तीन स्थानीय तहले मात्र उठाए लक्ष्यानुसार राजश्व

तीन स्थानीय तहले मात्र उठाए लक्ष्यानुसार राजश्व

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १२, २०७७

रुकुमपश्चिम । गत आर्थिक वर्ष २०७६/७७ मा रुकुमपश्चिमका आधामात्र स्थानीय तहले राजश्वको लक्ष्य पूरा गरेका छन् । जिल्लामा जम्मा छवटा स्थानीय तह रहेकामा तीनवटा स्थानीय तहमात्र राजश्वको लक्ष्य पूरा गर्न सफल भएका हुन् । स्थानीय तह स्थापना भएको शुरुका वर्षदेखि नै लक्ष्यानुसारको राजश्व सङ्कलन गरिरहेको आठबीसकोट नगरपालिकाले बितेको आवमा पनि लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । नगरपालिकाले बितेको वर्ष तीन करोड ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा तीन करोड ६८ लाख ४९ हजार पाँच सय ६८ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

शुरुका वर्षदेखि नै राजश्व सङ्कलनलाई कडाइका साथ लिएको र बर्सेनी राजश्वको लक्ष्य बढाउँदै लगेको र हरेक वर्ष लक्ष्य पूरा भइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताउनुभयो । कुनै सेवा लिएपछि अनिवार्य राज्यलाई राजश्व तिर्नुपर्छ भन्ने चेतना विकास गर्नाका साथै राजश्वको दरभन्दा दायरालाई फराकिलो पारिएको उहाँको भनाइ छ ।

झण्डै ५० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको जिल्लाको त्रिवेणी गाउँपालिकाले ६३ लाख ८५ हजार आठ सय ३४ रुपैयाँराजश्व उठाएको छ । लक्ष्यभन्दा २७.७१ प्रतिशत बढी राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र रावलले जानकारी दिनुभयो ।

आठबीसकोट र त्रिवेणीले गत वर्षकै जति आन्तरिक राजश्व अनुमान गरेका छन् ।  बाँफिकोट गाउँपालिकाले पनि लक्ष्यभन्दा बढी राजश्व उठाएको छ । वार्षिक आन्तरिक राजश्व अनुमान २० रहेकामा लक्ष्यभन्दा ७४.८ प्रतिशत बढी अर्थात् ३४ लाख ९६ हजार राजश्व सङ्कलन गरेको छ । गाउँपालिकाले यो वर्ष बढाएर ३५ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताउनुभयो ।

गत वर्ष राजश्वको लक्ष्य पूरा गर्न नसक्ने स्थानीय तहमा मुसिकोट नगरपालिका चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका रहेका छन् । जिल्लामै सबैभन्दा बढी चार करोड राजश्वको लक्ष्य लिएको चौरजहारी नगरपालिकामा लक्ष्यको आधाभन्दा पनि कम एक करोड ८० लाखमात्र राजश्व उठेको छ ।

नगरपालिकाको आन्तरिक स्रोतभन्दा बढी राजश्व प्रक्षेपण गरिएका कारण त्योअनुसार राजश्व सङ्कलन हुन नसकेको नगरपालिकाले जनाएको छ । यो वर्ष भने घटाएर राजश्वको लक्ष्य दुई करोड पुर्‍याइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो ।

त्यस्तै, दुई करोड ५० लाख आन्तरिक राजश्व अनुमान गरेको मुसिकोट नगरपालिकामा एक करोड १९ लाख र ७१ लाख ८८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सानीभेरी गाउँपालिकामा ३७ लाख ५६ हजार सात सय राजश्व उठेको छ । राजश्वको लक्ष्य पूरा नभएपछि मुसिकोट नगरपालिकाले यो वर्ष राजश्वको लक्ष्य एक करोड ५० लाखमा झारेको छ । लक्ष्य पूरा नभए पनि सानीभेरी गाउँपालिकाले भने लक्ष्य बढाएर ९० लाख रुपैयाँमा पुर्‍याएको छ ।