डा.राजुबाबु श्रेष्ठ : पृथक प्रहरी एसपी, अभियन्तादेखि सफल सर्जकसम्म
श्रावण १७, २०७७

उहाँ रहरले बनेको प्रहरी होइन । बाध्यता भन्दा अन्याय होला । आवश्यकताले न्याय गर्छ कि शायद, उहाँ भन्नुहुन्छ । जसरी पनि सरकारी जागिरे बन्नुपर्ने । प्रहरी भन्दा अन्यत्रका सरकारी आवेदनले उहाँलाई स्वीकार गरेको भए डा‍. राजुबाबु श्रेष्ठ अरु अड्डाको हाकिम हुनुहुन्थ्यो होला कि शायद ! 

बाल्यकाल 
उहाँको थातथलो गोरखा जिल्लाको गोरखा सदरमुकाम । पहिलेको पृथ्वीनारायण नगरपालिका । हाल गोरखा नगरपालिकाको तीन धारे बजार । ०२५ साल जेठ २७ मा पहिलो पाइला । तर, एसएलसी दिँदा १५ वर्ष मात्र पुग्ने भएपछि उहाँ एक वर्ष छिट्टै बुढो हुनुभयो । हेडसरले त्यस्तै बनाइ दिनुभयो । नागरिकताले यसलाई आधिकारिकता प्रदान गर्‍यो । फलस्वरूप उहाँको एक वर्षे बुढ्यौलीले मान्यता पायो । 

सामान्य परिवार हो उहाँको । वर्षभरिको खेती किसानी र आम्दानीले जसोतसो खान पुग्ने । तर, हुरल दुरल गरेर बाँड्न फाल्न नपुग्ने । कसैसँग माग्न पनि नपर्ने । कसैलाई दान दक्षिणा दिन नसक्ने । बिलकुल ठिक्क मात्रै । 

न्यूनतम आवश्यकता सबै पूरा भए । तर, फुर्मासका कुरा भने धेरै टाढा रहे ।

बत्ती थिएन । बाटो थिएन । ७ कक्षा पढ्दा मात्र हो उहाँले मोटर देख्नुभयो । ०३७ सालको कुरो हो यो । ६,७ किमी हिँडेर मोटर हेर्न आउनुपर्थ्यो । भर्खर भर्खर बाटो बनेको थियो गोरखाको । डम्फर, डोजर तथा एक्स्काभेटर हेर्नेको ताँती हुन्थ्यो । 

पढ्दा टुकीको धुवाँले नाकका प्वाल काल हुन्थे । तर पनि त्यो बाल्यकाल स्वर्णिम थियो, उहाँ बचपनतिर स्मरण गर्नुहुन्छ । 

गाउँ, गाउँ जस्तो थियो । अस्वस्थ प्रतिस्पर्धा थिएन । खुट्टा तान्ने परम्परा थिएन । अ‍ैचोंपैचों  एकदमै चल्थ्यो । कसैकोमा गएर खान बस्न धक मान्नुपर्ने अवस्था थिएन । 

मोटर गयो । विकास भयो । तर, संस्कार, परम्परा र आनीबानी भताभुङ्ग बनायो यो विकासले ।  सायद, चिची पनि पापा पनि नहुने होला, उहाँले मन बुझाउनु भयो । 
प्रारम्भिक शिक्षा 

उहाँको प्रारम्भिक शिक्षा गोरखा बजारमा रहेको कन्या निमावि अर्थात् महेन्द्र ज्योति निम्न माध्यमिक विद्यालयमा भएको हो । ७ कक्षासम्मको शिक्षा । माध्यमिक तह अर्थात् ८,९, १० भने श्री शक्ति माध्यमिक विद्यालयबाट । उक्त समयमा त्यो नै एक मात्र माध्यमिक विद्यालय थियो गोरखा बजारमा । निम्न माध्यमिक विद्यालय भने ८, ९ वटा थिए । 
उहाँले कक्षा १० मा पढ्दा १२७ जना विद्यार्थी थिए । तर, चाप बढी भएका बेला १४० सम्म पनि हुने गर्थे । उहाँले विद्यालय शिक्षाको समाप्ति यहीँबाट गर्नुभयो । 

