पहिरोले भोटखोला जाने सडक अवरुद्ध

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १४, २०७७

सङ्खुवासभा । लगातारको वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तरदक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध  भएको  उत्तरदक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उत्तरदक्षिण सडकखण्डको मकालु–३ को सम्माटार र उवाँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको इन्जिनीयर श्रेष्ठले बताउनुभयो । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म चलिरहेको उहाँले बताउनुभयो । लगातार वर्षा भइरहेका कारण अवरुद्ध भएको सडक कहिले खुल्छ भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।