काउन्टर डिस्कोर्सको रुपमा ‘फोकल्याण्ड जर्नल’

काउन्टर डिस्कोर्सको रुपमा ‘फोकल्याण्ड जर्नल’

सुरेश हाचेकाली  |  साहित्य  |  श्रावण १०, २०७७

बेलायतीहरूको साम्राज्य विस्तारको अभियानबाट परोक्ष रुपले नेपाल पनि अछुतो रहेन । भौगोलिक रुपमै नेपाल शासित र अतिक्रमित नभए पनि नेपालका शासकहरूले अंग्रेजहरूको चाकडी स्वरुप नेपालका युवाहरू विशेष गरी मङ्गोलियन युवाहरूलाई ब्रिटिस सेनामा भर्ती गराएर साम्राज्यवादी परियोजना अन्तर्गत संसारका विभिन्न ठाउँमा भएका त्रासद युद्धहरूमा होम्ने वातावरण सृजना गरे । यसै क्रममा पूर्वी पहाडको खोटाङ जिल्लामा जन्मनु भएका गणेश राई पनि बेलायती सेनामा भर्ती भएर सन् १९८२ मा फोकल्याण्डमा युद्ध लड्न पुग्नु भयाे । ल्याटिन अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपेली राष्ट्र बेलायतका बीचमा फोकल्याण्ड युद्ध चलेको थियो । 

जम्मा ७४ दिन चलेको लडाईंमा ब्रिटिस गोर्खा सैनिकले बहादुरी र इमान्दारितापूर्वक युद्धका स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूलाई हु–बहु अवलम्वन गर्दै अर्जेन्टिनी सेनालाई पराजित गर्न महत्वपूर्ण भूमिका खेल्यो । जुन सत्यलाई बेलायती सरकार र जनताले अहिलेसम्म पनि आत्मसात गरिआएका छन् । अर्कोतिर युद्धको समाप्तिपछि गोर्खा सैनिकका विषयमा अतिरञ्जित र कतिपय मनगढन्ते समाचार मात्र आएनन् कि चेतनप्रवाह शैली र जादूमय यथार्थ शैलीका विश्वविद्ययात लेखक माक्र्वेजले समेत ब्रिटिस गोर्खा सैनिकका बारेमा अपमानजनक र तथ्यबिरोधी कुरो लेखेको पृष्ठभूमिमा लेखक गणेश राईले फोकल्याण्ड जर्नल (२०१७) पुस्तक लेख्नु भएकाे छ ।  पक्षपातपूर्ण र पूर्वाग्रहयुक्त डिस्कोर्सलाई प्रतिवाद गर्नका लागि काउन्टर डिस्कोर्सको रुपमा यो पुस्तक आएको छ । 

गोर्खालीहरू मात्र युद्ध लड्न बहादुर हैनन् । उनीहरूभित्र भावना र बुद्धि पनि छ भन्ने कुरोलाई उनले पुस्तकमा बलियोसँग उठान गरेका छन् । हिजो बहादुरको छविले चिनिने तथा चिनाइने एक गोर्खा सैनिक आज आफ्नो छविको गलत प्रतिनिधित्वलाई पूनर्लेखनको रणनीतिमार्फत् पुर्नवयनख्या गरिरहेको अवस्था साँच्चिकै रोचक र गौरवमय छ । आशा एवं प्रतिक्षा गरौं यो ‘काउण्टर डिस्कोर्स’ अङ्ग्रेजी लगायत अन्य विदेशी भाषामा प्रकाशित हुदै गएर विश्वमानवता सामु नेपालीहरूको नयाँ पहिचान स्थापित हुँदै जानेछ । 

करिब २०/२१ वर्षको कलिलो अविवाहित उमेरमै फोकल्याण्ड युद्धको चपेटामा पर्नु भएका गणेश राईले वि.सं. २०७४ मा प्रकाशित यो पुस्तकमा दैनन्दिनका घटनाको रुपमा विषयवस्तुलाई रोचक तरिकाले प्रस्तुत गर्नु भएकाे छ । सुरुमा ग्वाटेमाला र बेलिजबीचको सीमानिगरानीमा खटिनु भएका  उहाँ आफ्नो पल्टनसहित फोकल्याण्ड युद्धमा  उहाँलाई पठाइन्छ । युद्ध मैदानको अग्रिम मोर्चामा संलग्न उहाँले मृत्युलाई एकदमै नजिकबाट साक्षात्कार गरेका केही भयानक क्षणहरूको चित्रण गर्नु भएकाे छ ।  

युद्ध साहित्यको दार्शनिक रुपरेखा सहित बेलायती डायस्पोराबाट नेपाली भाषा साहित्यको सेवा गरिरहनु भएका गणेश राईको फोकल्याण्ड जर्नललाई पनि युद्ध साहित्यकै एक होनहार कृति मान्न सकिन्छ । हुन त यस अघि नै उहाँका युद्ध साहित्यसँग सम्वन्धित एउटा कविता सङ्ग्रह र तीनवटा उपन्यास प्रकाशित भइसकेका छन् । 

