महाभूकम्प, भेदभाव र नाकाबन्दीकाे त्रासमा एउटी गर्भवतीको मनोविज्ञान

महाभूकम्प, भेदभाव र  नाकाबन्दीकाे त्रासमा एउटी गर्भवतीको मनोविज्ञान

राधा कणेल  |  साहित्य  |  श्रावण १२, २०७७

२०७२ मंसिर १ 

बेबी ! 

आज तिमी ९ हप्ताको भयौ । तिमी छोरा हौ या छोरी के हौ मलाई थाहा छैन । तर, जे भए पनि तिमीलाई अहिले गर्ने सम्बोधनको अलमलबाहेक मलाई अरू फरक पर्दैन । त्यसैले तिमीलाई बेबी मात्र भन्छु है !

बेबी !

आज छठ पर्वको बिदाले गर्दा मलाई अफिस जानुपरेको छैन । त्यसैले घरमा नै बसेर आराम गर्दैछु । यो साल नेपालमा महाभूकम्प गएको छ । मानिसहरूमा त्यसको भय अझै हटिसकेको छैन । कति गर्भवती आमाले आफ्ना सन्तानको मुख देख्न पाएका छैनन् । थाहा छ, किन ? जन्मनै नपाई गर्भपतन भएर । तनाव धेरै भएपछि यस्ता घटना पनि धेरै हुने रहेछन् ।

तिमी मेरो पेटमा आयौ भन्ने थाहा पाएपछि नै म धेरै खुसी छु । जतिबेला मैले तिमी पेटमा आयौ भन्ने थाहा पाएँ, त्यतिबेला भारतले नेपालमा नाकाबन्दी लगाइसकेको थियो । पेट्रोल, डिजल, ग्यास आदि इन्धन नपाएर मानिस अभावमा आफ्नो दिनचर्या बिताइरहेका थिए । अहिले यो अवस्था झन् भयावह बनेको छ । एकातिर भूकम्पबाट त्रसित भएका छौँ भने अर्कोतर्फ भारतको यस्तो व्यवहार । 

मलाई पनि अफिस आउन–जान निकै अप्ठ्यारो हुन थालेको छ । अफिस जानभन्दा फर्किन झन् कठिन हुन्छ । जाँदा त बसपार्कबाट नै जाने हुनाले सिटमा बसेर जान पाइन्छ । बबरमहलबाट हिँडेर जान्छु, १५ मिनेट लाग्छ हिँडेर अफिस पुग्न । घर फर्किने बेलामा भने ज्यादै सकस पर्छ मलाई । 

बबरमहलबाट गाडी चढ्नुपर्छ । रत्नपार्कबाट नै गाडी भरिएर आउँछ । त्यति मात्र हो र ! मानिसहरू छतमा समेत सकी नसकी बसेका हुन्छन् । म एक्लै भए त जसरी पनि त्यस्तैमा कोचिन्थेँ तर तिमी पनि त छौ नि मसँग । कसरी जोगाउनु तिमीलाई मैले ! 

मानिसहरू केही सहयोगी पनि भएका छन् । कुनैकुनै दिन त लिफ्ट पनि पाइन्छ । लिफ्ट त पाइन्छ तर मानिसले मोटरसाइकल धेरै छिटो कुदाउँछन् । म तर्सिन्छु, तिमीलाई केही हुन्छ कि भनेर ।  उनीहरूलाई मेरो यस्तो अवस्था छ भन्न पनि म सक्दिनँ । 

गर्भावस्थाका बारेमा परिवारका सदस्यसम्मलाई बताउन सक्ने अवस्था बनेको छ नेपाली समाजमा । बाहिर अन्जान मानिसलाई मेरो अवस्था यस्तो हो, मलाई सहयोग गर्नुहोस् भनेर सहयोग माग्न सकिन्न । सहयोग माग्दा त सहयोग गर्नेले गर्छन् नै होला तर समाज नै त्यस्तै भएर होला मैले पनि भन्ने आँट गरेकी छैन । 

सामान्य लिफ्ट माग्न त मलाई गाह्रो लाग्छ । बबरमहलबाट हुइँकिने मोटरसाइकल वा स्कुटर २० वटाभन्दा बढी पार भइसक्दा एउटालाई भन्ने आँट गरिन्छ । कसैले त लिफ्टलाई पनि अवसरको रूपमा प्रयोग गर्न पछि पर्दैनन् । त्यसैले जो पायो, त्यही मान्छेसँग म लिफ्ट म माग्दिनँ । 

