सुकुम्बासीलाई पनि कतै बाँच्न दिने हो र !?

सुकुम्बासीलाई पनि कतै बाँच्न दिने हो र !?

रमेश भट्टराई ‘सहृदयी'  |  साहित्य  |  श्रावण १४, २०७७

ए चेपाङ !  तिम्रो घरलाई जलाइनु, हात्ती लाएर भत्काइनुमा के आश्चर्य भो र ! जम्मा दस घर न हो ! कहाँको सुकुम्बासी कहाँको सुकिलो मान्छे ! सुकिलो कपडामा वरिपरि सुरक्षाकर्मी भएका मान्छे अलेसान महलमा बसेर रमाइलो फिल्म जसरी तिम्रो त्यो अवस्थाको दृश्यमा रमाउन पाउँदाको मजै बेग्लै छ नि ! फेरि मुसलधारे पानी बर्सिरहँदा तिमीहरूको बिजोगलाई हेर्दै, नोकर्नी साहेबालाई तात्तातो चिया र मीठो खाजा मगाएर पर्सनल गार्डलाई दुई वाणी कडा वचन दिँदाको सान अर्कै होला ! अनि, तिमीहरू 'बाँच्न देऊ' चाहिँ भन्ने तर केही कमिसन दिन नसक्ने ! वर्षभरि कमाएर दुई छाक खान नसक्नेको कुनै इज्जत र बाँच्ने हैसियत हुन्छ र !

विभेद र असमानता हटाउने कुरा त संविधानमा नै छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा त दिगो शान्ति, सुशासन र समृद्धिको आकाङ्क्षा पूरा गर्ने व्यवस्था छ । अब तिमीहरू सुकुम्बासी हौ । सामान्य मान्छेलाई पो तिम्रो अवस्था देखेर मुटु दुख्छ । हृदयविदारक लाग्ला । तर, अरू सम्पन्न सरह नभएपछि असमान भयौ नि त ! समतामूलक समाज नहुने भयो । केही नहुनेले कतै नपाएपछि राज्यको विकट क्षेत्रतिर बाँच्नका लागि भन्दै आड लिनु त महापापै हो नि ! यत्ति कारणले नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत मौलिक हक र कर्तव्यमा पर्ने धारा १६ मा 'सम्मानपूर्वक बाँच्न पाउने हक' सुनिश्चित भए पनि सुकुम्बासीलाई हुँदैन ।

ए चेपाङहरू ! तिमीहरू के नेपाली नै हौ र ! तिमीहरूले आफ्नो स्वामित्वको भूमि रक्सी खाएर उडाएका हौ कि ! कि बड्डे पाटीमा ह्वस्कि लायौ ? कतै पाँच तारेमा विशिष्ट पाटी गरेर पुर्खौली सम्पत्ति त सकेर निकुञ्जतिर गएनौ ? तिमीहरूको इच्छा पनि अचम्मको रहेछ, महल र दरबार छोडेर गोठमै किन जानुपर्यो । खुला आकाशको गोठमा लालाबाला लिएर हिँड न ?दुई चार जना मरिहाल्यौ भने बाँचेकाले पनि मर्ने तरखर गर ! सायद, अब तिमीहरूलाई नै पनि जलाउन भनेर राष्ट्रसेवकहरू आउलान् कि !

