भ्रष्टाचारमुक्त प्रदेश बनाउन निर्देशन

भ्रष्टाचारमुक्त प्रदेश बनाउन निर्देशन

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १४, २०७७

हेटौँडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने प्रदेश सरकारको नीतिलाई आत्मसात् गरेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले प्रदेशका मुख्यमन्त्री पौडेलको स्वच्छ प्रदेश निर्माण अभियानको पहिलो कडी सुशासन भएको र भ्रष्टाचारमुक्त प्रदेश बनाउने प्रदेश सरकारको ध्ययअनुरुप काम गर्न अनुरोध गर्नुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, हेटौँडामा आयोजित समीक्षा कार्यक्रममा मन्त्रालयका सचिव, महाशाखाका प्रमुखहरु तथा मन्त्रालय मातहतका प्रदेशका सबै कार्यालयका प्रमुखलाई निर्देशन दिँदै मन्त्री फुयाँलले मन्त्रालय मातहतका कार्यालयहरुले बजेटको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

मन्त्री फुयाँलले साउन १ गतेदेखि नै बजेट कार्यान्वयन चरणमा प्रवेश गरिसकेकाले पहिलो चौमासिकमा गर्ने भनिएका कामको दोस्रो चौमासिकमा समीक्षा गरिने उल्लेख गर्नुभयो । उहाँले तेस्रो चौमासिकको मध्य सम्ममा कार्यसम्पादन नै पूरा गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । मन्त्री फुयाँलले भौतिक पूर्वाधारको क्षेत्रमा मात्र नभएर यातायातको क्षेत्रमा समेत जनतालाई अनुभूति हुनेगरी परिवर्तन ल्यान काम गर्नुपर्नेमा जोड दिनुभयो ।  

यसैबीच मन्त्रालयका सचिव तेजराज भट्टले मातहतका प्रमुखसँग कार्यसम्पादन करार गर्नुभएको छ । त्यस्तै महाशाखा प्रमुखहरुले मातहतका कार्यालय प्रमुखहरुसँगसमेत कार्यसम्पादन करार सम्झौता सम्पन्न गर्नुभएको छ  ।