कहिले अन्त्य हुन्छ होला यो इज्जत, प्रतिष्ठा, धनी, गरिब, महिला, पुरुष, ठूलो, सानो, राजनीतिक विचार, धर्म, भाषा, भूगोल आदिको नाममा हुने भेदभाव ? के तिमी यो परम्परागत सामाजिक विभेदको जञ्जीरभन्दा अलग हुन सकौली ? के तिम्रो समय छोरीले पनि छोराले झैँ गर्वले बाँच्ने र व्यवहार गर्ने बन्ला ?

बेबी !

भारतको नाकाबन्दीले अहिले अवस्था झन् जटिल बनेको छ । तिमीलाई के भन्नु ? आजको समाचार ‘थापाथली अस्पतालमा औषधिको अभाव’ शीर्षकमा छापिएको छ । हेर त, देशको अवस्था ! ती बिचरा जन्मिँदै नजन्मिएका तर जन्मिने तरखरमा रहेका, आमाको गर्भबाट बाहिर निस्कने दिन कुरेर बसेका तिम्रा साथीहरूको अवस्था ? शहरमा बसेका हाम्रो शरीरको कणकणमा विषादीयुक्त खानाको प्रभाव बढी छ । 

हामीमा रोगसँग लड्न सक्ने क्षमता कमी हुँदै गइरहेको छ । यस्तो अवस्थामा औषधि नपाएपछि म र म जस्तै गर्भवती महिला र गर्भमा रहेका तिमी जस्तै तिम्रा साथीहरूको के हालत भयो होला ? जे भए पनि परिस्थितिसँग जुध्नुपर्ने हाम्रो नियति भएको छ । तर नि बेबी ! तिमीलाई जसरी पनि यस धर्तीमा ल्याउँछु भन्ने आँट र आत्मविश्वास छ ममा ।

तिम्रै चिन्ता लागेर पनि मैले ८ वर्षदेखि लगातार गर्दै आएको जागिरबाट हिजो लिखित राजीनामा दिएकी छु । थाहा छैन मैले जागिर छाडेपछि तिम्रो बाबालाई कति दुःख हुन्छ घर चलाउन ! तिम्रो बाबाले व्यपार गर्ने सोच बनाउनुभएको छ । देशमा भइरहेको सङ्कट हट्यो भने व्यापार राम्रै चल्छ होला । चलेन भनेचाहिँ गाह्रो हुन्छ । म तत्कालै केही काम गर्न सक्छु जस्तो पनि छैन । फेरी तिम्रो पनि त ध्यान पुर्‍याउनुपर्छ मैले ।

ल त बेबी, आजलाई यति नै । 

२०७२ मंसिर १३ 

बेबी !

तिमी अब ११ हप्ताको हुन लाग्यौ । थाहा छ ? पछिल्ला दिनहरूमा मलाई अलिक गाह्रो हुन थालेको छ । हिजोदेखि टाउको दुखेको, आज त आँखा पनि हेर्न नहुने गरी दुख्दै छ । हिँड्न, चल्न मन लागेको छैन । किचनमा त छिर्नै मन लाग्दैन । धेरै नै कमजोर भएकी छु । कान बज्न थालेको छ, रिँगटा लागेर । दिउँसो खाजा पनि खान मन लागेन । 

तिम्रो बाबालाई समोसा ल्याइदिनु भनेको जेरी बोकेर आउनुभएछ । कहाँको नुनिलो समोसाको आस ? कहाँको गुलियो जेरी !  तिम्रो दादा जन्मिनुभन्दा पहिले मलाई कटहरको तरकारी खुब खान मन लागेको थियो । कटहर किन्न पठाएको तिम्रो बाबालाई, १६० रुपैयाँ किलो भनेछ व्यापारीले । तिम्रो बाबाले ‘अहो ! कस्तो महँगो’ भनेर नकिनी आउनुभयो । 

कुनै कुरामा पैसाको लोभ नगर्ने मान्छे त्यस दिनचाहिँ कटहर महँगो भयो भनेर आउनुभएछ । मलाई साह्रै रिस उठ्यो उहाँको कुरा सुनेर । खासै नरिसाउने मान्छे म, त्यस दिन खुब जङ्गिएँ र रोएँ पनि । खान मन लागेपछि लाग्यो लाग्यो हुन्छ यो बेलामा । 