पहिलो जागिर 

गोरखा क्याम्पसबाट ४१–४३ मा आइए सक्काएपछि उहाँ आफूले कखरा सिकेको महेन्द्र ज्योति निम्न माध्यमिक विद्यालयमा शिक्षक हुन पुग्नुभयो । दुई वर्ष उहाँ शिक्षकका रुपमा काम गर्नु भयो । 

गोरखामा त्यस बेला स्नातक पढ्ने क्याम्पस थिएन । स्नातकका लागि अब जसरी भए पनि कतै सरकारी जागिर खाएर पढ्नु पथ्र्यो । यस क्रममा जुनसुकै सरकारी जागिर भए पनि त्यो स्वीकार्य थियो । 

प्रहरी सेवामा प्रवेश

०४४ सालको सरकारी मुख पत्र यानेकी गोरखापत्रको विज्ञापन नै उहाँको प्रहरी हुने प्रवेशद्वार हो । हुनत् अन्य सरकारी सेवाको प्रवेशद्वार पनि गोरखापत्र नै थियो त्यस बखत । 
उहाँ काठमाडौँ आएर दरखास्त दिनुभयो फोटो टाँसेर । नेपाल प्रहरीको असई पदका लागि । प्रहरी प्रधान कार्यालयमा । आइए पास गर्नुपर्थ्यो असई हुनका लागि । 

मेडिकल, अप्स्ट्याकल्स र अन्तरवार्ता पास भएपछि उहाँ असई हुनुभयो । ०४५ सालमा । कमल दर्जी दाइले सिलाइदिएको कालो कोट र टिनका बक्सा बोकेर उहाँ असई हुन आइपुग्नु भयो काठमाडौँ । उहाँले कोट लगाउनु भएको पनि त्यो नै पहिलो हो ।

पुलिस बनी नसक्दै आन्दोलनमा 

पुलिसको जागिर पक्कै सुखको जागिर होइन उहाँ सम्झनु हुन्छ । भर्खरको बिस वर्षको केटोलाई ९,१० महिना तालिम दिएका भरमा मात्र के पुलिस होला र, उहाँ सम्झनुहुन्छ ।
राम्रोसँग पुलिस पनि हुन नपाउँदै सुरु भयो जनआन्दोलन २०४६ । उहाँको पहिलो पोष्टिंग नगर प्रहरीको रुपमा त्यस बेलाको महेन्द्र पुलिस क्लब अर्थात् हालको नेपाल पुलिस क्लबमा भयो । 

०४६ को आन्दोलन रोक्न वा विफल पार्न जहाँ जहाँ आन्दोलन भयो उहाँ त्यहाँ त्यहाँ खटिनु भयो । सरकारको निर्देशन बमोजिम । त्यो नै उहाँको जागिर थियो । दर्जा पनि सानो । फुली पनि सानो । त्यस बेला उहाँ एक फुलीको हुनुहुन्थ्यो । 

कानुन विहीनताको अवस्था  

०४६ सालको आन्दोलन लगत्तै एउटा कानुन विहीनताको अवस्था आयो । संक्रमणकाल भन्ने कि के ? गृहमन्त्री हुनुहुन्थ्यो योगप्रसाद उपाध्याय । न त प्रहरीलाई कुनै स्पष्ट आदेश छ न निर्देशन ! प्रहरी वास्तवमा कुनै पार्टीको हुँदैन । जसको सरकार हो उसको निर्देशनमा चल्छ । तर, यसलाई न नेताले बुझे । न प्रहरीका हाकिमले नै । यसले झनै अन्योल बनायो त्यस बेला । र, घट्न पुग्यो टेकु काण्ड, उहाँ भन्नुहुन्छ । वैशाख ११ गतेको उक्त घटनाले वास्तवमा देशलाइ नै लज्जित बनायो । 

