ज्ञानमित्र | साहित्य | श्रावण १६, २०७७
म मान भारतीका गुरु अमर भारतीको गृहस्थ शिष्य जगदीशको पसलमा पुगे । सबै कुरा सुनेपछि उनले आफूलाई मान भारती यता आए नआएको बारे थाहा नभएको तर रवि गिरिलाई पक्कै थाहा हुने बताए । त्यहाँ तपाईँ एक्लै पुग्न सक्नुहुन्न, म साँझमा तपाईँलाई त्यहाँ पुर्याई दिन्छु । उनी व्यास नदी किनारमा कुटी बनाएर बसेका छन् ।
'ओम नमो नारायण' महाराजजी भन्दै म कुटीमा छिरे ।
आउनुस् भगवन् मेरो धन्य भाग्य ! जे तपाईँले यस कुटीमा चरण राखेर यसलाई पवित्र बनाइदिनुभयो ।
सानो कुटिया भित्रै धुनाको छेउमा बसेर उनी गाँजा तानी रहेका थिए । सामान्य कुराकानी भए पछि उनले ‘भगवन पहिला म खानाको व्यवस्था गर्छु कुरा त्यस पछि गरौंला' भने ।
मैले खाना पर्दैन, चिया भए पुग्छ भने ।
यो कसरी हुन सक्छ, भगवन् मेरो कुटीमा आउँदा भोकै बस्नु हुन्छ ? मेरो जीवनभरको साधना नै खेर जान्छ । बरु भन्नुस् पहिला चिया खाने कि खाना खाए पछि चिया खाने ?
त्यसो भए पहिला खाना नै खाऊ।
उनी त्यस कुटियाको ठिक सामुन्ने रहेको अर्को सानो कुटीमा गए । त्यो उनको भान्सा घर रहेछ, मलाई पछि आएर मात्रै थाहा भयो, भारतका विभिन्न समुदाय र परम्पराका साधुहरूले धुना रहेको ठाउँमा खानपान गर्दैनन् । धुना उनीहरूको लागि देवताकै स्वरूप हो र यसको सञ्चालनका विभिन्न नियम र मर्यादा हुन्छन् ।
‘भगवन् दाल–तरकारी पाकी सक्यो, तपाईँ आएर विराजमान हुनुस्, म तातो तातो रोटी पकाउदैं सेवा गर्छु’ ।
उनले एउटा थालमा तरकारी र कचौरामा दाल पस्केर मेरा सामु राखी दिए । ५ दिन पछि हुन गइरहेको अन्न ब्रह्मसँगको साक्षात्कार लौकिक रुपमा मेरा लागि कति अभूतपूर्व थियो, यो कुनै भुक्तभोगीले मात्रै अनुभव गर्न सक्छ । म यो बुझ्न सकी रहेको थिइन, अन्नलाई वन्दन गरौँ कि अन्नदातालाई ?! तथाकथित बुद्धिजीवीहरूको समस्या नै यही हुन्छ, ‘उनीहरू अज्ञात र अज्ञेयलाई विस्मरण गरी उपस्थित वर्तमान कै मीमाँसामा अल्झी रहन्छन्’ ।
पाकेको रोटी थालमा हाल्दै उनले भने, ‘लौ प्रभु भोग लगाउनुस्’ ।
दसैँसम्म त बस्छु, दसैँको तलब आउँदा कुनै एउटा 'माउन्टेन ट्रेक' गर्छु, यहाँको दशहरा हेर्छु अनि दिल्ली जान्छु । दिल्लीबाट यता फर्किन्छु कि फर्किन्न केही टुङ्गो छैन। अनि तपाईँको के प्रोग्राम छ ? अब मसँग ८००–९०० रुपैयाँ बाँकी होला । आफ्नो सन्यासी मित्रको खोजीमा एक पटक उदयपुर जान्छु । उनी भेटिए भने जीवनले कुन कोल्टे फेर्छ मलाई थाहा छैन । भेटिएनन् भने ......
