अविरल वर्षाका कारण कल्भर्ट भत्किँदा सडक अवरुद्ध

अविरल वर्षाका कारण कल्भर्ट भत्किँदा सडक अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १४, २०७७

सिरहा । अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्भर्ट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्भर्ट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाइल बजारदेखि बरियारपट्टी बजारसम्म जोड्ने करिब १८ किलोमिटरको सो सडक अवरुद्ध भएपछि सवारी साधनको आवतजावतमा ठूलो समस्या भएको स्थानीयवासीको गुनासो छ । 

'कल्भर्ट भत्किएर तीन दिनदेखि सवारी आवागमन अवरुद्ध भएको छ', बरियारपट्टी  गाउँपालिका–३ का सन्दीप महतोले भन्नुभयो, 'कल्भर्ट भत्किएर कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले आवतजावत बन्द भएको छ ।' केही दिनदेखिको अविरल वर्षाका कारण कल्र्भट भत्किएर सडक अवरुद्ध हुँदासमेत मर्मतसम्भार गर्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको उहाँको गुनासो छ । 

दैनिक करिब सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर भइरहने सडकमा कल्भर्ट भत्किएपछि यात्रुलाई ठूलो समस्या भएको सशस्त्र प्रहरी बल बेस क्याम्प बरियापट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिल्मिसिनाले बताउनुभयो । उहाँले भत्किएको ठाउँमा स्काभेटरबाट बाटो सञ्चालनको तयारी भइरहेको बताउनुभयो । यता बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भत्किएको कल्भर्ट मर्मतका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताउनुभयो ।