर लाग्नु भएछ । नरेन्द्र वाङ्मय निधि भन्ने संस्था खोल्दा उहाँ पनि सदस्यका रुपमा आउनु भयो । धेरै पछि उहाँसँग भेट भयो । त्यस बेला थाहा भयो उहाँको थर रिमाल रहेछ । 

शायद त्यसको प्रभाव हो कि के हो उहाँलाई सरकारले हटाएनछ । पछि माओवादीका नेताहरू पनि आएका थिए । तपाईँहरू यस्तो कुरामा हात नहाल्नुस् । यस्तो निर्णय त हामीले गरे पो जनताले पत्याउँछन् त । सुधारका कुरा छन् भने त्यो गर्न हामी पनि तयार छौँ भनेर उहाँहरूलाई पनि सम्झाउनु भयो । त्यो बेला त्यस्तो निर्णय गराउन पक्कै सजिलो थिएन । किनकि त्यो नयाँ नेपालको बेला थियो, उहाँ विगत तिर लाग्नुभयो 

उहाँ आचार्यमा पनि सर्वोत्कृष्ट । कुनै विषयमा डिग्री गरिसकेपछि त्यो बेला अन्य विषयमा डिग्री गर्न सम्बन्धित एउटा विषयको मात्र परीक्षा दिए पुग्थ्यो । 

अब उहाँ लाग्नु भो अङ्ग्रेजी अध्ययनमा । अङ्ग्रेजीमा एसएलसी र आइए पनि गर्नु भयो । प्राइभेट परोक्ष दिएर । शिक्षा कार्यालयमा फारम भरेर परीक्षा दिन पाइन्थ्यो त्यो बेला । अध्ययन भने विद्यालयमा नभएर छात्रावासकै गुरुहरूसँग । त्यो बेला अंगे्रजीका प्राध्यापक हुनुहुन्थ्यो भवानी प्रसाद मिश्र । 

मन त उहाँलाई अङ्ग्रेजीमा बिए गर्ने थियो । तर, समस्या आइपर्‍यो । नेपालीमा एमए गर्ने कि अङ्ग्रेजीमा बिए । एक तह घटी के पढ्नु भनेर उहाँले रोज्नु भयो नेपालीको एमए । 
त्यो बेला योग्य मान्छेलाई खोजी खोजी काममा लगाउने प्रचलन थियो । 

रानीपोखरी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद न्यौपाने एक दिन अचानक उहाँलाई खोज्दै आउनुभयो कोठामा । चिनजान थिएन । बाबु, विद्यालयमा पढाउनका लागि शिक्षक खाली भएर तिमीलाई खोज्दै आएको भन्नुभयो । 

पोहोर मात्र ९८ वर्षको उमेरमा उहाँको दिवङ्गत भयो, उहाँले गुरुको स्मरण गर्नुभयो ।

उहाँ भने त्यहीँ बसेर आचार्य समेत सक्ने सोचमा हुनुहुन्थ्यो । त्यो बेला आचार्य पढ्नका लागि कीर्तिपुर जानुपर्थ्यो । २ बजेदेखि ५ बजेसम्म कक्षा हुन्थ्यो । मेरो अहिले जागिर नखाने पढ्नै नै सोच छ, उहाँले भन्नुभयो । तर, फेरि गुरुको आग्रह पछि नकार्न सक्नुभएन । पढ्न पनि पाइने र थोर बहुत पैसा पनि पाइने भएपछि उहाँ राजी हुनुभयो । 

उहाँले पढाइमा वाधा नपुग्ने गरी बिहान दश बजेदेखि मध्यान्ह एक बजेसम्म मात्र पढाउने व्यवस्था मिलाइदिनु भयो । यो व्यवस्था केवल पढ्ने विद्यार्थीका लागि मात्र उहाँले उपलब्ध गराउनु भएको थियो । 

हिँडेरै हो ? होइन, त्यो बेला अहिले जस्तो साना माइक्रो भन्ने थिएनन् । ठुलो बस चल्थ्यो किर्तिपुरसम्म । उहाँले विगत स्मरण गर्नुभयो । 

पहिलो जागिर

उहाँ आचार्यको त विद्यार्थी छँदै हुनुहुन्थ्यो । अब थपियो जागिरे कर्म । जीवनकै पहिलो नोकरी । पहिलो नोकरीको पहिलो तलबले के किन्नुभयो त्यो भने त्यति हेक्का रहेन । तलब भने २ सय पचास थियो जस्तो लाग्छ, उहाँ सम्झनुहुन्छ । 

अब, अहिले जस्तो सिनेमा हेर्न जाने र फुर्मासको खर्च गर्ने चलन थिएन । शायद केही काम लाग्ने कुरो नै गरेँ होला । किताबमा सोख थियो उहाँको । त्यै भएर किताब नै किनेँ होला, उहाँ सम्झनुहुन्छ । पछि बढेर ४ सय भए जस्तो लाग्छ, विगत सम्झनु भयो उहाँले । 

डेढ दुई वर्ष उहाँले रानीपोखरीमै पढाउनु भयो । आचार्य पुरा भयो । आचार्यमा पनि उहाँ सर्वप्रथम नै हुनुभयो । त्यसपछि भने उहाँले वाल्मीकि क्याम्पसमा पढाउन थाल्नुभयो । 

पहिलो बैङ्क खाता

३० साल अघि वाल्मीकि क्याम्पस नभएर महाविद्यालय थियो । नयाँ शिक्षा लागु भएपछि वाल्मीकि क्याम्पस भयो । त्यस बेला भने उहाँको तलब ४ सय २५ रुपैयाँ थियो । बिहे नगरेको एक्लो केटोलाई ३० सालको ४ सय २५ भनेको छेलोखेलो नै हुन्थ्यो । 

उहाँ एकै पटक सहायक प्राध्यापक हुनुभयो । ३१ सालमा बढुवा हुँदै उप प्राध्यापक । त्यो पनि स्थायी । त्यसका लागि दरखास्त पनि दिनु परेन । तलब भने ७ सय २५ । तर, खै किन हो तलबको भने उहाँलाई खासै चासो रहेन । 

सुरु शुरमा त खाता खोल्ने चलन पनि थिएन । वाल्मीकि क्याम्पस आएपछि खाता खोल्ने चलन आयो । खाता नेपाल बैङ्कको डिल्लीबजार शाखामा खोलिएको थियो । जीवनकै पहिलो बैङ्क खाता । 

परिबन्दले बनेको काँग्रेस

यसैबीचमा केही समय उहाँले मटिहानी र जनकपुरमा पनि पढाउनु भयो । जनकपुरबाट ०३६ सालमा काठमाडौँ फर्केर आएपछि भने उहाँले यो नेपाल खाल्डो छोड्नु परेको छैन । 
०३६ सालमा देशमा जनमत सङ्ग्रह हुँदै थियो । बहुदल र निर्दलको । सीमा नजिक अलिक असुरक्षाको अनुभव गरेका कारण उहाँ जनकपुरबाट फर्किनु भएको हो । 

०३६ सालमा जनमत सङ्ग्रह घोषणा भएपछि आफ्नो खुसीले भोट हाल्न पाउने भनिएको थियो । तर, पनि व्यवस्था भने कडै थियो । उहाँ नेपाली काँग्रेससँग नजिक हुनुहुन्थ्यो । त्यो पनि परिबन्दले । 

०२६,२७ सालमा वाल्मीकि क्याम्पसमा पढ्दाखेरि नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी सङ्घको महाधिवेशन भएको थियो चितवनमा । अर्को मान्छे नपाएर हो अन्य कुनै कारणले उहाँको नाम खोटाङ जिल्लाको प्रतिनिधिका रुपमा हालिदिएछन् । कसले हाल्यो र किन हाल्यो त्यो आज पर्यन्त उहाँलाई थाहा छैन । 

भैंसेको बाटो बसमा हेटौँडा हुँदै थुप्रै ठाउँको ‘चेकिङ’ पार गर्दै बडा कष्टकर यात्रा गर्दै चितवन पुग्नुभयो उहाँ । बाहिर चउरमा सम्मेलन गर्न लाग्दा झगडा भयो । ढुङ्गा हानाहान भयो । सम्मेलन गर्न दिइएन । 

पछि लीला होटेलमा राति अधिवेशन भयो । सम्मेलनमा रामचन्द्र पौडेल, विपिन कोइराला, चिरञ्जीवी वाग्ले, शेर बहादुर देउवा त्यस बेलाका देउवा लगायतका नेता थिए । अरूलाई नै अध्यक्ष बनाउने कार्यक्रम थियो कि कुन्नि । तर शेरबहादुरले जे पनि पूर्वलाई मात्र चाहिने ? हामी सुदूर पश्चिमकाले चाहिँ कहिले नपाउने भनेपछि पार्टीले पनि केही सोच्यो कि कुन्नि ! शेरबहादुरलाइ अध्यक्ष बनाइयो । भोटिङ गरेर होइन । ताली पड्काएर । उहाँले इतिहास सम्झनु भयो । 

भित्रभित्रै काँग्रेसको प्रचार

क्याम्पसमा पढाउने मान्छे खुलेर देखिनु पनि भएन । भित्रभित्रै सहयोग गर्नुभयो उहाँले । हुन त गिरिजाबाबुले जागिर छोडेर आउनुस् । भोलि नेपाली काँग्रेसले नै जित्ने हो, हामीले नै सरकार बनाउने हो । र, त्यसपछि काम गर्ने भनेको तपाईँहरूले नै हो नभनेको पनि होइन । अरु साथीहरूले त जागिर पनि छोडे तर, उहाँले भने वाल्मीकिको साथ छोड्नु भएन ।  
भित्र भित्र पर्चा छपाएर जिल्ला जिल्लामा पुर्‍याउने । यहाँ पनि लुकिछिपी बाँडेर निलो रङ्गमा बहुदललाई भोट हाल्नुपर्छ भनेर भनेकै हो उहाँले । तर, खुलेर लाग्न भने त्यस बेलाको व्यवस्था र जागिरका कारणले पनि दिएन । 

भोटिङ बुथ बागबजारमा थियो त्यस बेला । दुई चार जनालाई उक्साएर दुई चार पटक निलो रङ्गमा भोट हाल्न नलगाएको पनि होइन उहाँले । तर पनि बहुदलले जित्न सकेन । 

काँग्रेसप्रतिको वितृष्णा

तर, जब ०५१ सालमा गिरिजाबाबुले मध्यावधि घोषणा गरेपछि भने उहाँको नेपाली काँग्रेसप्रतिको मन मर्‍यो । र, एक प्रकारले भन्नुपर्दा राजनीतिप्रति नै वितृष्णा पैदा गर्ने घटना थियो त्यो । आखिर आफ्नो पूर्ण बहुमत छँदै थियो । राम्रोसँग काम गरेको भए आरामले १५,२० वर्षसम्म शासन चलाउन सक्थ्यो । तर, छत्तिसे र चौहत्तरेका नाममा विभाजित भएर जनमतको अपमान गरेपछि भने उहाँलाई राजनीति साँच्चै फोहोरी खेल लाग्यो । त्यसपछि उहाँ राजनीतिमा सक्रिय रहनु भएन । तर पनि उहाँलाई लागेको काँग्रेसीको ट्याग भने हटेन ।

०५१ को काँग्रेसको मध्यावधिको कदम पछि भने उहाँ आफूलाई स्वतन्त्र मान्नुहुन्छ । भोट नदिएको होइन । तर, गुण दोषका आधारमा । 

बिपी चिन्तन प्रतिष्ठानको महासचिव

काँग्रेसको यो धङधङी भन्नुस या मोहले उहाँलाई ०४८ सालमा पनि छोडेन । बहुदल आइसकेपछि उहाँले बिपी चिन्तन प्रतिष्ठान भनेर एउटा संस्था पनि खोल्नुभयो । पार्टीको आधिकारिक स्वीकृति बेगर यस्ता संस्था प्रमुख जिल्ला अधिकारीले दर्ता गर्न नै मान्दैनथे । 

स्वीकृतिका लागि उहाँ पार्टी अध्यक्ष कृष्ण प्रसाद भट्टराईकहाँ जानुभयो । भट्टराईले हरिबोल भट्टराई अध्यक्ष र महासचिवमा उहाँलाई चयन गर्नुभयो । र, भन्नुभयो यो राम्रो काम रैछ यसमा म पनि संरक्षक बस्छु । 

तर, अब पार्टीमा त्यस बेलाका सर्वमान्य नेता गणेशमान सिंह तथा अर्का नेता गिरिजा प्रसादलाई पनि मिलाएर लिएर जानुपर्ने कारणले तीनै नेतालाई संरक्षक राख्ने काम भयो । 

धार्मिक तथा सामाजिक सङ्घ संस्थामा संलग्नता 

उहाँको संलग्नता धार्मिक तथा सामाजिक सङ्घ संस्था साथै अतिरिक्त क्रियाकलापमा पनि पहिले देखि नै थियो । उहाँले विश्व हिन्दु महासङ्घको नेपाल राष्ट्रिय समितिको महासचिवको रुपमा पनि काम गर्नु भयो । खोटाङ सेवा समाज लगायत अरु थुप्रै सङ्घ संस्थामा पनि उहाँको संलग्नता थियो ।

खोटाङ सेवा समाज गैर राजनैतिक संस्था । खोटाङ जिल्लाभरिका मान्छेको संलग्नता रहेको संस्था । पञ्चायतकै समयमा । पहिले यसको दर्ता पनि भएको थिएन । ०४३ सालको कुरा हो यो । पछि ०५६ सालमा विधिवत् दर्ता भयो । यसको अध्यक्ष पनि हुनुभयो उहाँ । त्यो पनि निर्वाचन लडेर । उहाँले इच्छा गरेको त होइन । तर, साथीहरूले कर गरे । 

जीवनको अर्को मोड

यसैबीचमा दरबारमा नायव बडा गुरुज्यूको पद रिक्त भएका कारण दरखास्त दिने कुरो आयो । दरखास्त दिनुभयो । अन्तरवार्ता लिने कुरो पनि थियो । एक दिन उहाँलाई दरबारबाट बोलावट आयो । उहाँलाई लाग्यो केही बुझ्न सोध्न होला । दौरा सुरुवाल लाएर आउन भनियो । उहाँ प्राय दौरा सुरुवाल नै लगाउनु हुन्थ्यो । कहिलेकाहीँ भने कमिज सुरुवाल पनि । टोपी छुट्ने कुरै भएन । 

उहाँ दरबारमा जानुभयो । एक छिन बस्न भनियो । एक छिनमा दरबारका प्रमुख पदाधिकारीले उहाँलाई बधाई पो दिए । ल ! तपाईँलाइ बधाई छ ! सरकारबाट तपाईँलाई नायव बडा गुरुज्यू नियुक्त गरिबक्सेको छ भनेर पत्र पो दिए ! उहाँलाई खुसी लाग्यो । तर खुसी भन्दा धेरै भने उहाँ छक्क पर्नु भयो । 

यो ०५८ सालको कुरो हो । त्यो बेला नायव बडा गुरुज्यूको लागि नेपाल अधिराज्य तथा बाहिर रहेका समेत गरी ३७ जना विद्वानहरूको निवेदन परेको थियो । 