पुलिसलाई भिडले टेकुबाट ठेलामा हालेर छाताले घोच्ने, लौरोले घोच्ने, जुत्ताले हान्ने, टाउकोमा हान्ने गरेर हनुमान ढोका, रत्नपार्क हुँदै बागबजार पुर्‍यायो । कति पुलिसले शहादत प्राप्त गरे । कति घाइते भए । बल्ल दुई तीन घण्टापछि बागबजारमा आफ्नै सहकर्मीको लास र घाइतेलाई उद्धार गर्‍यो प्रहरीले । यो कस्तो प्रजातन्त्र हो ? उहाँ प्रश्न गर्नुहुन्छ । 

यो घटनाले उहाँलाई आफ्नै जागिरप्रति वितृष्णा उत्पन्न गरायो । आखिर किन जागिर खाइएछ हँ बन्ने महसुस भयो । गाउँमा खान लाउन पाइएकै थियो । शिक्षकको जागिर पनि छँदै थियो । त्यसले यति त्रास उत्पन्न गर्‍यो कि घर जाँदा पनि एउटा बसमा गुन्टा र अर्को बसमा आफू जानुपर्ने स्थिति आयो । त्यसले अहिले पनि पिडा हुन्छ । उहाँले ०४६ साललाई यसरी स्मरण गर्नुभयो । 

कहिले जङ्गलमा । कहिले नमोबद्धको मन्दिरमा । कहाली लाग्दो इतिहास छ । उहाँ भावुक हुनुभयो । यस्तै समयमा उहाँ कार्यरत खहरेपांगाेको चौकीमा आक्रमण भयो । चौकी जलाइयो । चौकीमा कोही नभएका कारण हताहत भएनन् । अब, यसलाई तपाई के भन्नुहुन्छ ?  यसलाई कायर भन्नुस, बहादुरी भन्नुस, भगुवा भन्नुस वा चलाखी । स्वतन्त्र हुनुहुन्छ  तपाइँ ।

भाग्यको अर्को परीक्षा 

०४५ सालमा जागिरमा छिर्दा एउटा आन्दोलन बेहोरेको मान्छेले फेरि ०५२ मा इन्स्पेक्टर हुँदा अर्को आन्दोलन ब्यहोर्‍यो । माओवादी जनयुद्ध । यसलाई संयोग वा भाग्य जे भन्ने छुट पनि छ, उहाँ भन्नुहुन्छ । 

एउटा गुरिल्ला युद्धमा लागेको विद्रोही विरुद्ध युद्धका लागि नभै केवल शान्ति सुरक्षाका लागि खडा भएको फौजलाई पठाउँदा हालत के होला ? सरकारले पुलिसलाई बलिको बोको झैँ बनायो, उहाँको आरोप छ । 

युद्धको तालिम लिएको अनि विभिन्न हतियार बोकेको फौज विरुद्ध सात नाल राइफल, २ वटा पेस्तोल अनि २ वटा ग्रिनेड बोकेको पुलिसले के लड्नु । ३,४ नाल त पड्कँदै पड्किन्थेन । अब कसरी लड्नु । 

कुनै पनि युद्धमा सरकारबाट सहयोग आउने त सपनामा पनि नचिताए हुन्थ्यो । प्रहरी त केवल 'लास' गन्न जाने मात्र हो । उहाँले तितो यथार्थ र अनुभव पोख्नुभयो । 

जागिरप्रतिको अर्को वितृष्णा

टेकु काण्डले बल्ल बल्ल थामिएको उहाँको मनमा फेरि जागिरप्रति अर्को वितृष्णा जाग्यो । कतिपय साथीले त जागिर पनि छोडे । कोही युरोपतिर बसे । कोही मिसनमा गएका बखत उतै हराए । कोही अमेरिका भास्सिए । उहाँले ती साथी सम्झनु भयो । 

तर, त्यो पनि न्याय भएन । आखिर पुलिसको जागिर खाएपछि डराएर पनि त भएन । भागेर कहाँसम्म भाग्ने ? आफूसँग त भाग्न सकिन्न । भगौडाको छाप लागेपछि त झन् कसरी मुख देखाउनु ? उहाँ प्रश्न गर्नुहुन्छ ।