डायरीको फर्म्याटमा लेखिएको यो पुस्तकमा लेखकले मात्र युद्ध, रक्तपात र त्यसका बिभत्स पहेलीहरूको वर्णन गर्नु भएको छैन । उहाँले प्रेम, यौनकुण्ठा, दाम्पत्य जीवनको मीठो कल्पना, दुर्गम गाउँमा रहेको आफ्नो परिवार, बाल्यकालमै भोग्नुपरेको मातृवियोगको पीडा, डिस्कोमा बिताएका रोमाञ्चकारी क्षण, नोकरीमा बरिष्ठले कनिष्ठलाई गर्ने अवहेलना, युद्धविजेताको रुपमा छातीमा मेडल लगाएर लण्डन सहरको सडकमा ‘मार्चपास्ट’ गर्दाको गर्ववोध जस्ता विषयवस्तु पनि समेटनु भएकाे छ । 

 अझै महत्वपूर्ण कुरो, युद्धमा अकाल मारिएका सैनिकका बारेमा उनको भावुकता धेरै ठाउँमा पोखिएको छ, चाहे त्यो सैनिक दुष्मन पक्षकै किन नहोस् । उहाँले फोकल्याण्ड युद्धलाई उपनिवेश बिस्तारकै एक प्रकृयाको रुपमा चित्रण  गर्नु भएको छ । फोकल्याण्डबासीहरूले ब्रिटिस गोर्खा सैनिकमाथि देखाएको न्यानो माया तथा बेलायती जनताहरूले उनीहरूको साम्राज्यवादी अहम्लाई उँचो राखिदिए वापत गोर्खा पल्टनलाई प्रकट गरेको असीम श्रद्धालाई पनि लेखकले प्रशस्त स्थान दिनु भएको छ ।

बेलायती मूलका मानिसहरू बसोबास गर्दै आएको फोकल्याण्डमा अर्जेन्टिनी शासक लियोपोल्डो ग्याल्टेरीले कब्जा गर्ने नियत सहित आक्रमण गरेपछि जल, स्थल तथा हवाइ तीनै तहमा युद्ध चर्केको कुरा लेखकले उल्लेख गर्नु भएकाे छ ।  १५ घण्टाको रात र नौ घण्टाको दिन हुने फोकल्याण्डको प्रतिकूल मौसममा कैयौं पटक युद्ध विभिषिकाभित्र आफ्नो ज्यान माया मारेको घटनाहरू उहाँले चित्रण गर्नु भएको छ ।  एक्काइस दिन एक्काइस रात पानीजहाजबाट समुद्रयात्रा गरेपछि मात्र फोकल्याण्ड पुगेको कुरा लेखकले आफ्नो पिताजीलाई लेखेको  चिठीमा उल्लेख गर्नु भएको छ ।  

बेलायतबाट आठ हजार माइल टाढा रहेको फोकल्याण्ड टापुमाथि ब्रिटिस गोर्खासहितको बेलायती सेनाले शत्रुलाई हराएर आफ्नो अधिकार स्थापित गरेको कुरोलाई लेखक गणेश राईले सरल र बोधगम्य भाषामा व्यक्त गर्नु भएकाे छ । सैनिक पेशाभित्रका कतिपय पारिभाषिक शब्दावलीहरू भने सामान्य पाठकका निम्ति जटिल लाग्दछन् । 

फोकल्याण्ड युद्धको क्रममा एकातिर बेलायतले गोर्खा सैनिकको शाहसी छविलाई अन्यायोचित तरिकाले ‘क्यास’ गरेको थियो भने अर्कोतर्फ युद्धपश्चात पराजित पक्षले गोर्खा पल्टनको बारेमा अनर्गल, झुटो र कपोलकल्पित कुराहरू बोलेको र लेखेको सन्दर्भमा ती गलत सङ्कथनहरूलाई प्रतिवाद गर्नका निम्ति लेखकले यो पुस्तक लेख्नु भएको हो ।  आफैं सहभागी भएको युद्धको बारेमा आफ्ना अनुभूती र आपैंmले भोगेका तथ्यहरूको प्रस्तुतिले पुस्तकलाई विश्वसनीय र वजनदार बनाएको छ ।

गोर्खालीहरू मात्र युद्ध लड्न बहादुर हैनन् । उनीहरूभित्र भावना र बुद्धि पनि छ भन्ने कुरोलाई उनले पुस्तकमा बलियोसँग उठान गरेका छन् । हिजो बहादुरको छविले चिनिने तथा चिनाइने एक गोर्खा सैनिक आज आफ्नो छविको गलत प्रतिनिधित्वलाई पूनर्लेखनको रणनीतिमार्फत् पुर्नवयनख्या गरिरहेको अवस्था साँच्चिकै रोचक र गौरवमय छ । आशा एवं प्रतिक्षा गरौं यो ‘काउण्टर डिस्कोर्स’ अङ्ग्रेजी लगायत अन्य विदेशी भाषामा प्रकाशित हुदै गएर विश्वमानवता सामु नेपालीहरूको नयाँ पहिचान स्थापित हुँदै जानेछ । 


                                                                                                                                                                                                        दधिकोट, भक्तपुर