अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ

अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण १३, २०७७

एजेन्सी । सोमबार साँझसम्म, विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित देखिएको संयुक्तराज्य अमेरिकामा थप ५७ हजार व्यक्ति पोजेटिभ देखिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको विवरण अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमितमध्ये एक लाख ४७ हजार ५८८ जनाको मृत्यु भएको छ । अमेरिकामा ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ–ब्रायनलाई पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । 

आइतबारसम्म लगातार १२ दिनसम्म अमेरिकामा दैनिक संक्रमितको संख्या ६० हजारको हाराहारीमा रहेको थियो । अमेरिकामा एकै दिन ७० हजारभन्दा बढीमा कोरोना संक्रमित समेत भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने देशहरुका सीमाहरु बन्द गर्न जरुरी नरहेको बताएको छ । डब्लुएचओका आपतकालीन निर्देशक माइकल रायनले भन्नुभयो, 'विश्वको अर्थतन्त्रका लागि, विश्वका गरिबका लागि यो दिगो रणनीति होइन ।'

उहाँले भिन्नभिन्न मुलुकमा कोरोनाभाइरस भिन्नभिन्न शैलीमा फैलिने गरेकाले पनि सबै मुलुकलाई एकै डालोमा राख्न नहुने बताउनुभयो ।