मन मनै सोचे, को प्रभु हो, जुरेको यो अन्न कि संयोगले फेला परेको तिमी अन्नदाता ? यो त निश्चित हो तिमीले मलाई सम्बोधित गरेको प्रभु शब्द पाहुनाको सम्मान खातिर व्यक्त गरिएको औपचारिकता एवम् तिम्रो उदात्त कुलीन संस्कारको नियम न हो ।
अन्तरमनका सबै मथिँगललाई ‘एज इट इज’ छाडी म खान थाले| ।
थालमा अर्को रोटी खस्दा मेरा आँखा उनी पट्टि गए। यो के त्यहाँ रवि गिरी थिएनन्, साक्षात् चतुर्भुज नारायण विराजमान हुनुन्थ्यो मेरा लागि रोटी पकाउँदै ।
कुनै शब्द आएनन्, कुनै विचार उठेन, नारायणको साक्षात् दर्शन, म क्षुद्रका लागि रोटी पकाउँदै जगत् पालनहार ! आँखाबाट अश्रुधार बग्ने बाहेक मबाट अन्य कुनै शारीरिक वा मानसिक गतिविधि हुन सकेन । नारायणले भन्नुभयो- तिमी किन चिन्ता गर्छौ, म सधैँ तिम्रो साथमा छु । त्यो मंडीमा बिहान तिमीलाई चिया खुवाउने मै थिए, दिउँसो सन्यासीकोे रुपमा आएर चिया ख्वाए, अहिले पनि तिमीलाई भोजन दिन उपस्थित छु । वत्स ! तिमीले हेर्न नसके पनि म सधैँ तिमीसँग छु ।
कति बेर चल्यो यो अपूर्व दर्शन, मलाई केही थाहा छैन, नयनाभिराम अवलोकनमा जन्म जन्मको कलुषिता पखाल्ने अन्तरालसम्म चल्यो यो महासंयोग ! जसको समयमा गणना गर्नु सम्भव छैन ।
भोजन उपरान्त रवि गिरी र म धुनामा बसी रहेका छौँ । उनी गाँजा तान्दै छन् म चुरोट । मेरो मनमा बडो खलबली छ, ‘भोजन गर्दा अनुभव भएको घटनाबारे उनलाई भनौँ कि नभनौँ ?’
‘प्रभु अब शयन गर्नुस्, १२ बजी सक्यौ’।
उनको कुटिया व्यास नदीको किनारमा थियो । समस्त किसिमका उपयोग हेतु पानीको आपूर्ति नदीबाट हुन्थ्यो । बाल्टिनले नदीबाट पानी ल्याएर । बिहान बाल्टिन र मग लिएर नदी छेउ गएर ‘फ्रेस’ भए । नदीको तीव्र प्रवाहले गर्दा नुहाउने आँट आएन ।
चिया खाँदै रवि गिरीले भने, मान भारती यस पटक यता आएन । उ उदयपुर पुगी सक्यौ होला अथवा कुल्लुतिर कतै छ कि ?
उनले कुल्लुको मेन बजार स्थित मन्दिरमा मान भारतीबारे थाहा हुनसक्ने भन्दै मलाई त्यहाँको ‘लोकेसन’ बताए । मैले कुुल्लु जाने निर्णय गरे । तर उनको कुटिया छाड्नु अघि म उनलाई हिजो रातिको आफ्नो अनुभव भन्न चाहन्थे ।
महाराजजी हिजो राति भोजन गर्दै मलाई बडो विशिष्ट अनुभव भयो । तपाईँलाई नभनी जाने मन छैन ।
प्रभु तपाई यो कुटियामा प्रवेश गर्दा मलाई पनि विचित्र अनुभव भएको थियो । भनौँ भने गाँजेडीको गफ जस्तै हुने सोचेर चुप लागे ।
तपाई आफ्नो अनुभव सुनाउनुस् त्यसपछि म पनि आफ्नो भोगाई भन्छु ।
महाराजजी क्षमा गर्नु होला, हिजो राति तपाईँले मलाई भोजन गराएको होइन । मैले रोटी पकाउँदा तपाईँमा साक्षात् चतुर्भुज नारायण देखे ।
नारायण नै मेरा लागि रोटी पकाउँदै थालमा हाल्दै थिए ।
‘अहो ! यो के चमत्कार हो, प्रभुको कस्तो लीला हो’?
