जिससको ३६ रोपनी जग्गा अतिक्रण

जिससको ३६ रोपनी जग्गा अतिक्रण

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १६, २०७७

तनहुँ । जिल्ला समन्वय समितिको नाउँमा रहेको विभिन्न क्षेत्रको गरी करिब ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ । व्यास नगरपालिका–३ बिसघरे, देउराली नगरस्थित सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको उक्त जग्गा वषौँ अघिदेखि अतिक्रमण गरी पक्की घरसमेत निर्माण भइसकेका छन् ।

सदरमुकाम दमौलीमा रहेको उक्त जग्गाको मूल्य उच्च भए पनि अतिक्रणबाट बचाउन नसकिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । साविक फराकचौर ९ ‘ट’ को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी तीन आना दुई पैसा तीन दामको र कित्ता नम्बर ३५ को १४ रोपनी छ आना एक दाम क्षेत्रफल रहेको जग्गा वर्षौं अघिदेखि अतिक्रमणमा परेको छ । 

त्यसैगरी कित्ता नम्बर २८ को आठ आना जग्गा बह्माकुमार राजयोग संस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६  मा पर्ने चार रोपनी १४ आना तीन पैसा तीन दाम क्षेत्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनका लागि दिइएको समितिले जनाएको छ । विसं २०२५ मा सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएदेखि नै जिससको जग्गा बढी अतिक्रमणमा पर्न थालेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिनुभयो ।  

हाल १८४ व्यक्तिले अनाधिकृत रुपमा जग्गा भोगचलन गर्दै आएका छन् । समितिले अन्य ठाउँका केही जग्गा अतिक्रमणमा परेको र अधिकांश भाडामा लगाएको जनाएको छ । अन्य ठाउँमा अतिक्रमणमा परेको जग्गाको पनि तथ्याङ्क निकाल्ने कार्यको शुरुआत गर्न लागिएको समितिकी उपप्रमुख पवित्रा पौडेलले जानकारी दिनुभयो । व्यासका वडा नं २ र ३ अन्तर्गत समितिको जग्गामा बनाइएका ९५ सटरबाट भने वार्षिकरुपमा झण्डै रु एक करोड आम्दानी हुँदै आएको छ । उक्त सटरबाट गत वर्ष रु ९९ लाख १८ हजार आम्दानी भएको र यो वर्ष भाडाबापत रु ८६ लाख आम्दानी भएको उपप्रमुख पौडेलले बताउनुभयो ।