गरिब, सुकुम्बासीलाई राज्यले एउटा छत र एउटा पेट भर्ने गरी अन्न उब्जाउने आधार नखोसेर देशको संविधानमा लेखिएको मौलिक हक कसरी बाँच्छ र ! देशमा ७० करोडका कुरा चुपचाप छन्, राहतमा भ्रष्टाचार हुन्छ, काण्डै काण्डका झुण्ड निसङ्कोच सुरक्षित हुन्छ । तिमीले संविधानको धारा २६१ मा 'आदिवासी जनजाति आयोग' देख्ने क्षमता नराख्नु त झनै गजब छ । अझ थाहा हुनेले पनि पाँचतारे होटलमा गफ गरेर, यो जात र ऊ जात भन्दै जातकै विरोध बोकेरै खर्च पानी जुटाउने न हुन् । के यसरी तिम्रो कुनै सञ्जाल छ सबल बन्न सक्छ !? अनि कमजोरलाई हेप्ने धर्म कसरी बदलिन सक्छ ! सञ्चारलाई समेत पकडमा राख्ने हैसियत नभएपछि घर जल्नु, पुस्तौँ पुस्ता सुकुम्बासी भइरहनुमा आश्चर्यै भएन नि !

अर्को कुरा तिमीहरू कोही नेताका मान्छे हौ र ! अनि, तिमीहरूलाई मिलापत्र गरेर बाँच्न दिइरहँदा एक सुको सुँघ्न पाइने पनि नभएपछि १ तिम्रो घरबार उडेर दुई दिने हल्ला न हो । तिम्रो दशा, तिम्रै पेवा । सडकमा माग या जे गर ! तिमीहरूको आवाजलाई लिएर सदन तताउने आँट पनि त कसैले नगर्लान् ! त्यसमा पनि तिमीहरूले बसेको क्षेत्रसम्म पुग्नै, हिँडेर जानै महाभारत हुन्छ । फेरि, कुनै नेतालाई काखी च्याप्न नजान्नेले चेपाङलाई कसैले गन्नुपर्छ भन्ने नै किन ठान्नुपर्यो । यो झरी-बादलको जोखिम र विपत्मा तिमीहरू बिचल्ली भएर सडकमा आएर माग्दै गर्दाको दृश्यले रमाइलो पनि त लाग्दो हो ।

'सडक मानवरहित जिल्ला' का सानदार मानिसभित्रको सान र पहिचान बेग्लै बनिसकेकै पनि त छ । घोषणा त भइसकेको छ नि ! अझै तिम्रो कलिलो दूधे बालकले भनोस्, 'आमा भोक लाग्यो' । अनि तिम्री श्रीमतीले मक्काएको मैलो चोलोको तुनो खोलेर चाउरिएको छालामा झोलिएको दूधको लाम्टो चुसाउन खोज्दा भोकले ढल्दाको दृश्य संविधानको धारा ५१ (ञ) 'सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति' सँगै गएर झुत्तिँदो हो । कुपोषण शब्दको अर्थ नबुझे पनि व्यावहारिक अभ्यास कायमै हुँदो हो ।

चिल्लो कार र चिप्लो सोचलाई संविधानमा नलेखिएर पनि अघोषित पुर्ख्यौली धर्म रहिरहन्छ तर संविधान त कागजमा लेखिने वस्तु न हो । 'खोस्टो' भन्छन् नि ! तिम्रो त ज्याला मजदुरी गरेर भेला गरेको मकैको खोस्टैसहित सबै स्वाहा बनाएर जलाएपछि किन खोस्टो र अब खरानीका कुरा गरौँ कि ? तर, त्यो पनि त मुसधारे पानीले बगाइसक्यो होला नि त ! यदि तिमी माननीय ज्यूका कतैबाट सम्बन्ध गाँसिएका मान्छे भएका भए ! या त तिमी मन्त्रीज्यूको कतै न कतैबाट सम्बन्ध पर्ने भएको भए कानुन, संविधान बदलिनेसम्मको खुबी रहँदो हो ! अर्को कुरा अहिले चुनाव आइगएको पनि छैन नि त ! चुनावको मुखमा सम्म भए पनि त तिम्रा घरमा आएर भएको झुप्रो जलाउने, भत्काउने भन्दा पनि 'हामी घर बनाइदिन्छौँ, हामी जग्गा दिन्छौँ । नागरिकता दिलाउँछौँ, छोराछोरी पढाइदिन्छौँ  भन्ने हुन्थ्यो तर त्यो पनि भएन ।

