न्युजिल्याण्ड हत्याकाण्ड: एक दिनअघि नै सार्वजनिक गरिएको थियो योजना

न्युजिल्याण्ड हत्याकाण्ड: एक दिनअघि नै सार्वजनिक गरिएको थियो योजना

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  चैत्र ६, २०७५

गत शुक्रबार न्युजिल्याण्डमा ५० भन्दा बढी व्यक्ति एक जनाले हानेको गोलीबाट एक चिहान बन्न पुगे । बन्दुकधारीले यस हत्याकाण्डको फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए । 

ब्रेण्टन टैरण्ट नामक यो आक्रमणकारीले आफूले गरेको हत्याकाण्डलाई ‘उचित पाइला’ भन्दै फेसबुकमा ८५ पृष्ठ लामो पोस्ट पनि गरेका छन् ।  

ब्रेण्टनले आफूले २२ जुलाई २०११ मा नर्वेको राजधानी ओस्लोमा भएको हत्याकाण्डका कुख्यात नाइके एण्डर्स बेहरिंग ब्रिबिकसँग सम्पर्क गरेको तथ्य पनि आफ्नो पोस्टमा सार्वजनिक गरेका छन् । 
बेहरिंग ब्रिबिकले जुलाई सन् २०११ मा नर्वेको राजधानी ओस्लोमा एउटा बम विस्फोट गरी आठ जना व्यक्तिको हत्या गरेका थिए । यस हत्याकाण्डपछि ब्रिबिकले वामपन्थी लेवर पार्टीद्वारा सञ्चालित एउटा क्याम्पसमा पसी ६९ जनाको हत्या गरेका थिए । ब्रिबिकलाई २१ वर्षको कैद सजाय भयो । 

न्युजिल्याण्डको भर्खरैको हत्याकाण्डका नाइके ब्रेण्टनले यस हत्याकाण्डको एक दिन पहिला बिहीबार नै आफ्नो योजना फेसबुकमार्फत् सार्वजनिक गरेका थिए । उनले आफूले गर्ने यस हत्याकाण्डको प्रत्यक्ष प्रसारण गर्ने वाचा गर्नुका साथै भनेका थिए, ‘यस कोडमा म पनि मर्नसक्छु, सबैलाई अलबिदा ।’ 

उनले यसको लिंक ट्विटरका साथै अनलाइन प्लेटफर्म ‘एट चेन’मा पनि सेयर गरेका थिए । दुर्भाग्यले उनले मच्चाएको हत्याकाण्डको भिडियो मैले पनि हेरे । झण्डै १६ मिनेट लामो यस भिडियोमा एक पटक उनको अनुहार देखिएको थियो । 

मसँग यस घटनाको निन्दा, विरोध, भत्र्सना, आलोचना टिप्पणी गर्ने कुनै शब्द छैनन् । बरु, आफ्नो र तपाईंहरूको मनोदशा परिवर्तन गर्ने प्रयासमा केही अरु लेख्ने चेष्टा गर्छु । 

माथिको चित्र हेर्नुस् । के तपाईं स्वीकार गर्नुहुन्छ, हाम्रो वास्तविकता यही हो । 

सय वर्षदेखि हामी पृथ्वीजस्तो जीवन सम्पन्न ग्रहको खोजी गरिरहेका छौं । परग्रही (एलिएन) सभ्यताबारे हामी सबैमा कतिको उत्कण्ठा छ ! हामी जान्न चाहन्छौं– ब्रहमाण्डमा हामीजस्तो मानिस अन्यत्र पनि कहीँ छन् । यसका लागि बर्सेनि अर्बौ डलर खर्च भइरहेको छ । अन्तरिक्ष, बुध ग्रह शुव्रm ग्रह, चन्द्रमा (मानिस पुगिसकेको) मंगल ग्रह । वृहस्पति, शनि, अरूण, बरूण, यम ग्रहको अनुसन्धानमा हामीले यान पठाइसकेका छौं । मानिसले पृथ्वीजस्तो अन्य कुनै जीवन्त ग्रहको खोजीमा यसले एकापट्टि अर्को डलर खर्च गरिरहेको छ भने आफू बसोबास गर्ने पृथ्वीको नाश गर्न खर्बौ डलर खर्च गरिरहेको छ । 

यस प्रसंगमा अन्य सबै यावत्का कुरालाई छाडेर आणविक बमको कुरा मात्र गरौं । तपाईंलाई थाहै होला, ‘सम्पूर्ण पृथ्वीको अधिकांश जीवन समाप्त गर्न सय डेढ सय बम पर्याप्त 
छन् । केका लागि बम बनाएको ? यो प्रश्न अमेरिका र रुसलाई कसैले सोधेको छ । 

यी दुईवटा देशसँग मात्रै झण्डै १३ हजार ३ सय ५० आणविक बम रहेका छन् । उत्तर कोरियासँग १०–२०, इजरायलसँग ८०, भारतसँग १२०–१३०, पाकिस्तानसँग १३०–१४०, बेलायतसँग २१५, चीनसँग २७०, फ्रान्ससँग ३००, अमेरिकासँग ६५५० र रुससँग ६८०० आणविक बम छन् । 

सबै देशले यी बम आफ्नो सुरक्षाका लागि बनाएका हुन् । सुरक्षा कोसँग ? आफैजस्तो अन्य पृथ्वीवासीसँग ! वाह ! बुद्धिमान मानिस ! आफैजस्तो पृथ्वीवासी मानिससँग आफ्नो सुरक्षाका लागी सम्पूर्ण पृथ्वीलाई नष्ट गर्ने सक्ने ‘रिमोट’ हातमा राखेर ‘अलर्ट’ हुनु यदि बुद्धिमानको कमी हो भने क्षमा गर्नुस् म यस्तो बुद्धिमानलाई आजकै मितिदेखि परित्याग गरी आदिम युगमै फर्किन तयार छु । 
खर्बौं लगानी पृथ्वीलाई ध्वस्त बनाउन र सँगसँगै अर्बौंको लगानी पृथ्वीजस्तो ग्रहको खोजी गर्न साच्चै मानिस जस्तो बुद्धिमान प्राणीले मात्रै गर्न सक्छ !