सौराहाका होटल खुलेसँगै चहलपहल शुरु

सौराहाका होटल खुलेसँगै चहलपहल शुरु

लोकसंवाद संवाददाता  |  पर्यटन  |  श्रावण १६, २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् । 

जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको बताउनुभयो । होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायी जुटेको क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष रहनुभएका भट्टरार्ईले जानकारी दिनुभयो । 

जङ्गल सफारी लजमा पनि आज तीन वटा कोठा बुकिङ भएको सञ्चालक सुमन घिमिरेले बताउनुभयो । सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले होटल खुलेसँगै बिहीबारबाट चहलपहल बढेको बताउनुभयो । स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न मानिस आएको उहाँले जानकारी दिनुभयो । सौराहामा ११० होटल सञ्चालनमा छन् । 

घिमिरेले भन्नुभयो, 'यो सिजन नभए पनि लामो समयपछि होटल खुल्दा व्यवसायी आशावादी भएका छन् ।' होटललाई पूर्ववत् अवस्थामा फर्काउन सस्तो र आकर्षक प्याकेज बनाउन साझारूपमा र एकल व्यवसायी जुटिरहेको उहाँले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष दीपक भट्टरार्ईले स्थानीय कर्मचारीलाई बोलाएर होटल सञ्चालन गरिएको बताउनुभयो । पच्चीस प्रतिशत हाराहारी कर्मचारीले होटल शुरु गरेको उहाँले जानकारी दिनुभयो । 

क्रमशः पर्यटक बढ्दै गएपछि कर्मचारी थप गर्दै लैजाने तयारी गरिएको छ । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए । होटल तथा रेष्टुरेण्ट खुलेसँगै व्यवसायीले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका हुन् । सरकारले यही साउन १५ गतेदेखि देशभरका होटल तथा रेष्टुरेण्ट विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरेसँगै सौराहाका होटल खुलेका हुन् । होटलले कोभिड–१९ बाट बच्न आवश्यक सूचना टाँस गर्ने, पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानिटाइजरको व्यवस्था गरेको भट्टराईले जानकारी दिनुभयो । 

दशैँ र दशैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको छ । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीले गरेका छैनन् । गत वर्ष पनि यो पर्यटकीय मौसम नभएकाले न्यून पर्यटक मात्र आउने गर्दथे । उहाँका अनुसार विगतका वर्षमा यति बेला ३० प्रतिशत हाराहारी मात्र पर्यटक हुने गर्दथे । 

होटलसँगै रेष्टुरेण्ट पनि खुलेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) का पूर्वअध्यक्ष गोकर्ण गिरीका अनुसार रेष्टुरेण्टमा ग्राहकहरु आउन थालेका छन् । सौराहामा १०० हाराहारी रेष्टुरेण्ट छन् । तीमध्ये ५६ वटा रेवानका सदस्य छन् । आधाभन्दा बढी रेष्टुरेण्ट खुलेको उहाँले जानकारी दिनुभयो । थोरै कर्मचारीबाट काम थालिएको उहाँको भनाइ छ । गिरीले भन्नुभयो, 'हामीलाई आशा जगाएको छ ।'

होटल खुल्यो निकुञ्ज खुलेन 

सौराहाका होटल सञ्चालनमा आए पनि त्यहाँ आएका पर्यटकहरु घुम्नका लागि जाने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन । लकडाउनसँगै निकुञ्जका सबै गतिविधि बन्द गरिएको थियो । बर्सातको समयमा निकुञ्जभित्र जिप सफारी रोकिने भए पनि अन्य गतिविधि रोकिँदैन । 

सौराहा आउने पर्यटक हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने गर्दछन् । सबै गतिविधिका लागि विदेशी पर्यटकले निकुञ्जको प्रवेश टिकट लिनुपर्ने हुन्छ । यसका लागि निकुञ्जले औपचारिकरूपमा अनुमति दिनुपर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले कोरोनाको सङ्क्रमण जारी नै रहेकाले अध्ययन र छलफल गरेर मात्र निकुञ्जले अनुमति दिने बताउनुभयो । उहाँले भन्नुभयो, 'रोगको सङ्क्रमणको डर वन्यजन्तुलाई पनि हुन सक्छ ।'

सौराहा आउने पर्यटकलाई हात्ती चढाएर स्थानीय कुमरोज, बाघमारा, चित्रसेन र खोरसोर मध्यवर्ती सामुदायिक वनमा घुमाउन लगिन्छ । सामुदायिक वनमा घुमे पनि आन्तरिक पर्यटकले प्रति व्यक्ति  १०० रुपैयाँ, भारतीयले एक हजार ६०० र अन्य देशकाले दुई हजार रुपैयाँ निकुञ्जलाई तिर्नुपर्ने हुन्छ । वन र वन्यजन्तुसँग रमाउनका लागि पर्यटक सौराहा आउने गर्दछन् ।

नारायण अधिकारी / रासस