अनि, तिमीहरूसँग नेताका अघि झुक्नुपर्छ भन्नुभन्दा आफ्नो बलबुताले एक छाक मकै, एक छाक भोकै हुँदा पनि खुशी हुने अचम्मैको आदत नै छ नि । पटक-पटक विना बर्दीको प्रहरी बनेर आफ्नो भूमिको रक्षा गर्न ज्यान दिने तिमीहरूको जायजेथा नजलाएर कस्को जलाउने ! तिमीहरूलाई के बाँच्ने अधिकार छ र ! अनि तिमीहरू बाँच्न थाल्यौ, उक्सियौ भने त विदेशसँग 'गरिब छौँ हजुर, दिनुपर्यो' भन्ने आधारै सकियो भने ! यो त लोककल्याणकारी राज्य हो नि ! यहाँ मानव अधिकारका कुरा त कुरामा भन्दा धेरै काममा हुन्छ नि त ! 'मानव अधिकारू सबैभन्दा बढी चर्चा हुने कुरा जुन मानव अधिकार दिवसका आसपासमा ! संविधानमै हेरौँ न  धारा १८ मा समानताको हक, धारा ३६ मा खाद्य सम्बन्धी हक, धारा ४२ मा सामाजिक न्यायको हक, ४३ मा सामाजिक सुरक्षाको हक कति बान्की मिलाएर लेखिएकै छन् नि ! 

अनि, यत्तिका धेरै हकलाई उछिनेर 'समृद्ध नेपाल: सुखी नेपाली' को दुई वर्ष अघिदेखिको नारालाई अहिलेसम्म आउँदा समेत हजुर्याईँ गर्न नजानेपछि हात्ती लाएर भत्काउने, आगो लाएर सखापै पार्ने काम हुने नै भो नि ! विकट क्षेत्रमा बस्ने चेपाङ तिमीहरूले खान नपाएर के बिग्रन्छ र ! खान पाउनेले डकारेकै छन् नि त ! मन्त्रीज्यू भन्छन्- 'चेपाङको घर होइन, गोठ जलाइयो !?' आखिर जनता झुप्रोमा बस्छ । गोठमा बस्छ । गुफामा बस्छ । नेतालाई महलमा, दरबारमा बस्ने हैसियत बनाइदिन्छ । गरिबका लागि गोठ नै महल हो, गुफा नै दरबार हो । मान्छेले मान्छेलाई मान्छेकै हैसियत दिएर हिँड्न थाल्दा त धर्तीमा स्वर्ग स्थापित भइहाल्छ । यो गलत सोचलाई कतै कसैबाट ल्याइयो भने दबाउनुपर्छ ।

फूलमाला ठिक पार 'ए चेपाङहरू ! तिमीहरू के नेपाली नै हौ र ! तिमीहरूले आफ्नो स्वामित्वको भूमि रक्सी खाएर उडाएका हौ कि ! कि बड्डे पाटीमा ह्वस्कि लायौ ? कतै पाँच तारेमा विशिष्ट पाटी गरेर पुर्खौली सम्पत्ति त सकेर निकुञ्जतिर गएनौ ? तिमीहरूको इच्छा पनि अचम्मको रहेछ, महल र दरबार छोडेर गोठमै किन जानुपर्यो । खुला आकाशको गोठमा लालाबाला लिएर हिँड न ?दुई चार जना मरिहाल्यौ भने बाँचेकाले पनि मर्ने तरखर गर ! सायद, अब तिमीहरूलाई नै पनि जलाउन भनेर राष्ट्रसेवकहरू आउलान् कि ! तर, दुई दिने चोला हो, मर ! के का लागि र कसका लागि बाँच्छौ ? के तिमीहरू पनि नेपाली हौ र ! खाली सीमामा बिना बर्दीमा खटिन्छौ । रातोदिन !'