इन्स्पेक्टर भएपछि जाजरकोट

इन्स्पेक्टर भएपछि उहाँको पहिलो पोष्टिंग जाजरकोट । माओवादी जनयुद्ध अति प्रभावित क्षेत्र । त्यस बेला भर्खर चौकी हान्ने, लुट्ने क्रम प्रारम्भ भएको थियो । जाजरकोटको ९ महिना बडा सकसका साथ बिते उहाँको । 

जाजरकोट, काभ्रे र वालिङ गरी जीवनका २७ महिना हरेक रात अनिदो रह्यो उहाँको । 

त्यसपछि जनकपुरको सबैलामा जिम्मेवारी सम्हाल्नु भयो । मातृका यादवको गाउँ । माओवादी अति प्रभावित । तर नारायण घाटमा भने केही सामान्य अवस्था रहयो ।  
वास्तवमा भाग्यले बाँचेको हो । हतियार भएर, लडेर बहादुरी देखाएर बाँचेको होइन । 

वास्तवमा सरकारले हामीलाई तँ जा, लड्न आए मर् । यदि आएनन् र बाँचिस् ठिकै छ । यदि मरिस भने  परिवारलाई साँढे सात लाख दिन्छु भनेर पठाएको हो सरकारले । उहाँले सरकारप्रतिको रोष व्यक्त गर्नुभयो । 

चौकीमा नकाटेको रात 

घरमा पैसा नपठाए श्रीमती, बालबच्चा भोकै रहने । आफू मातहतका सिपाहीको अवस्था सम्झँदै उहाँ भन्नुहुन्छ, हामीले चौकीमा रात काटेकै छैनौँ । चौकीमा एउटा रेडियो बजाएर अल इण्डिया लगाइदियो । रातभर बज्छ । गाउँकै भुस्याहा कुकुर ल्याएर बाँध्यो । रातभर भुक्छ । अनि एउटा बत्ती बाल्यो । दुस्मनले पुलिस जागै छ भन्ठान्छ । 

जिन्दगी बाँच्नु सबैभन्दा ठुलो कुरा हो । बाँच्नलाई यो बाहेक अर्को उपाय थिएन । अनि कहिले रोशीको किनारमा रात बितायो । कहिले मकै बारीमा । कहिले जङ्गलमा । कहिले नमोबद्धको मन्दिरमा । कहाली लाग्दो इतिहास छ । उहाँ भावुक हुनुभयो । यस्तै समयमा उहाँ कार्यरत खहरेपा‌ंगोको चौकीमा आक्रमण भयो । चौकी जलाइयो । चौकीमा कोही नभएका कारण हताहत भएनन् । अब, यसलाई तपाई के भन्नुहुन्छ ?  यसलाई कायर भन्नुस, बहादुरी भन्नुस, भगुवा भन्नुस वा चलाखी । स्वतन्त्र हुनुहुन्छ तपाईँ । उहाँले जिम्मेवारी पन्छाउनु भयो । 

यसलाई उपलब्धि भन्नुस वा सङ्गठनप्रतिको बेइमानी । माओवादी जनयुद्ध कालमा उहाँ मातहतका कसैले पनि ज्यान गुमाउनु परेन । अहिले पनि ती कर्मचारीले उक्त समयको याद गराउँछन् । त्यस बेलाको निर्णयले दुबैपक्षलाइ क्षति भएन । आखिर ठिकै गरिएछ होइन त !  ती साथीहरू भेट्दा हामी कुरा गर्ने गछौं । 

आखिर युद्धको परिणाम के भयो सबैका सामु छर्लङ्ग छ । कसैलाई सत्तामा पुग्ने भर्‍याङ पो रैछ युद्ध त ! उहाँले आक्रोश व्यक्त गर्नुहुन्छ । 

