बाढीले बगाएका एम्बुलेन्स प्रहरीद्वारा बचाउ

बाढीले बगाएका एम्बुलेन्स प्रहरीद्वारा बचाउ

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १४, २०७७

तुलसीपुर । बाढीले बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाउ गरेको छ । जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल बचाउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

बिहान ५:०० बजेतिर नारायणपुरबाट तुलसीपुर आउँदै गरेको रा१च ८९२ नंको एम्बुलेन्सलाई घोराही–तुलसीपुर सडकखण्डमा पर्ने हापुर खोलामा आएको बाढीले बगाएको थियो । २० मिटर तल बगाएको उक्त एम्बुलेन्सलाई प्रहरी नायब निरीक्षक भीमबहादुर सुनारसहित पुगेको सात जनाको टोली र जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी उपरीक्षक गणेश चन्द सहितको २० जनाको टोलीले सकुशल बचाएको हो । उक्त एम्बुलेन्समा पाँचजना सवार थिए । 

त्यस्तै, आजै बिहान ५:०० बजेतिर घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलाले पनि कपिलवस्तुबाट तुलसीपुर आउँदै गरेको रा१च ८११ नंको एम्बुलेन्स सिस्नेखोलाले सडकदेखि १५ मिटर तल बगाएको अवस्थामा प्रहरीले बचाएको थियो । जिल्लाका पत्रेखोला, सिस्नेखोला, हापुरखोलामा पुल नहुँदा बर्सातको समयमा सास्ती खेप्नु परेको छ ।