होलीको धार्मिक र सामाजिक महत्व

होलीको धार्मिक र सामाजिक महत्व

आशिष पौडेल  |  दृष्टिकोण  |  चैत्र ६, २०७५


वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि फागु पर्व सुरु भएको मानिन्छ । यो होली पर्वका रूपमा पनि प्रख्यात छ । 

हनुमानढोका दरवारको गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याएपछि मुलुकभर होली पर्व सुरु हुने गर्छ । 

भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयलको रुखको हाँगालाई फागुन शुक्ल अष्टमीमा विशेष पूजा गरी ठड्याउने गरिन्छ । 

रंगीचंगी कपडा झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै एक आपसमा अबिर दलेर हर्ष र उल्लासका साथ होली खेलिन्छ । तत्पश्चात होली प्रारम्भ भएको मानिन्छ । 

चीरबीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजा गरिने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहँदै आएको छ ।

सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गरिन्छ । 

असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ प्रतीकात्मक रूपमा चीर उठाउने र एक सातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडिखेलमा लगी दहन गर्ने परम्परा  छ । 

चीरबीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्ति स्वस्ति र क्षमा पूजा गरिने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहँदै आएको छ । 

उक्त अवसरमा हनुमानढोका दरवार परिसर तथा हनुमानढोका दरवारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीविरंगी कपडाका टुक्रा झुन्ड्याइएको मयलको रुखको हाँगा गाढेर पूजा पनि गरिने चलन छ । 

मोहनकाली चोकमा काठद्वारा निर्मित, हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपीका मूर्ति सजाई अबिर छर्केर पूजा गरिने परम्परा छ ।

किंवदन्तीका अनुसार सत्य युगमा विष्णुका परमभक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न प्रपञ्च रच्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले भक्त प्रल्हादलाई मार्नका लागि आगोबाट नजल्ने, नमर्ने वरदान पाएकी होलिकाको काखमा राखेर आगोमा बस्न लगाउँदासमेत आगोले भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको मानिन्छ । 

यसै उपलक्ष्यमा होलीको अघिल्लो दिन हिरण्यकश्यपुको बहिनी होलिकाको पुत्ला बनाई दहन गरी मनाउने गरिएको पर्वका रूपमा पनि होलीलाई लिइन्छ ।  

असत्यमाथि सत्यको विजय अर्थात् होलिका जस्तो आसुरी प्रवृत्तिको नाश गर्ने पर्वका रूपमा होलीकाको नामसँगै जोडिएर यसलाई होली पर्व भन्ने गरिएको हो । 

अर्को एक प्रसंग अनुसार भने द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी सेनाको पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले पुतनाको शवलाई

ब्रजवासीले यसै दिन जलाएर आपसमा रंग र अबिर छरी खुसियाली मनाएकोले त्यसैका सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा रही आएको भनाइ छ ।

इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । उनीहरूका अनुसार यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकमा पाइन्छ, नारद पुराण र भविष्य पुराण जस्तो प्राचीन हस्तलिपी र ग्रन्थमा पनि यस पर्वको उल्लेख भएको पाइन्छ । 

भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानमा रहेको ईसा भन्दा ३०० वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । 

होली नेपाली तथा भारतीय अर्थात् हिन्दूहरूको प्रमुख चाडमध्येको एक मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ । 
यसलाई नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूको एउटा महत्वपूर्ण चाडको रूपमा लिने गरिन्छ । 

होलीको दिनभन्दा अघिल्लो राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि भोलिपल्ट होली खेल्ने परम्परा छ । 

होली रंगहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कालाई पानी छ्याप्ने तथा विभिन्न प्रकारका रंग दलेर मनाउने गर्छन् ।

स–साना नानीदेखि युवायुवती तथा वृद्धवृद्धासम्म सबैले होलीमा भरपुर मनोरञ्जन गर्ने  गर्छन् ।  भनिन्छ– होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासत मिल्ने भएका कारण पनि यसको ठूलो महत्व छ । वैरभाव अन्त्य गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा पनि लिने गरिन्छ होलीलाई । 

यो पर्व फागुनमा मनाउने भएकाले ‘फगुआ’ पनि भनिन्छ । 

घरपरिवार, साथीभाई आपसमा रंगमा रंगिएर उल्लासपूर्वक मनाउने फागु पूर्णिमालाई पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढका हूल हातमा रंग र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसिइबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा पनि लिइन्छ । 

फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार अगाडि चीर गाडेपछि होली सुरू भएको मानिने फागु पर्व, पूर्णिमाको राती उक्त चीर (लिंगोे) ढालेर जलाएपछि सम्पन्न हुन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ भएको मानिन्छ । 

टुँडिखेलमा दाह गर्नुअघि चीरको अन्तिम दर्शन तथा पूजा गर्न मारवाडी समुदायका श्रद्धालुहरूको निकै घुइँचो लाग्ने गर्छ । चीर दाहपछि त्यसको खरानी प्रसादका रूपमा घरमा लैजाने चलन समेत छ ।

रंगले हाम्रो मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । 

नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ । 

लोकहितका लागि विषपान गरेको हुनाले महादेव नीलकण्ठका रूपमा समेत परिचित छन् । 

पहेलो रंग विष्णु र श्रीकृष्णको प्रिय रहेको पुराणमा वर्णित छ । 

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन् । 

अधिकांशलाई मन पर्ने रंग हो, रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । 

रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रंग मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् । 

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । उनीहरू झै–झगडा मन पराउँदैनन् । यो रंग मन पराउने मानिसको आत्मविश्वास अलि कम हुने ठानिन्छ । 

पहेंलो यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । 

कतिपय समुदायमा रातो अबिर र पहेँलो केशरी दलेर होली खेल्ने परम्परा छ । यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि रहेको मानिन्छ । मनोविज्ञका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न मन पराउने हुन्छन् । 

नीलो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । 
उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविद् बताउँछन् । 

होलीमा कालो रंगको पनि व्यापक प्रयोग भएको पाइन्छ । यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् । 

सेतो धेरैले मन पराउने रंग हो । यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।

काठमाडौंमा फागुन शुक्ल पूर्णिमामा होली मनाउने गरिए पनि तराईका विभिन्न जिल्लामा भोलिपल्ट होली मनाउने गरिन्छ । यसको धार्मिक आस्था तथा महत्वका कारण होलीका दिन सार्वजनिक बिदा समेत दिने प्रचलन छ ।