प्रहरीप्रति पूर्वाग्रही धारणा 

बेलुकी ५ बजे पछि र बिहान १० बज्नु अघि कुनै सरकारी कार्यालय जनताको सेवामा रहन्छ भने त्यो प्रहरी मात्र हो । तर, पनि यस्तो सङ्गठनलाई जनताले कहिले पनि सकारात्मक ढङ्गले हेर्ने गरेका छैनन् । उहाँ गुनासो गर्नुहुन्छ । 

प्रहरीले जनतालाई कुट्ने, पिट्ने थुन्ने कारणले यसो भएको होला कि ! तर, यहाँ प्रहरीले अपराधीलाई कारबाही गरेको हो । अरूलाई होइन । पुलिसले पर्‍यो भने बाउलाइ पनि थुन्छ भन्छन् । आखिर यसले बाउलाइ थुनेको होइन । अपराधीलाई थुनेको हो । यदि आफ्नो मान्छे भएका कारण प्रहरीले छोड्छ भने के त्यो राम्रो प्रहरी हो त ? उहाँ प्रश्न गर्नुहुन्छ । 

सँगसँगै प्रहरीका क्रियाकलाप, काम, कर्तव्य पनि दोष मुक्त नरहेको उहाँ बताउनुहुन्छ । यसमा प्रहरीले पनि आफ्ना बोली बचनदेखि व्यवहारमा आफूलाई सुधार्नु पर्ने धेरै ठाउँ देख्नुहुन्छ उहाँ । 

अहिले पनि ९० प्रतिशत प्रहरी असल रहेको उहाँको दाबी छ । तर, खराब १० प्रतिशतको जताततै हालीमुहाली भएका कारण सिङ्गै सङ्गठन बदनाम भएको उहाँको धारणा छ । 

सिस्टम बसाउन खोजिएन  

०४६ सालपछि कुनै पनि नेताले अनि पार्टीले प्रहरीमा सिस्टम बसाउन नखोजेको उहाँको दाबी छ । सिस्टम बसे उनीहरूको स्वार्थपूर्ति हुँदैन । त्यसैले पार्टीको बनाउन खोजियो । गिरिजाबाबुले काँग्रेस, माधव नेपालले एमाले र प्रचण्डले माओवादी बनाउन खोजे ! कहिले पुलिस बनाउनै खोजेनन् । उहाँको आरोप छ । 

जब एउटा पार्टीको अनि नेताको पुलिस बनाउन खोजिन्छ भने त्यो जनताको अनि कसरी देशको पुलिस बन्न सक्छ ?

नेताले आफ्नो क्षेत्रमा पावर लगाएर लगेको एसपी अरूको त हुनै सक्दैन । उसले नेताको भक्ति नगरे कसको गर्छ ? उहाँको प्रश्न छ । असल पठाइदेऊ भन्ने हो नि ! यही सरुवाको व्यवस्थाबाटै प्रहरीलाई कमजोर बनाउने काम  सुरु हुन्छ । यसले पुलिसलाई दास बनाउने काम मात्र भयो । 

प्रहरीमा ३० वर्षे 

०४९ सालमा जब प्रहरीमा ३० वर्षै नियम लागु भयो त्यहीँबाट पुलिसलाई दास बनाउने परम्पराको प्रारम्भ भएको हो । हेमबहादुर सिंह र रत्न शम्शेर जबरासम्मको कार्यकाल ठिक थियो । त्यस बेलासम्म पुलिसको आफ्नै मर्यादा थियो । नेताहरूको घरघरमा धाउन हुँदैन भन्ने थियो । त्यही नेताको घरघर नधाएका कारण रत्नशम्शेर जबरालाई दुई वर्षमै हटाइयो । 

त्यसपछि आउनु भएको मोतीलाल बोहराले यसलाई पुलिस पार्टी बनाउनु भयो । बोहराले दुई वर्ष थप गरी चार वर्ष आइजि खानुभयो । उहाँले ३० लाई ३२ बनाउनु भयो । 