‘म यसलाई लीला भन्दिन, मेरा लागि यो प्रत्यक्ष भन्दा पनि परम प्रत्यक्ष अनुभव हो, तपाईँमा मैले नारायण दर्शन गरे’।
मैले तपाईँ को अनुभवलाई प्रभुको लीला भनेको होइन, प्रभुको अपरम्पार लीलालाई सम्झेको हुँ । हिजो राति तपाईँ कुटियामा प्रवेश गर्दा मैले चतुर्भुज नारायण कुटियामा प्रवेश गर्दै गरेको देखे । तपाईँले भोजन नगर्दासम्म नारायणको रूप विद्यमान थियो। तपाई आउनु अघि मैले १०–१२ ग्राम चरेस लिई सकेको थिए, भोजन पकाउन त के, मेरो उठ्ने सम्म सामर्थ्य थिएन । तर मेरो कुटियामा आउनु भएका नारायणलाई भोग अर्पित नगरी बसे भने मेरो सम्पूर्ण साधना नै व्यर्थ हुन्छ भन्ने भावले मात्रै मैले भोजन पकाउन सके । मैले तपाईँलाई होइन नारायणलाई भोग अर्पित गरेको थिए । हामी दुबैका आँखा अहोभावले रसाए ।
कुल्लु बजार स्थित बजार पुगे पछि थाहा भयो मान भारती यहाँ पनि आएका रहेनछ । अब मसँग उदयपुर जाने बाहेक अर्को कुनै विकल्प रहेन ।
कुल्लु मन्दिरबाट कुल्लु बस स्टैण्डतिर फर्किरहेको सिद्धार्थ (म) सोची रहेको थियो–वाह प्रकृति न कमला, न कामास्वामी, न वासुदेव ! मेरा लागि सोझै नारायण दर्शन। अर्को 'सिद्धार्थ' लेखिनु पर्ने हो, प्रभुकै लीला जन्माउलान् नि कुनै न कुनै हर्मन हेस ।
उदयपुर जाने बस बेलुकी ६ बजे मात्रै जान्छ। अहिले १० बजेको छ, दिनभरि के गर्ने ? कहाँ जाने ? बस स्टैण्डमा त दिनभरि के गरी बस्नु ? मसँग ८ घण्टाको समय छ ।
कुल्लुको सबैभन्दा अग्लो डाँडालाई बिजुली महादेव भनिन्छ । किम्बदन्ती छ, यहाँ रहेको शिव लिङ्गमाथि प्रत्येक १२ वर्षमा चट्याङ खसी रहन्छ । यसो हुँदा शिवलिङ्ग टुक्रा टुक्रामा परिणत हुन्छ । मन्दिरको पुजारीले टुक्रा टुक्रा भएको शिवलिङ्गलाई नौनी घिउले जोड्दा शिवलिङ्ग जस्ताको तस्तै हुन्छ ।
कुल्लुको ‘हाइट’ झन्डै काठमाडौँ जत्रै छ र बिजुली महादेवको 'हाइट' झन्डै फुलचोकी जत्तिकै ।
मैले बस स्टैण्ड मै बिजुली महादेव जाने बाटो सोधेँ । थाहा भयो कुल्लु सहर पारि मनाली जाने बाटोमा जुन पहिलो पुल आउँछ, त्यो पुल तरेर व्यास नदी पारिबाट बस पाइन्छ त्यहाँ पुग्न । पुलसम्म पुग्न रिक्सा र ट्याम्पो पाइन्छ ।
व्यास नदी पारि बिजुली महादेव जाने बस पाइने ठाउँमा पुगेँ । बस केही बेर पहिला नै छुटी सकेको रहेछ ।त्यही बस फर्केर पुनः जाने हो । झन्डै एक डेढ घण्टा पर्खिनु पर्ने भो । म त्यहाँ रहेको एक मात्र चिया पसलमा छिरे ।
याद छैन मसँग कुन किताब थियो । चिया चुरोटसँग त्यै पढ्न थाले । यत्तिकैमा एक जना युवक आएर मेरा अगाडि बसे, उनले पनि चिया अर्डर गरे ।
बस आई पुग्यो, ती युवकले मभन्दा पहिला उठेर ‘स्वामी जी और मेरा चाय का पैसा लीजिए’ भनेर पसलेलाई पैसा दिए ।
‘अरे क्या रहे है आप, मै दे दुँगा चाय का पैसा’ भने मैले ।
कोई बात नही, हम दोनो बिजुली महादेव जा रहे है रस्ते में आप दे दीजिएगा ।
बिजुली महादेवसम्म बसको बाटो थिएन । बस छाडेर झन्डै ३०–३५ मिनेट उकालो हिँडेर पुगिन्थ्यो पहाडको टुप्पोमा । ओह, यो के यहाँ त विशाल मैदान पो रहेछ –मैदान भरी हरियो घाँस, मानौँ हरियो 'कार्पेट' ओछ्याइको हो । हिमाञ्चल र उत्तराखण्डमा डाँडाका यस्ता हरिया चौरलाई बुग्याल भनिन्छ । यस डाँडाबाट सम्पूर्ण कुल्लु, भुन्तर र पुरै पर्वती भ्यालीको दर्शन हुन्छ ।
मन्दिर दर्शन उपरान्त चौरको अस्थायी चिया पसलमा चिया खाएर हामी दुबै बस समाउन हतार हतार ओरालो झर्यौं ।
