बाढीपहिरोमा परी चारको मृत्यु

बाढीपहिरोमा परी चारको मृत्यु

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १३, २०७७

बागलुङ । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । 

घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उहाँहरुलाई पुरेको प्रहरीले जनाएको छ । सँगै सुतिरहनुभएकी मृतककी आमा होमकुमारी विक गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचराका लागि अस्पताल पठाउने तयारी भइहेको छ । पालबहादुर रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । घर क्षतविक्षत अवस्थामा रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले पुरेको छ । पहिरोमा परी अन्दाजी पाँच वर्षीय समिर परियारको मृत्यु भएको प्रनाउ रेग्मीले बताउनुभयो । निसीखोला गाउँपालिकामानै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेलापरेको छ । उहाँको पहिचान नखुलेको जनाइएको छ ।