घर आइसकेको मान्छेलाई फेरि पठाएँ किन्नलाई । तिम्रो बाबा छक्क पेरेर फेरि कटहर किन्न जानुभयो र ल्याउनुभयो । त्यो एकछाक खाएपछि फेरि हेर्न पनि मन लागेन पछि । यस्तै हुन्छ यो बेलामा । 

डाक्टरले तिम्रो र मेरो स्वाथ्य राम्रो छ भन्नुभएको छ । अलिक पोषिलो खानेकुरा र झोल पदार्थमा जोड गर्नु रे ! राजीनामा दिए पनि वर्षको अन्तिम (डिसेम्बर) हुन लाग्यो । एक वर्षसम्म गरेको कामको रिपोर्ट बनाउनुपर्नेछ । राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । 

रिपोर्टको काम सकिदिनु न भनेका छन् अफिसमा । नकार्न पनि मन लागेन । धेरैजसो काम घरबाट नै गर्न मिल्छ तर आवश्यक परेको बेलामा भने अफिस नै जानुपर्छ । अचेल फेरि मानिस स्वार्थी हुन थालेका छन् । लिफ्ट पाइन छाडेको छ । २० जनाजतिसँग लिफ्ट मागेपछि बल्ल एक जनाले दिन्छ । 

आजलाई यति नै । 

२०७२ पुस ११

आज तिम्रो मामुलाई सञ्चो छैन । आज मात्र मामाघरबाट फर्किएको । तिम्रो दादाको भोलिबाट परीक्षा छ । घर हेरिसक्नु भएको छैन, भद्रगोल । बत्ती छैन, लोडसेडिङ छ । धारामा पानी पनि रहेनछ । न पिउने पानी छ, न त हातमुख धुने पानी छ । 

घरमा आएको एकैछिनबाट मलाई गाह्रो हुन थाल्यो । वमिट नै भयो । मुख खोकल्ने पानी पनि धारामा नभएपछि सानो दादा मिकेशले माथिबाट ल्याइदियो । त्यसपछि जिउ लुलो भयो, मलाई झन् गाह्रो भयो । सुतेँ । 

तिम्रो दादा पढ्दै थियो । हल्का निदाएछु । उठ्दा तिम्रो दादा खेल्न गइसकेको रहेछ । उसलाई बोलाउने आँट र ताकतसम्म छैन मेरो । कसरी तिमीलाई जन्म दिन्छु, थाहा छैन । घरमा ग्यास छैन । ३ तलामाथि छतमा गएर आगोमा खाना बनाउनुपर्छ । भर्‍याङ चढ्नु छ भन्ने सम्झिँदै मेरा खुट्ट गलिसके । तातो पानी उमाल्ने पनि आँट छैन । 

जस्तोसुकै परिस्थिति आए पनि म झेल्न सक्छु जस्तो लाग्थ्यो मलाई पहिले । अहिले आफूलाई निकै कमजोर महसुस गर्दै छु । समय र परिस्थितिले मानिसलाई बलियो र कमजोर बनाउँदो रहेछ । मलाई अरूभन्दा तिम्रो र तिम्रो दादाको चिन्ता छ । जस्तोसुकै हालतमा पनि तिमीहरूको ख्याल त गर्नु नै छ । 

तिम्रो ठूलोमामुसँग बाल्टीमा पानी मागेर उमालेँ । चिसो दाउरा । एकछिनमा नै आगो निभिहाल्छ । छतमा चिसो हावा लागेर बस्नै नसक्ने भएको छ । दाल पकाइनँ । गुन्द्रुक उमालेँ र भात पकाएँ बल्लबल्ल ।

एकातिर धुँवा, अर्कोतिर पुसको चिसो स्याँठ । त्यसैैले होला मलाई खोकी लाग्न थाल्यो । खोकी पनि लगातार लाग्छ । अरू बेलामा सीटी–जेड ट्याब्लेटले निको हुन्थ्यो । अहिले त्यो खानुहुन्छ कि हुँदैन थाहा छैन । 

तिम्रो बाबाको रातीसम्म हुन्छ काम । आउने बेलासम्ममा खाना सेलाउँछ । एक्लै छतमा गएर खान सम्भव पनि हुँदैन । हटकेसमा खाना राखी तल ल्याएँ । खाना, पानी र अरू भाँडा ओसार्दा तलमाथि धेरैचोटि गर्नुपर्छ । तलमाथि गर्दै थाकेकी हुन्छु । हे भगवान् ! कहिले सकिएला यो सङ्कट ?