यतिन्जेल ती युवकसँग परिचय आदान प्रदान भइसकेको थियो । विहारको बरौनीका रहेछन् ,नाम राघव मिश्र । म जस्तै घुम्दै कुल्लु आएका रहेछन् । ४०–४५ दिन पहिला र कुल्लुका राजा एवम् तत्कालीन सांसदको स्कुलमा टिचर बनी बसेका रहेछन् ।
उनले एक रात आफ्नो कोठामा बस्ने निमन्त्रण दिए । मैले आज साँझ त म उदयपुर जान्छु बरु उताबाट फर्केर आएर बस्ने भने ।
जीवनमा सबै कुरा हामीले सोचे बमोजिम,प्लान गरे अनुसार कहाँ हुन्छन् ? भएको भए शायद जीवनको विचित्रता लोप हुन गई यो एकै रङ्ग-रुपको अत्यासलाग्दो मरुभूमि जस्तै हुने थियो ।
जीवनको अर्को पल नै हामीले सोचेभन्दा फरक किसिमको वास्तविकता लिएर आइदिन्छ र, त्यो एक पलको परिवर्तन अथवा स्थितिका कारण गरिएको एउटा निर्णयले सम्पूर्ण जीवन नै बदली दिन्छ । ‘निमो–नो बडी’ नामक फिल्ममा एक निर्णयले मात्र जीवनको धार नै परिवर्तित हुने कुरालाई बडो सूक्ष्म पाराले वर्णन गरिएको छ । मौका मिले युट्युबमा यो फिल्म हेर्नु होला ।
बसबाट ओर्लिन साथ राघवलाई ‘भमिट’ भयो । उनले चार पाँच पटक ‘भमिट’ गरे । मैले उनलाई सहारा दिएर दिउँसो चिया खाएको पसल सम्म पुर्याएँ ।
मेरो बसको समय हुन लागिसकेको थियो। म राघवलाई त्यो हालतमा एक्लै छाडेर जाँउ कि आजको आफ्नो यात्रा 'क्यान्सिल' गरौँ ?
अन्ततः मैले बिहान रवि गिरीले भनेको आफ्नो नारायण रुप सम्झिए । रवि गिरीमा नारायण हुन सक्छन्, मभित्र नारायणको स्वरूप हुन सक्छ त के राघवमा हुन सक्दैन ?
राघवसँग बिस्तारै हिँड्दै व्यास नदीको पुलपार गर्दै रोडमा आए । त्यहाँबाट ट्याम्पो चढी सीधै कुल्लुको राम मन्दिर नजिक राघव बसेको होटेल पुगे ।
मित्र जीवन उधारीमा टिकेको छ । मन्दिर छेउकै स्कुलमा जागिर छ । स्कुलले होटेलको यो कोठा महिनावारी भाडामा उपलब्ध गराई दिएको छ । नजिकै एउटा ढावामा चिया नास्ता र खानाको ‘एकाउन्ट ’छ । दुबै ठाउँको 'पेमेन्ट' स्कुलबाट तलब आएपछि गर्छु, राघवले आफ्नो इति वृत्तान्त भने ।
‘अनि कति दिन बस्ने इरादा छ कुल्लुमा, यस जागिरमा ’ ? मैले सोधे ।
दसैँसम्म त बस्छु, दसैँको तलब आउँदा कुनै एउटा 'माउन्टेन ट्रेक' गर्छु, यहाँको दशहरा हेर्छु अनि दिल्ली जान्छु । दिल्लीबाट यता फर्किन्छु कि फर्किन्न केही टुङ्गो छैन। अनि तपाईँको के प्रोग्राम छ ?
अब मसँग ८००–९०० रुपैयाँ बाँकी होला । आफ्नो सन्यासी मित्रको खोजीमा एक पटक उदयपुर जान्छु । उनी भेटिए भने जीवनले कुन कोल्टे फेर्छ मलाई थाहा छैन । भेटिएनन् भने ......
‘भेटिएनन् भने के गर्नु हुन्छ’?
‘त्यसको पनि टुङ्गो छैन’ ।
त्यसो भए एउटा 'प्रामिस' गर्नुस् । उदयपुरमा तपाईँको मित्र भेटिएनन् भने फर्केर यहीँ आउनुस् । दसैँसम्म यहीँ बसौँ अनि सँगै दिल्ली जाउँला । तपाईँलाई भारत मै बस्ने मूड हुन्छ भने केही नकेही प्रबन्ध होला नभए काठमाडौँसम्म पुर्याउने केही जुगाड़ गरौला।
कुल्लुबाट उदयपुर जाने बस बिहान सात बजे पनि थियो, झन्डै २०० किमीको यस यात्रामा ८–१० को समय लाग्नु स्वभाविक थियो । झन्डै तीन हजार मिटरको यस स्थानमा साँझमा पुग्दा बासको प्रबन्ध हुन गाह्रो हुन सक्ने ख्याल गरी मैले साँझको गाडी चढी बिहान त्यहाँ पुग्ने निर्णय गरे । न नुहाएको र लुगा नधोएको ५–६ दिन भइसकेको थियो ,मैले यो समय यसैका लागि समर्पित गरे र तत्पश्चात् दिनभरि सुते ।
निरन्तर
यो पनि
हर्मन हेस लिखित कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा