रिब्दुङमा निर्माण शुरु गरिएको किराँत सङ्ग्रहालयको काम तीव्र

रिब्दुङमा निर्माण शुरु गरिएको किराँत सङ्ग्रहालयको काम तीव्र

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण ११, २०७७

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित रिब्दुङमा निर्माण शुरु गरिएको किरात सङ्ग्रहालयको पहिलो तला ढलान गरिएको छ । किरात जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषवूषा, गरगहनालगायतका बहुमूल्य सम्पदालाई सङ्कलन गर्दै संरक्षण गर्ने लक्ष्यकासाथ निर्माण शुरु गरिएको सङ्ग्रहालयको काम तीव्रगतिमा अघि बढाइएको हो । 

आर्थिक वर्ष २०७६/७७ मा ऐसेलुखर्क गाउँपालिकाले विनियोजन गरेको १५ लाख रुपैयाँ र सांसद विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १० लाख रुपैयाँमा पहिलो तला ढलान गरिएको निर्माण उपभोक्ता समितिका संयोजक खुक्सङ खम्बुले बताउनुभयो । 'तत्कालीन गाविस, वडा तथा गाउँपालिकाको कार्यालयलगायत चन्दादाताबाट सङ्कलन गरिएको रकममध्ये ५० लाख रुपैयाँको हाराहारीमा खर्च भइसकेको छ', उहाँले भन्नुभयो, 'सङ्ग्रहालयको भवन निर्माणदेखि सामग्री राख्ने दराज र आल्मारी निर्माण, सङ्ग्रहालयमा राख्ने सामानको खरिद तथा नयाँ सामान निर्माणलगायतका कामका लागि देश तथा विदेशबाट सहयोग रकम जुट्नेक्रम जारी रहेको छ ।'

ऐतिहासिक सङ्ग्राहलय निर्माणका लागि विभिन्न ठाउँमा रहनुभएका व्यक्तिबाट समेत रु १७ लाख सहयोग प्राप्त भएको जनाइएको छ । किरात समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीका स्थानीय बासिन्दाले अनुदान तथा चन्दा उठाएरै विसं २०७४ देखि धिनडाँडास्थित ज्योति प्रावि नजिक चुच्चोडाँडामा तीनतले पक्की सङ्ग्रहालय निर्माण शुरु गरेका थिए । 

किरात अध्ययन केन्द्रका रूपमा स्थापित गर्दै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्‍याउने गरी १० किरातको प्रतीकस्वरुप ‘दश भुजा र दश कोण’ भएको सङ्ग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक खम्बुले बताउनुभयो । हजारौँ वर्ष पुरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित सङ्ग्रहालय कम भएका कारण किरात राई यायोक्खा रिब्दुङ महेश्वरीको पहलमा किरात सङ्ग्रहालय निर्माण शुरु गरिएको हो ।

भवनको भुइँ तलामा सामूहिक चुलो घर तथा माथिल्लो तलालाई सङ्ग्रहालय बनाउने निर्माण समितिको तयारी छ । सङ्ग्रहालयमा राई, लिम्बू, सुनुवार, याख्खालगायतका जातिसँग सम्बन्धित तान, ढिकी, जाँतो, धनुष बाण, गुलेली, ढ्याङ्ग्रो, भाला, हँसिया, चर्खा, डालो, थुन्से, कठुवा, हलो, जुवा, ढाकी, घडी लठ्ठी, ढाकर, घैँला, छपनी, ओख्ली, धिब्री, लोटा, फोसी, रासी, साँचो, भोटे ताल्चा, काठको आरी, भुने, काठको डाडुलगातका मौलिक गरगहना, कला, सीप, साहित्य झल्काउने बहुमूल्य सामग्रीलाई सङ्कलन गरेर सजाएर राख्ने तयारी गरिएको छ । 

वास्तुकलाले सजाइने सङ्ग्रहालयको गजुर चिण्डोको बनाइने संयोजक खम्बुले बताउनुभएको छ । सङ्ग्रहालय निर्माणका लागि स्थानीय शम्सेरजङ्ग राई, मानबहादुर राई र पूर्णबहादुर राईले आठ रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । निर्माणाधीन सङ्ग्रहालयका लागि करिब ५० रोपनी जग्गा जुटाउने तयारी गरिएको समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनमा सघाउन पुर्‍याउने उद्देश्यले निर्माण शुरु गरिएको सङ्ग्रहालय आसपास विभिन्न संरचनासमेत निर्माण गरिने जनाइएको छ । 

दश स्थानीय तह रहेको जिल्लाका अन्य विभिन्न ठाउँमासमेत सङ्ग्रहालय निर्माणको काम शुरु गरिएको छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा किरात, मगर, तामाङ, शेर्पालगायत विभिन्न जातजातिको जातीय सङ्ग्रहालय निर्माण गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । 

यसैबीच, खोटाङका प्रजातान्त्रिक योद्धा स्व सर्वधन राईको स्मृतिमा बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको छ । जहानिय राणा शासन र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सङ्घर्ष गरेका प्रजातान्त्रिक योद्धाको स्मृतिमा उहाँकै जन्मस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित सेरामा बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको हो । 

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारबाट विनियोजन भएको ३० लाख रुपैयाँ बाट बृहत सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि पर्खाल हाल्ने, घेराबारा हाल्नेलगायतका प्रारम्भिक चरणका काम थालिएको छ । करिब १२ रोपनी क्षेत्रफलभित्र निर्माण गरिने बृहत सांस्कृतिक सङ्ग्रहालयका लागि प्रदेश सरकारबाटै आर्थिक वर्ष २०७७/७८ पनि रु ४५ लाख बजेट विनियोजन भएको प्रतिष्ठानले जनाएको छ । 

केदार मगर/ रासस