म्याग्दीको पहिरो पीडित परिवारको बिचल्ली

म्याग्दीको  पहिरो पीडित परिवारको बिचल्ली

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १२, २०७७

म्याग्दी । धवलागिरी गाउँपालिका–६ नामरुककी सबिना बिक सुत्केरी भएको सोमबार २३ दिन पुगेको छ । घरवरिपरी पहिरोले घेरेपछि राम्चेस्थित दलित उत्थान सङ्घको भवनमा उहाँ बस्न थालेको १५ दिन भयो । असार २६ गते बिहान साढे सात बजेतिर पकाएको खाना छोडेर भागेकी सबिनाले घर फर्किएर बस्न सक्ने अवस्था नभएको बताउनुभयो ।  

'खाना खान बसेको बेला आङ्गन मुनिको उत्तिसको रुख ढल्यो, करेसाको उपल्लो गहासम्म पहिरो आएपछि मैले ठुली छोरी र छोरालाई समाते, श्रीमान्ले सानो छोरी समाएर भाग्यौ,' उहाँले भन्नुभयो 'दुई घण्टा टाढाको गोठमा अमिलो मोही र सातुको भरमा डेढ दिन कटायाैँ । पहिरो रोकिएपछि युवा क्लवले यहाँ ल्याएर राख्नुभयो ।'

सबिनाका परिवारमा ७ जना छन् । उहाँका श्रीमान् सन्देशले आफन्तलाई खाट मागेको र पानी नपरेको अवस्थामा घरमा गएर खानेकुरा ल्याएर खुवाउने गरेको बताउनुभयो । 'पानी पर्‍यो भने पहिरो खसिहाल्छ, घर जान सकिँदैन,' उहाँले भन्नुभयोे 'पालेको कुखुरा, साँचेको चामल, दाल पनि सकियो । करेसाको तरकारी पहिरोले पुरेको छ । आमालाई पोषिला खानेकुरा नभएर दूधले नअघाएर बच्चा रोयको रोर्‍यै गर्न थालेको छ ।'

दुई महिनाअघि सुत्केरी भएकी हरिमाया बिक र ३ महिना अघि सुत्केरी भएकी गिरु बिक पनि पहिरोले घरमा बस्न जोखिम बनाएपछि सबिनासँगै दलित उत्थान सङ्घको भवनमा बस्नुभएको छ । पोषिला खानेकुरा खाएर आराम गर्नुपर्ने उनीहरु बिहान बेलुकी दाल, भात खाएर कष्टकर दिन बिताउन बाध्य छन् ।

'पहिराले घर कतिबेला पुर्छ भन्ने थाहा छैन । त्यही भएर सङ्घको भवनमा आएर बसेको हुँ,' हरिमायाले भन्नुभयो 'पानी र चिसोले आमा छोरानै पखला लागेर बिरामी भएका छौं ।' राम्चेको सामुदायिक भवन र सडकमा बनाएको टहरामा १६ परिवार बसेका स्थानीय प्रेम लामगाडेले बताउनुभयो । 

पहिरोको डरले राती सुत्नका लागि गाउँभरिका सबै जना टहरा र राम्चे सामुदायिक भवनमा आउँछन् । पहिरो पिडित बस्नका लागि बनाइएको ठाउँमा शौचालय र खानेपानीको सुबिधा छैन् । 'खाद्यान्न, कपडा, त्रिपाल, म्याट्रेस, सुरक्षित खानेपानी र सरसफाई सामग्रीको अभाव हुँदा महामारी फैलिने डर छ', उहाँले भन्नुभयो 'सडकमा त्रिपाल टागेर बनाएको टहरामा नल ओछ्याएर सुतेका छौं । भुईको चिसोले निद्रा नै पर्दैन् ।' 

पहिरोले उठिबास लगाएपछि मराङका बासिन्दाको जनजिवन कष्टकर बनेको छ । १५ दिनसम्म पनि पर्याप्त राहत सामग्री पुग्न र घरबास गुमाएकाको व्यवस्थापन हुन सकेको छैन । रिख, घण्टीवाङ र कुम्रिका पहिरो पीडितलाई आरवाङको जनविकास आधारभूत विद्यालयको भवनमा राखिएको छ । कल्लेनीका करिब २५ घरपरिवारलाई छिमेकी ७ नम्बर वडामा पर्ने शिवाङको हेम माविमा राखिएको छ । गाउँमा कोही नभएको समयमा घरमा राखिएका नगद, कपडा र खाद्यान्न चोरी हुन थालेको कल्लेनीका रत्नप्रसाद पुनले बताउनुभयो । 

ठूलोगाउँ र खक्सीमा पहिरोको जोखिममा रहेका घरका बासिन्दा आफन्तकहाँ सुत्ने गरेको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । ‘बुलबाहेक वडाका सबै बस्ति पहिरोले प्रभावित भएका छन्', उहाँले भन्नुभयो, 'बर्खा अझै बाँकी छ । कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।' मराङका १९ जनाले पहिरोमा ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए । दुई जना अझै वेपत्ता छन् । जिल्ला प्रशासनको तथ्याङ्कमा मराङमा पहिरोले ७२ घरमा पूर्ण क्षति भएको उल्लेख छ । नेपाल रेडक्रस सोसाइटीको म्याग्दी शाखाका अनुसार १७ घर भत्किएको र १५ घरमा आंशिक क्षति तथा ७८ घर उच्च जोखिममा छन् ।

समन्वयको अभावमा निकाय पिच्छे फरक–फरक तथ्याङ्क हुँदा पीडितको पहिचान, वर्गीकरण गरि सरकारले घोषणा गरेको राहत उपलब्ध गराउन अलमल र ढिलाई भएको छ । परिवारका चार जना सदस्य गुमाएकी चनमति लामगाडेले गाउँपालिकाले दिएको दश हजार रुपैयाँ किरियाखर्च बाहेक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको राहत नपाएको गुनसो गर्नुभयो ।  भौगोलिक बिकटता, घोरेटोबाटो, झोलुङ्गे पुल समेत बगाएको, दाताले हेलिकप्टरबाट ल्याएको राहत ठूलो सङ्ख्याका पीडितका लागि पर्याप्त नभएको कार्यपालिकाका सदस्य तिलकुमारी केसीले बताउनुभयो ।  

'जताततै पहिरै पहिरो गएर थुनिएका छौं, अभावै अभाव छ, समस्या नै समस्या छ', उहाँले भन्नुभयो, 'पहिरो पीडितको सुरक्षित व्यवस्थापन गर्न नसकेर हामीहरुलाई पीडा भएको छ ।' सडक अवरुद्ध र भौगोलिक विकटताको बाहनामा स्थानीय प्रशासन, प्रदेश र सङ्घीय जनप्रतिनिधि तथा सुरक्षा निकायले उदाशिनता देखाएको पहिरो पीडितको गुनासो छ । 

दाताले दिएको राहत सामग्री पनि सदरमुकाम बेनीमै थुप्रिएको छ । पहिरोले अवरुद्ध सडक, घोरेटोबाटो, विद्युत, सञ्चार र खानेपानी सुचारु गराउन र राहत उपलब्ध गराउन सङ्घीय र प्रदेश सरकार तथा स्थानीय प्रहरी प्रशासनबाट सहयोगको अपेक्षा राखेको वडा अध्यक्ष सुवेदीले बताउनुभयो । 

सन्तोष गौतम / रासस