बन्दाबन्दीका क्रममा आठ जनाले ज्यान गुमाए

बन्दाबन्दीका क्रममा आठ जनाले ज्यान गुमाए

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १३, २०७७

तनहुँ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका क्रममा आठ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । गत चैतदेखि असार मसान्तसम्म मात्रै १० सवारीसाधन दुर्घटना भएकामा सात पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी प्रमुख रानाभाटका अनुसार चैतमा चार, वैशाखमा एक, जेठमा तीन र असारमा एक जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै गत वर्ष साउन, भदौ, असोज र  कात्तिकमा पाँचपाँच, मङ्सिरमा एक, पुसमा सात, माघमा तीन र  फागुनमा चार जनाले दुर्घटनामा ज्यान गुमाएका छन् ।

सो अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । कार्यालयका अनुसार ३१ मोटरसाइकल, १२ ट्रक, दुई टिप्पर, १६ बस, एक माइक्रो, १५ जिप र  १० ट्याक्टर दुर्घटनामा परेका छन् । दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख रानाभाटले बताउनुभयो । 

शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड र  कन्भेक्स ऐना राखेको छ । तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाही जस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।