३०–३२ को यो खेलमा आइपुग्दा ०४९ देखि हालसम्मको यो २७ वर्षमा  कुनै एउटा आइजिपीले पूरा कार्यकाल काम गर्न पाएको छैन ।  ५,७, ९,११ महिना प्रमुख भएर काम गरेर सङ्गठन चल्छ ? उहाँ प्रश्न गर्नुहुन्छ । 

जुन संगठनको नेतृत्व नै अस्थायी र अस्थिर छ उसले कसरी काम गर्छ । यस मानेमा त प्रहरीले धन्न काम गरेको छ भनेर धन्यवाद पो दिनुपर्छ, उहाँको तर्क छ ।  उहाँको दाबी छ, जुन देशको पुलिस भ्रष्ट छ, कमजोर छ, त्यो देशका जनताले कहिल्यै सुख पाउँदैनन् । लेखेर राख्नुस् । थप जोड लगाउनुभयो उहाँले । 

३० वर्षेले पुलिसलाई पङ्गु बनायो । नेतृत्वको सुनिश्चितता छैन । २४ घण्टा अघिसम्म को आइजिपी हुने भन्ने पत्तो हुन्न । चिट्ठा परेको जस्तो प्याट्ट आइजिपी हुन्छ अनि उसले के गर्छ । उ सँग कुनै योजना नै हुँदैन । 

यसको सारा जड भनेकै ३० वर्षे हो । उहाँको ठोकुवा छ ।  यदि ३० वर्षे लगाउने नै भए पनि अरु पदमा लगाऊँ । आइजिपी जो सुकै भए पनि उसलाई पूर्ण कार्यकाल काम गर्न दिऊँ, उहाँको माग छ । 

५, ५ महिनामा आइजिपी बदल्दा यसको भार त सोझै देश र जनतामा पर्न जान्छ । उहाँको मान्यताले भन्छ । 

यस्तो नियम लेराउने नेतालाई त भ्रष्टाचारको मुद्दा पो लगाउनु पर्छ । उहाँको तर्क छ । 

मागी विवाह 

उहाँको विवाह साथी विश्व थापाले जुराइ दिनुभएको हो । तर, परिहाल्यो भने छोरीको विवाह गर्नका लागि भनेर राखिएको सुन चोरी भएपछि साथी थापाले सहयोग गरेछन् । केटा सुनिश्चित थिएन । उहाँले मेरो साथी छ भनेर भन्नु भएछ । 

०५४ सालको कुरा हो यो । इन्स्पेक्टर हुनुहुन्थ्यो उहाँ त्यस बेला । थापाजीले ३,४ पटक भनेपछि उहाँ केटी हेर्न जानु भयो । सामान्य कुराकानी भयो । चित्त बुझ्यो । त्यसपछि विवाहको साइत जुरेको हो । उहाँका एक छोरा र छोरी छन् । 

प्रहरी घरेलु कामदार राखिन

अहिले पनि ३,४ हजार प्रहरी घरेलु कामदारको रुपमा छन् । यो अन्याय हो । मैले राख्न सक्थेँ । तर कहिल्यै राखिन् । उहाँको दाबी छ । यसले अवकाश पछि गाह्रो बनाउँछ । नत्र म अहिले यसरी भुँइ पुच्छन सक्थेँ होला र ! उहाँले भर्खरै पुछेको भुँइ देखाउँदै भन्नुभयो । 

अर्को कुरा एउटा उच्च प्रहरी अधिकृतले कामदार प्रहरी राख्दा झन्डै ६०, ७० हजार राज्यको खर्च हुन्छ । विना कारण राज्यको यत्रो पैसा सक्काउने हैसियत के हो उहाँहरूको ? उहाँको जिज्ञासा छ । 

अहिले पनि भूतपूर्व गृहमन्त्री, सचिवको घरमा कामदार प्रहरी छन् । यसो गर्न कुन कानुनले दिन्छ ? उहाँ प्रश्न गर्नुहुन्छ ।  सुरक्षाको खतरा छ भने निवेदन दिएर सुरक्षा लिए हुन्छ । तर, कस्तो र कहाँबाट भन्ने उचित कारण त चाहियो नि ! उहाँ भन्नुहुन्छ ।  यो राज्यको दोहन हो । भ्रष्टाचार हो उहाँ भन्नुहुन्छ । 

वीरगन्ज नै किन ? 