२०७२ माघ १०

आज हामी (तिम्रो बाबा र म) तिम्रो र मेरो स्वास्थ्य जाँचका लागि अस्पताल गएका थियौँ । अल्ट्रासाउण्ड गर्दा तिम्रो अवस्था ठीकै रहेछ । हामी दुवै दंग परेका छौँ । तिम्रो दादाले तिमीलाई ‘बुनु’ भनेर सम्बोधन गर्छ । त्यही ‘सस्पेन्स’ चिर्न तिम्रो बाबाले ‘छोरा या छोरी के छ ? भन्न मिल्छ भने भनिदिनुस्’ भनेर घुमाउरो पाराले सोध्नुभयो । डाक्टरले भन्न मिल्दैन भन्ने उत्तर दिनुभयो । 

डाक्टरको कुरा पनि ठीकै हो । लिंग छुट्याउँदै गर्भपतन गर्नेहरू त्यतिकै छन् । सो कुरा सम्झिँदा पनि तिम्रो चिन्ता लाग्छ । तिमी छोरी भयौ भने पनि तिम्रो बिहे गर्ने बेलासम्ममा छोराहरूको संख्या बढी हुन्छ । त्यो बेलामा महिलाहरूले कस्तो किसिमको ‘ह्यारेसमेन्ट’ सहनुपर्ने हो भन्ने चिन्ता लाग्छ । 

तिमी छोरा भयौ भने पनि बिहे गर्नका निम्ति बुहारी नभेटिने त होइन ? भन्ने चिन्ता लाग्छ । अहिलेको तथ्याङ्कअनुसार एक हजार छोरा जन्मिँदा ८८० जना मात्र छोरीको जन्म हुनेरहेछ । यो कस्तो विडम्बना ! कति छोरीले गर्भमै मृत्यु व्यहोर्नुपर्छ । 

डाक्टरले आफ्नो पेसागत धर्म निभाएर ठीक गर्नुभयो । सबैले पैसाको लोभमा नपरी पेसागत धर्म निभाए कति राम्रो हुन्थ्यो होला हाम्रो समाज !

हुनत समाजमा भएका मानिस अथवा समाज जे भने पनि उनीहरूले यो सानो र ठूलोको भेदभाव सिर्जना नै नगरेको भए यस्तो अवस्था नै हुने थिएन नि ! प्रकृतिले त सबैलाई समान नै गरेको छ । कीरा, फट्याङ्ग्रामा पनि त भाले र पोथी हुन्छन् नि ! खै त उनीहरूमा भेदभाव देखेका छौँ त ? मानिसमा मात्र किन भेदभाव त ? 

कहिले अन्त्य हुन्छ होला यो इज्जत, प्रतिष्ठा, धनी, गरिब, महिला, पुरुष, ठूलो, सानो, राजनीतिक विचार, धर्म, भाषा, भूगोल आदिको नाममा हुने भेदभाव ? के तिमी यो परम्परागत सामाजिक विभेदको जञ्जीरभन्दा अलग हुन सकौली ? के तिम्रो समय छोरीले पनि छोराले झैँ गर्वले बाँच्ने र व्यवहार गर्ने बन्ला ?

तथापि, म तिमी छोरी नै हुनुपर्छ भन्ने कुरामा विश्वस्त छु । उसो त तिम्रा हजुरबा, हजुरआमा, बाबा, ठूलोबाबा, ठूलोमामु सबैलाई चाहिएको छ छोरी । त्यसभन्दा बढी तिम्रा दादाहरू रिकेश, मिकेश, यियुस र दीक्षान्तलाई चाहिएको छ– रक्षा बन्धनमा राखी बाँध्नदेखि तिहारमा भाइटीका लगाइदिनसम्म ।

तिम्रो बाबा र म तिम्रो आगमनको प्रतीक्षामा छौँ तर अझै बाँकी छ तिम्रो आगमन ६ महिना कम्तीमा ।