दुर्घटनामा कमी

दुर्घटनामा कमी

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १३, २०७७

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रे–मुग्लिन सडकखण्डमा सवारी दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष ०७६/७७ का अवधिमा जिल्लामा ४४ जनाले सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

गत आव ०७५/७६ मा जिल्लामा सवारी दुर्घटनामा परी ६१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो आवका तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार गतभन्दा अघिल्लो आवमा १०६ सवारी दुर्घटना भएको थियो भने गत आवमा ८८  सवारी दुर्घटना भएका छन् ।

त्यस्तै आव ०७४/७५ मा ११२ दुर्घटनामा ६५ जनाले ज्यान गुमाएका थिए । ट्राफिक प्रहरीको तथ्याङ्कले पछिल्लो तीन वर्षका अवधिमा सवारी दुर्घटनामा कमी आएको देखिएको छ । आव ०७६/७७ मा ३० पुरुष, ११ महिला, दुई बालक र एक बालकले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटनामा परी ६७ जना गम्भीर घाइते र ८९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।