उहाँ नियुक्ति लिएर घर पुग्न नपाउँदै त्यो समाचार बाहिरियो । बधाईका फोनहरू रात भरी आए । त्यो बेला उहाँ लोकन्थलीमा बस्नुहुन्थ्यो । माओवादी आन्दोलन चलिरहेका कारण बन्द हडतालले जरुरी कामका बेला दरबार पुग्न नसकिएला भनेर लगत्तै उहाँ अनामनगर बसाइ सर्नुभयो । आज पर्यन्त उहाँ अनामनगरको उक्त घरको स्थायी बासिन्दा हुँदै हुनुहुन्छ । 

उहाँ नायव बडा गुरुज्यूमा नियुक्त हुनुभयो । नेपाल अधिराज्यको नायव बडा गुरुज्यू उल्लेख छ उहाँको नियुक्ति पत्रमा । नेपाल अधिराज्यको भनेपछि नियुक्ति भने सिंहदरबारले दिने । तर, काम गर्न भने दरबारमा जानुपर्ने हुन्थ्यो । 

धार्मिक सांस्कृतिक कुराहरू धेरै दरबारबाट हुनाले दरबार नै जानुपर्ने थियो । तर, सरकारी जागिरे जस्तो १०–५ को प्रतिबन्ध भने थिएन । आवश्यक परेका बेला दरबारमै बस्नु पनि पर्दथ्यो । अरु बेला भने त्यस्तो थिएन । 

निमित्तमा रुमल्लिँदा

०४२ सालमा उहाँ सहायक क्याम्पस प्रमुख हुनुभयो । तर, क्याम्पस प्रमुख हुन भने उहाँलाई अरु तीन चार वर्ष लाग्यो । यो बिचमा उहाँ निमित्त क्याम्पस प्रमुख रहनु भयो । भिसी, रेक्टर रजिस्ट्रारको आफ्नो मान्छेलाई प्रमुख बनाउने खेलमा उहाँ पिसिनु भयो । 

उहाँहरूको मान्छे प्रमुख बनाउन योग्य नहुने । तर, पनि काम पनि गर्नै परेको छ । त्यसैले यो निमित्तको पगरी चार वर्षसम्म भिर्नु भयो उहाँले । चार पाँच वर्ष यो निमित्तको चक्करमा पर्दा पर्दा केही समय मात्रै उहाँ क्याम्पस प्रमुख हुनुभयो । त्यसपछि भने अवकाश लिनुभयो । पछि पछि विश्वविद्यालयको रेक्टर, रजिस्ट्रार पनि उहाँको नाम जोडिएर नआएको होइन । तर, उहाँले रुचि राख्नुभएन । पछि साथीभाइ मिलेर खोलेको काठमाण्डौं शिक्षा क्याम्पसको क्याम्पस प्रमुख हुनुभयो । 

दरबार हत्या काण्डको दिन

दरबार हत्या काण्डको दिन उहाँ गोरखामा हुनुहुन्थ्यो । गोरखामा सत्य साइबाबा सम्बन्धी एउटा धार्मिक कार्यक्रमका लागि अघिल्लो दिन उहाँ गोरखा जानु भएको थियो । 

दरबार हत्या काण्ड उहाँले गोरखामा राति १ बजे थाहा पाउनु भएको थियो । साथीहरूले भने । विदेशी टेलिभिजन च्यानलहरूले भनिरहेका थिए । अब के को कार्यक्रम । स्थगित भयो कार्यक्रम । जे पनि हुनसक्छ भनेर भोलिपल्ट बिहानै हिँडियो । खोइ कसरी आइपुगियो काठमाडौँ ।  काठमाडौँ आइपुग्ने बित्तिकै कर्फ्यु लाग्यो, उक्त कालो रातको स्मरण यस्तो रह्यो उहाँको । 

अन्तिम शुभकामना

सत्य साइबाबा सम्बन्धी एउटा पुस्तक लेख्नु भएको थियो उहाँले । उक्त पुस्तकका लागि सरकारको शुभकामना भए राम्रो हुन्छ भन्ने कसैले सुझाए । किताब पूर्ण भैसकेको थिएन । पहिलो टाइप सकिएर भर्खरै आएको थियो । केही त्रुटि सच्चाउन पर्ने हुन सक्ला भन्ने लाग्यो उहाँलाई । त्यसका लागि एक डेढ महिनाको समय त लागि हाल्छ । अनि शुभकामना पनि भन्ने बित्तिकै नहुने । त्यसका लागि पनि एक डेढ महिनाको समय लाग्ला भनेर उहाँले शुभकामनाका लागि सरकारलाई अनुरोध गर्नुभयो । 

अनुरोध गरेको एक हप्ता पछि एक दिन उहाँ वाल्मीकि क्याम्पसमा पढाइरहेको बेला फोन आयो दरबारबाट । सरकारबाट शुभकामना बक्स भएको छ लिन आउनु । 

भोलि बिहानै गोरखा जाने कार्यक्रम रहेकोले उताबाट फर्किए पछि मात्रै लिन आउने जानकारी गराउनु भयो उहाँले । तर, त्यत्रो समय नराखौंं आजै बेलुकीसम्म आउनु भनेपछि उहाँ क्याम्पस सकेर दरबार जानुभयो । 

पत्र तयार थियो । उहाँले खोलेर हेर्दा पनि नहेरी पत्र लिएर आउनु भयो । भोलिपल्ट बिहान गोरखा जानुपर्ने भएकाले पत्रलाई त्यत्तिकै झोलामा हाल्नु भयो । शुभकामना सन्देश आइसकेपछि त्यसलाई नछापी लामो समय राख्दा अप्ठेरो हुने भएकोले अब उहाँलाई किताब छाप्ने हतारो पो पर्न थाल्यो । तर, उहाँलाई के थाहा त्यो नै अन्तिम शुभकामना हुनेछ भनेर । 

पछि अरु नेवारहरूले पनि तिहारको टिकाको सन्दर्भमा त्यो विवाद झिके । घर घेर्ने र अगो लगाउनेसम्मको धम्की आयो । ल ठिक छ जे परेको सहन्छु भन्ने भयो उहाँलाई । पछि जातीय नेताहरू प्रतिनिधिमण्डल नै लिएर पनि आए । उनीहरूलाई सम्झाएर पठाइयो । 

राजनीतिको अर्को पाटो

यो ७० सालको कुरा हो । गिरिजाबाबुले मध्यावधि घोषणा गरेका कारण नेपाली काँग्रेससँग कुँडिएको उहाँको मन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालतर्फ मोडियो । यसको अन्य केही कारण नभएर उसले बोकेको हिन्दु राष्ट्र, राजा र स्वायत्त शासनको एजेन्डा मात्रै भएको उहाँले प्रस्ट पार्नुभयो । 

देश हिन्दु राष्ट्र हुँदा भारतदेखि अमेरिकासम्म एउटा हिन्दु राष्ट्रको नागरिकले पाउने सम्मानले उहाँलाई लोभ्याएको रहेछ । हिन्दु राष्ट्र हुँदा त मुसलमानको पनि बेग्लै शान थियो । सरकारी कोटामा हिन्दु राष्ट्रबाट हज गर्न जाँदा उसको त्यहाँ बेग्लै इज्जत हुन्थ्यो । 

सङ्घीयताका सवालमा भने यसले नेपाल जस्तो गरिब देशलाई आर्थिक भार बोकाउने काम गर्छ भन्ने उहाँको बुझाइ रहेछ । जुन त्यस बेलाको राप्रपा नेपालसँग मेल खान्थ्यो । त्यस कारण उहाँको नेतृत्वमा करिब सय जना त्यस बेला राप्रपा नेपाल प्रवेश गरेका थिए । 

पछि राप्रपा नेपालले उहाँको श्रीमती कान्ता भट्टराईलाई समानुपातिक तर्फबाट सांसद पनि बनायो । स्कुलमा अध्यापन गर्नुहुन्थ्यो श्रीमती भट्टराई । गोरखापत्रमा नाम निकाली दिएका कारण राजीनामा दिनुपर्‍यो । जागिर अझै ४, ५ वर्ष बाँकी भए पनि पेन्सन भैसकेको थियो ।

डामिएको काँग्रेस 

उहाँ तीन धारा पाठशालाको छात्रावासमा बस्दा एउटा कोठामा चार जना बस्ने चलन थियो । एउटा कोठामा दुई वटा बेड खाली भएछ । त्यसमा उहाँसँगै अर्को एकजनालाइ पनि जान भनियो । उक्त कोठामा पहिले नै आफूभन्दा सिनियर दुहिजना कम्युनिस्ट भनेर चिनिएका साथीहरू थिए । उनीहरूसँगै बस्ने खाने उठबस हुँदा अरूले कम्युनिस्ट पनि भन्न थाले । चुनावमा नेविसंघले पनि भोट हाल्न भन्यो । तानातान हुन थाल्यो । 

तर, जब ०२७ सालको नेविसंघको चुनावमा चितवनमा भाग लिएर फर्केपछि भने उहाँ डामिएको काँग्रेस हुनुभयो । अब काँग्रेस भएवापत उहाँले सरकारी जागिर खान नपाउने हुनु भयो । 

यो कुरो त्यस बेला खोटाङको सिडिओ अफिसको सुब्बा उहाँको भिनाजुले भन्नुभयो । अब प¥यो बित्यास । यत्रो नेपाल अधिराज्यभर सर्वोत्कृष्ट हुने विद्यार्थीका लागि यो भन्दा ठुलो दुःख के होला र !

यो केन्द्रको रिर्पोट भएको हुनाले सच्याउन पनि नसकिने भिनाजुले बताउनु भयो । उहाँका सँगैका सहपाठी सरकारी सेवामा अधिकृत भएर गए । उहाँले आवेदनसम्म दिनुभएन । त्यसका लागि पुलिस रिर्पोट चाहिन्थ्यो । तर,शिक्षण पेसाका लागि भने पुलिस रिर्पोट आवश्यक थिएन । त्यो बेलाको पञ्चायतको गुण । पञ्चायतलाई उहाँले यसरी पनि सम्झनु भयो । 

बिपीको स्मरण 

उहाँ बिल्ला लागेको काँग्रेस । बिपीलाई भेट्न बेलाबेला सिफल गइरहनुहुन्थ्यो । बिपीको बसाइ त्यस बेला सरोज कोइरालाको निवास सिफलमा थियो । 

उहाँ बिपीको जनमानसलाई सम्बोधन गर्ने भाषण कला भन्दा पनि आन्तरिक बैठक र छलफलले प्रभाव पार्न सक्ने क्षमता बढी रहेको मान्नुहुन्छ । 

जनमत सङ्ग्रहको परिणाम घोषणा भैसकेपछिको कुरा हो । धाँधली गरेर निर्दलले जितेका कारण यो परिणाम स्वीकार गर्नुहुँदैन भनेर कार्यकर्ता भनिरहेका थिए । तर, हामीले चुनाव स्वीकार गरिसकेपछि परिणाम पनि स्वीकार गर्नुपर्छ भनेर बुझाएको उहाँ सम्झनुहुन्छ । 

बिपीका साहित्य पनि उच्च कोटीका लाग्छन् उहाँलाई । बिपी नास्तिक लाग्छन् उहाँलाई । बिपी गीता, वेद, उपनिषद जे मा पनि तर्क गर्ने सक्ने । तर, कोही पनि ईश्वर मान्न वा नमान्न भने स्वतन्त्र रहेको बताउने साँच्चै उदारवादी र प्रजातन्त्रवादी हुनुहुन्थ्यो । बिपीलाई उहाँले यसरी सम्झनु भयो । 

साधु सन्तसँगको सङ्गत

उहाँको धेरै सङ्गत भने धार्मिक क्षेत्रका मानिससँग रह्यो । विशेष गरी भारतबाट आएका साधु, सन्त, विद्वान, महात्माहरू प्रायः सँग उहाँको भेट भएको छ । बाल योगेशवर, रजनीश, शङ्कराचार्य लगायत अन्यसँग पनि भेट भएको छ । ओशो रजनीशसँग उहाँको तीन पटक भेट भयो । रजनीशको तडक भड्क ज्यादा लाग्यो उहाँलाई । उहाँले लगाएको औँठीकै साठी हजार भन्थे त्यो बेला । तर वाक्कला भने बेजोडको । कुनै पनि होइन भन्ने कुरालाई हो भनाउन सक्ने अद्वितीय कला । 

बाल योगेशवर नेपाल आएका बखत भर्खरका थिए । ०२८ सालको कुरो हुनुपर्छ यो । सामाखुसीमा थियो कार्यक्रम । गीतामा भनिएको भगवान् कृष्ण उहाँ नै हो भनेर उनका प्रचारकले भनेपछि उहाँ त्यस दिनदेखि फर्केर जानुभएन सामाखुसी ।

शंकराचार्यसँगको उठबस 

शङ्कराचार्यहरू भने मर्यादामा धेरै नै बस्ने लाग्यो उहाँलाई । सङ्गतका हिसाबले काँचीका शङ्कराचार्य जयन्द्र सरस्वतीसँग धेरै सङ्गत भयो । उहाँ त्यागी, सामाजिक र सरल पनि । सानो हुँदा उहाँलाई शङ्कराचार्य बनाइएछ । अलि बुझेन भएपछि म त शङ्कराचार्य बस्दिन भनेर उहाँ जङ्गलतिर लाग्नु भएछ । शङ्कराचार्य भइसकेपछि त्यसरी अनायास छोड्न नपाइने कारणले उहाँलाई फेरि खोजेर ल्याइएछ, उहाँ सम्झनुहुन्छ । 

उहाँ ०५३ सालमा नेपाल आउनु भएको थियो । शिष्टाचार टिममा उहाँ पनि हुनुहुन्थ्यो । 

०४४ सालमा विश्व हिन्दु परिषद्को सम्मेलनका क्रममा नेपाल आउँदा पनि उहाँ सबैभन्दा पहिले तिलगंगाको दलित समुदायको घरमा पसेर तिमीहरू पनि हिन्दु हौ भनेर उहाँले ठुलो उदारता देखाउनु भएको थियो । 

सम्मेलनमा दक्षिणका शङ्कराचार्य भने नआएर प्रतिनिधि पठाए जस्तो लाग्छ उहाँलाई । अरु ती नजना शङ्कराचार्यले भने सम्मेलनमा भाग लिनु भएको थियो । 

द्वारकाको शंकराचार्यलाइ उहाँ क्याम्पस प्रमुख हुँदा क्याम्पसमा स्वागत पनि गर्नुभयो । जगन्नाथ पुरीको शंकराचार्यसँग पनि भेट भयो उहाँको । विद्वतामा उहाँलाई कसैले पनि भेट्दैनथे । यात्राका क्रममा पनि रेलको डिब्बामा पुस्तक र लेखन सामग्री राखिदिनु पर्दथ्यो रे उहाँलाई, उहाँ भन्नुहुन्छ । 

