तिला नदीमा र्‍याफ्टिङ शुरु

तिला नदीमा र्‍याफ्टिङ शुरु

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण १४, २०७७


जुम्ला । जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्‍याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्‍याफ्टिङ सञ्चालनमा ल्याएको हो ।

साहसिक मानिएको र्‍याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा र्‍याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिकरूपमा निकै उत्तम भएको र पानीको गति राम्रो मानिएको छ । 'शुरुमा चाररपाँच पटक परीक्षण सञ्चालन गरियो । त्यसपछि व्यावसायिकरूपमा अगाडि बढाइएको छ', सञ्चालक महतले भन्नुभयो ।  यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उहाँको भनाइ छ ।
 
साहसिक यात्रा गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिएको सञ्चालक महतले बताउनुभयो । र्‍याफ्टिङबाट तातोपानी धारामा नुहाउनदेखि मार्सी चामलको भात र तिलामा पाउने असला माछासमेत खान पाइने गो कर्णाली ट्राभल्स एण्ड टूरले जनाएको छ । सोह्र किलोमिटर यात्राका लागि र्‍याफ्टिङ गर्न प्रतिव्यक्ति रु दुई हजार शुल्क निर्धारण गरिएको छ । अहिले शुरुआती चरणमा सो व्यवस्थाका लागि रु २४ लाख बजेट खर्च भएको जनाइएको छ ।