कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर ६ लाख ५६ हजारको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १३, २०७७

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।

कोरोनाभाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियमहरु घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तटहरु (बीच) बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपायहरु घोषणा गर्न थालेका छन् ।

युरोपेली मुलुकहरुले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदमहरु चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ । 

स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । यसबाट धेरै बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीहरुको भ्रमण रद्द गरेका छन् ।
हङकङमा कोरोनाभाइरसको नयाँ संक्रमण शृंखला शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्य रुपमा मास्क लगाउन आदेश दिएको छ । 
बेल्जियमले पनि सामाजिक दूरीका नियममा कडाई गर्न थालेको छ ।