राजादेखि नेतासम्मको अभिनन्दन पत्र 

उहाँले राजादेखि नेतासम्मको अभिनन्दन पत्र लेख्नुभएको छ । ०४८ सालमा भर्खर बहुदल आएर गणेशमानजीको सोलुमा अभिनन्दनका लागि उहाँले लेख्नुभएको अभिनन्दन पत्र शायद अहिलेसम्मकै ठुलो हो भन्ने उहाँलाई लाग्छ । त्यो यति ठुलो थियो कि हेलिकोप्टरमा सोलु लैजानका लागि बल्ल बल्ल अटाएको उहाँ स्मरण गर्नुहुन्छ । उहाँले अभिनन्दन पत्रका लागि अहिलेसम्म पैसा लिनु भएको छैन । तर उहाँले सुनेको गणेशमानजीको अभिनन्दन पत्र सार्नेले एक लाइनको ९ रुपैयाँ लिएको थियो रे !  

विभिन्न राजादेखि रामदेव लगायत सम्पूर्ण शंकराचार्यलाई दिइने अभिनन्दन पत्र उहाँले लेख्नुभएको हो । 

बडा गुरुज्यूका रुपमा दरबार प्रवेश

नायव बडा गुरुज्यू हुनु अघि पनि उहाँ विभिन्न कार्यमा दरबार नगएको होइन । तर, नायव बडा गुरुज्यू भएर दरबार प्रवेश गर्दाको अनुभवमा उहाँ भन्नुहुन्छ, गाउँमा हुर्के बढेको एउटा केटोले गाउँको दलितको छोरीको बिहेदेखि राजा ज्ञानेन्द्र शाहको छोरीको बिहेको भव्यतासम्म हेरियो । ज्ञानेन्द्र शाहको छोरीको बिहेमा नायव बडा गुरुज्यूको हैसियतमा उहाँ विवाह समारोहमा संलग्न हुनु भएको थियो । 

धर्ममा निर्णय 

धार्मिक संस्थामा संलग्न हुनु एउटा कुरो । नायव बडा गुरुज्यू भएपछि त धर्ममै पसेर निर्णय दिनुपर्ने भयो । यो भने जटिल काम थियो । राजाले सोधेका प्रश्नको शास्त्रसम्मत उत्तर दिनुपर्ने हुन्थ्यो । सामान्य पढ्नु र नेपाल अधिराज्यका लागि निर्णय दिनु भनेको साँच्चै चुनौतीपूर्ण काम थियो । अध्यात्ममा विश्वास राख्ने र भगवानका कृपाले होला कुनै त्यस्तो अप्ठेरो आइपरेन उहाँ भन्नुहुन्छ । 

पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष

मङ्गलराज जोशी अध्यक्ष रहुन्जेल उहाँको काम यसो कहिलेकाहीँ गएर आफूले देखेको कुरा भन्ने र सोधेमा राय दिने मात्र काम हुन्थ्यो । अफिस पनि थिएन । जोशीजीले घरमै बोलाउनुहुन्थ्यो । चैतसम्म पात्रो छापिएर आउनुपर्ने हुन्छ सामान्यतया । तर, जोशी फागुनमा बितेपछि भने समस्या पर्‍यो । काम जटिल भएको हुनाले सोधेर मात्र गर्नका लागि दुईचार जनाको सिफारिस उहाँले पनि गर्नुभयो सचिवलाई । कसलाई गर्ने कोही मान्दैन तपाईँ गर्न सक्नुहुन्छ भनेर सोधियो उहाँलाई । यो सोधाइले उहाँलाई खिज्याए जस्तो लाग्यो । गर्न त किन नसक्नु । यो हतारोमा बल्ल उहाँको नियुक्ति पत्र आयो त्यो पनि चैत १ गते । उहाँले यो जिम्मेवारी करिब १० वर्ष निर्वाह गर्नुभयो । 

पात्रोमा असनका नेवारहरूका लागि हाम्रो दसैँ तिहारको टिकाको भोलिपल्ट एउटा असन चालः भनेर उनीहरूका लागि छुट्टै तिथि लेखिएको हुन्छ । उनीहरू त्यो दिन व्यापार गरेर फुर्सद नपाउने हुँदा त्यो विशेष व्यवस्था गरिएको हो । पछि अरु नेवारहरूले पनि तिहारको टिकाको सन्दर्भमा त्यो विवाद झिके । घर घेर्ने र अगो लगाउनेसम्मको धम्की आयो । ल ठिक छ जे परेको सहन्छु भन्ने भयो उहाँलाई । पछि जातीय नेताहरू प्रतिनिधिमण्डल नै लिएर पनि आए । उनीहरूलाई सम्झाएर पठाइयो । 

११ महिनाको वर्ष

२०६५ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला ११ महिनाको वर्ष बनाउने भनेर निर्णय गरिएछ । तर, पञ्चाङ्ग समितिको अध्यक्ष उहाँलाई यस बारेमा केही जानकारी थिएन सरकारले सम्पूर्ण तालुकदार निकायलाई जानकारी सर्कुलर गर्‍यो तर, पञ्चाङ्ग निर्णायक समितिलाई भने आदेश दियो । चैत महिना लोप गरिदिने भएछ सरकारले । फागुन पछि एकै पटक वैशाख आउने पात्रो बनाउने भएछ सरकारले । त्यस बेलामा धर्मशास्त्रका, ज्योतिष शास्त्रका सबैले साथ दिए । छलफल गरे ।राष्ट्रपतिकहाँ ज्ञापन पत्र पनि बुझाए । तर सरकारी नियुक्ति भएकाले उहाँले भने अन्य साथीहरूलाई म काहीँ पनि जान्न भन्नु भयो । पछि सबैलाई बोलाएर छलफल गराएर यो हुन सक्दैन भनेर मनाएर निर्णय गराउनु भएछ उहाँले ।  त्यस बेला संस्कृति मन्त्री थिए गोपाल किराँती । उनले मार्नेसम्मको धम्की पनि दिए । लोभ पनि देखाए ।

उहाँले बाध्य भएर टेलिभिजनमा गएर आफ्नो नियुक्ति पत्र पनि देखाउनु भयो । नेपाल सरकारले मलाइ पाँच वर्षको नियुक्ति दिएको हो । यदि अहिलेको सरकारले हटाउँछ भने बाध्य भएर अदालत पनि जानुपर्ने हुन्छ भनेर भन्नु भयो टेलिभिजनमा ।

शायद त्यसको प्रभाव हो कि के हो उहाँलाई सरकारले हटाएनछ । पछि माओवादीका नेताहरू पनि आएका थिए । तपाईँहरू यस्तो कुरामा हात नहाल्नुस् । यस्तो निर्णय त हामीले गरे पो जनताले पत्याउँछन् त । सुधारका कुरा छन् भने त्यो गर्न हामी पनि तयार छौँ भनेर उहाँहरूलाई पनि सम्झाउनु भयो । त्यो बेला त्यस्तो निर्णय गराउन पक्कै सजिलो थिएन । किनकि त्यो नयाँ नेपालको बेला थियो, उहाँ विगत तिर लाग्नुभयो 

चिया, मिठाई पछि बिहे

बिहे ०३१ सालमा भएको हो उहाँको । मागी बिहे । २५ वर्षको हुनुहुन्थ्यो त्यस बेला । दाइहरूले जनकपुरमा असारमा खास गर्मी पनि हुँदैन । आँप खान पनि हुन्छ भनेर लग्नुभयो । हालको ससुराली घरमा चिया खान भनेर लग्नुभयो । चिया खाइयो । मिठाई पनि थियो । 

मिठाई पनि भएपछि भने अलि शङ्का पनि लाग्यो । चिया खाएपछि चिया लिएर आउने केटी कस्तो लाग्यो भनेर सोधियो । के भन्नु अब । बिलखबन्दमा पर्नु भयो उहाँ । 

उहाँ मधेसमा पनि बसिसकेको हुनाले कसैले केटी हेरेर छोड्यो भने त्यो केटीको बिहे नै हुँदैनथ्यो । त्यसैले उहाँको पनि बिहे हेरेकै भनौँ वा देखाइएको कन्यासँग नै भयो । 

उहाँका तीन सन्तान छन् । दुई छोरा । एक छोरी । दुबै छोरा हाल अमेरिकामा छन् । छोरी बिहेपछि आफ्नो घरमा हुनुहुन्छ । एक प्रकारले भन्नुपर्दा सन्तान सुख राम्रै छ, उहाँ भन्नुहुन्छ । 

भाग्य र कर्मको मेलो 

मान्छेले पुरै भाग्यको भरमा पनि बस्नु हुँदैन । कर्म पनि गर्नै पर्छ । कर्म मात्र गरेर भाग्यलाई बेवास्ता पनि गर्ने होइन । दुवैको संयोग नभएसम्म मान्छे सफल हुँदैन, उहाँ भन्नुहुन्छ । 
हामी पूर्वीय परम्परा र मान्यता भएका मान्छेहरूको पूर्व जन्मको प्रारब्धदेखि नै यो सबै जोडिँदै आउँछ । ग्रहको मात्रै कारण हो भने त जुम्ल्याहाको ग्रह नक्षत्र त उही हुन्छ सामान्यतया । तर, मानिस त उस्तै हुँदैन । 

प्रारब्धलाइ पनि मान्नु पर्‍यो । त्यसका लागि सङ्गत कस्तो छ पनि हेर्नु पर्‍यो । उसले वातावरण कस्तो पायो त्यो पनि हेर्नु प¥यो । यति भरसकेपछि प्राप्त उपलब्धिमा सन्तोष गर्नुपर्छ । सन्तोषको अर्थ पूर्णरुपेण चुप लागेर बस्ने होइन । र, अति महत्कांक्षा पनि होइन । 

पहाडको मध्यम स्तरबाट आएको एउटा केटो । भाग्य र कर्मले कहाँ कहाँ डोर्‍यायो उहाँ त्यतै डोरिनु भयो । पढेको साहित्य । रुचि दर्शन । तर, काम भने धर्म र ज्योतिषको । 

यसरी पहाडको एउटा मुखियाको छोरो प्रा.डा.माधव प्रसाद भट्टराई भाग्य र कर्मको खेलामा डोरिँदै डोरिँदै बन्न पुग्नुभयो नायव बडा गुरुज्यू ।