वीरगन्जको एसपी नै किन ? उहाँको प्रश्न छ । एसपी त काभ्रेमा पनि छ । पोखरामा पनि छ । दुबै ठाउँको एसपीको अधिकार र सेवा सुविधा उही नै हो । के वीरगन्जमा पोखरा र काभ्रे भन्दा हावापानी राम्रो छ ? प्राकृतिक छटा छ ? सफा सुग्घर छ ? शैक्षिक केन्द्र हो ? 

यी कुनै पनि होइन । भन्न लाज मान्नुहुन्न । वीरगन्ज रोज्नुको प्रमुख कारण नै पैसो  नै हो । देशको ७० प्रतिशत आयात हुने प्रमुख नाका हो वीरगन्ज । अरबौँको राजस्व उठ्ने प्रमुख भन्सार नाका हो वीरगन्ज । 

त्यस कारण त्यहाँ केवल छ त पैसा, पैसा अनि पैसाका लागि तँछाडमछाड हुन्छ ।

वीरगन्जको एसपी बन्दा 

उहाँ पनि वीर गन्जको एसपी नबनेको होइन । चाहेर होइन । नेतृत्वले किन भन्यो उही जानोस् । उहाँ १४ महिना वीर गन्जको एसपी बन्नुभयो ।  एक दिन छिमेकीकोमा बेलुका चिया खाँदै गर्दा त्यस बेलाका आइजिपी उपेन्द्रकान्त अर्यालले भोलि वीरगन्ज जाने तयारी गर्नुस् भनेर फोन गर्नुभयो । 

०७२ साल असोज १ गतेबाट नाकाबन्दी भयो । उहाँको पोष्टिंग भने असोज २४ गते भएको थियो ।  माघ २१ गतेसम्म आन्दोलन थियो । आन्दोलनका ५ महिना मध्ये ४ महिना उहाँ वीरगन्जमै हुनुहुन्थ्यो । सीमा बन्द भएर खुलाउने कोसिस गर्दा भएको कारबाहीमा एक जना भारतीय नागरिकको मृत्यु भयो । त्यसको जिम्मेवारी उहाँले नै लिनुभएको हो । 

त्यत्रो आन्दोलन भयो । कति मारिए । कति घाइते भए । जनधनको क्षति भयो । कुनै दिन गृहमन्त्रीलाई चासो भएन । गृहमन्त्री हुनुहुन्थ्यो विमलेन्द्र निधि । तर, जब उहाँले एक जना हुन्डी कारोबारीलाई कारबाही गर्नुभयो २४ घण्टा नबित्दै गृहले उहाँलाई काठमाडौँ तान्यो । आखिर, व्यापारी, हुन्डी कारोबारी अनि तस्करको त गृहमन्त्रीसँग नजिकको नाता हुँदो रहेछ त ! त्यस बेला महसुस गर्नुभयो ।  

मन्त्रीलाई त तस्करले चलाएको रहेछ भन्ने उहाँको प्रत्यक्ष अनुभव हो यो । उहाँको कसुर भनेको गृहमन्त्रीको मान्छे थुन्नु । छोड भन्दा नछोड्नु ! गृहमन्त्रीलाई नाथे एसपीले मैले भनेको नमान्ने भन्ने लाग्यो होला । तर, हामीले त कानुनले भनेको मान्ने हो, उहाँ स्पष्ट हुनुहुन्छ । 

तर, त्यसको असर निधिजीलाई नै पर्‍यो । सारा सञ्चार माध्यम र नागरिक समाजले यो कुराको विरोध गर्‍यो । निधिजीले निर्णय फिर्ता लिँदै २ दिनमा नै उहाँलाई फेरि वीरगन्ज पठाउनु पर्‍यो । 

