किन निस्के कर्णालीका सुरक्षा प्रमुखहरू दौडाहामा

किन निस्के कर्णालीका सुरक्षा प्रमुखहरू दौडाहामा

लोकसंवाद संवाददाता  |  समाचार  |  चैत्र ६, २०७५

कालिकोट । कर्णाली प्रदेशका सुरक्षा निकाय प्रमुखहरू जिल्ला–जिल्लाको सुरक्षा अवस्था बुझ्न दौडाहामा निस्किएका छन्  । उनीहरूले जिल्लास्थित आ–आफ्ना युनिटसँगै स्थानीय तहका प्रतिनिधिसँग भेटघाट र छलफल गरेका छन्  ।

नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी महेशविक्रम शाह, सशस्त्र प्रहरी बलका डीआईजी राजुराज सुवाल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश निर्देशक मधु कार्कीसहितको टोली अहिले सल्यान, रुकुम पश्चिम हुँदै जाजरकोट पुगेको छ । ‘स्थानीयस्तरमा शान्तिसुरक्षाको दायित्व सम्बन्धित स्थानीय सरकारको पनि हो,’ डीआईजी शाहले भने, ‘हामीले उहाँहरूसँग सुरक्षा अवस्था कसरी मजबुत गराउन सकिन्छ भनेर छलफल गरेका छौं ।’ कतिपय स्थानीय तहका जनप्रतिनिधिले चन्द समूहले चन्दा मागेको गुनासो गरे पनि बाहिर हल्ला भएजस्तो सुरक्षा चुनौती नदेखिएको उनले बताए ।

टोलीले सुरक्षा मामिलालाई नीति तथा कार्यक्रममै राखेर बजेट विनियोजन गर्न स्थानीय तहसँग आग्रह गरेको छ । चन्द समूहका गतिविधि निस्तेज पार्न स्थानीय सरकार सकारात्मक ढंगले अघि बढ्नुपर्ने सुझाएको छ । ‘शान्तिसुरक्षा कायम गर्न सबैको एकता जरुरी छ, स्थानीय तहको भूमिका अझ बढी महत्त्वपूर्ण छ,’ शाहले भने, ‘त्यसैले हामी सहकार्य र समन्वयका लागि जिल्ला आएका हौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।