बाढीले पुल भत्काएपछि अस्थायी सडक निर्माण

बाढीले पुल भत्काएपछि अस्थायी सडक निर्माण

लोकसंवाद संवाददाता  |  समाज  |  श्रावण १४, २०७७

चितवन । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र  सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । 

यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा यातायात अवरुद्ध बनेको हो । अवरुद्ध यातायात पुनः सञ्चालन गराउन तत्काल अस्थायी रुपमा सडक निर्माणको काम शुरु भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो ।

अस्थायी सडक निर्माणका लागि खोलामा ह्युम पाइप जडान गरी वरपर ग्याबिन, तार, जाली र ग्राभेलिङ गर्ने काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ ।   अस्थायी सडक निर्माणका लागि १२ ह्युम पाइप र ४० ट्रिप ढुङ्गा ग्राभेल राख्ने काम भएको अध्यक्ष गुरुङले बताउनुभयो । यही साउन १२ गतेदेखि नै अस्थायी सडक निर्माण शुरु गरिएको र एकदुई दिनभित्र अवरुद्ध यातायात सञ्चालन गरिने पनि उहाँले बताउनुभयो ।

झण्डै दुई दशकअघि बनेको पुल बाढीले बगाउँदा इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक हरिपुर पुल हुँदै सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे । बाढीले पुल भत्काएपछि त्यस भेगका करीब तीन हजारभन्दा बढी नागरिकलाई यातायातमा आउजाउ गर्न असुविधा भएको छ ।