वीरगन्जको अर्को रमाइले प्रसङ्ग सम्झनु भयो उहाँले । त्यस बेलाका भन्सार अधिकृत सेवन्त पोखरेलजीले भन्नुभएको हो । उहाँको कार्यकाल र कार्यकाल पछिको राजस्वमा ५,७ अरबको फरक परेको रहेछ । 

आखिर लाग्दो हो ! वीरगन्ज बसेको एसपी उसले पनि त कमायो होला ? त्यस बेलाको सिडिओ, कर्णेल, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, व्यापारी, पत्रकारमाझ सर्वेक्षण गर्नुस् र कसैसँग एक हजार मात्र लिएको प्रमाण छ वा अगाडी आएर भन्छ भने म मेरो सबै जायजेथा उसकै नाममा गरिदिन्छु । यो मेरो चुनौती हो ।

आखिर अन्य सरकारी कार्यालयका प्रमुखहरू त त्यहीँ छन् । केवल एउटा एसपी सरुवा हुँदा राजस्वमा यति फरक पर्छ भने यसको छानबिन हुनुपर्छ । र, जसले त्यहाँ अर्को एसपी खटायो उसलाई भ्रष्टाचारको मुद्दामा किन कारबाही नचलाउने, उहाँ प्रश्न गर्नुहुन्छ । 

 

गृह सचिवसँग सवाल जवाफ

एसपी राजुबाबु श्रेष्ठलाई गृह मन्त्रालय तानिएपछि एक दिन गृह सचिवसँग कार्यकक्षमा सवाल जवाफ नै भएछ ।  उहाँले गृह सचिव लोकदर्शन रेग्मीलाई, ‘श्रीमान् गृह मन्त्रालय जस्तो एउटा संस्थाले तस्करको साथ दिन मिल्छ ? तस्करको साइड लिएर एसपीलाई 'ड्यामेज' गर्ने ? प्रहरी सङ्गठनलाई 'ड्यामेज' गर्ने ? यसो गर्न मिल्छ हजुर ?’ भनेर उहाँले हालका मुख्य सचिव तथा तत्कालीन गृह सचिव लोकदर्शन रेग्मीलाई जवाफ फर्काउनु भएछ ।  

गृह सचिवका अगाडि आइजिपी त हजुर हजुर भनेर अघि पछि गर्छन् भने एउटा जाबो फिस्टे एसपीले त्यसो भन्दा के भो होला ? 

तर, उहाँलाई भने रत्तीभर डर लागेन । पछि यसो सम्झँदा त्यो आँट कहाँबाट आयो होला ? भन्ठानेँ । आखिर त्यो आँट र हिम्मत भनेको इमानदारिता र निष्ठाको थियो, स्पष्ट पार्नुभयो उहाँले । तर, त्यसबापत उहाँलाई गृहले सधैँ ‘कर्नर’ पारिरहयो ।  नैतिकताको मूल्य यसरी चुकाउनु पर्‍यो, उहाँको गुनासो छ । 

आखिर मान्छे हो । सबैलाई लाग्छ राम्रो काम गरेर किन ‘कर्नर’मा जानु पर्ने ?

यहाँ हरेक क्षेत्रका असल मानिसलाई ज्यादै कठिन छ । 

कमजोर बढुवा व्यवस्थापन

प्रहरीमा बढुवाको उचित व्यवस्थापन नभएको उहाँको अनुभव र गुनासो दुबै छन् । 

उहाँ डिएसपी हुँदा पनि कहिल्यै जिल्ला बस्नु भएन । धेरैजसो हेडक्वार्टर । केही समय मिसनमा । अनि प्रहरी स्कुल साँगामा ।

३० वर्ष जागिर खानेले २६ वर्ष चार वटा पोस्टमा बस्नुपर्छ । अनि बाँकी एक वर्षमा ३ वटा पोस्टमा जानुपर्छ । यस्तो पनि कहीँ करियर डेभलपमेण्ट प्लान हुन्छ, उहाँ प्रश्न गर्नुहुन्छ । 

पदमा पुगेपछि साहित्यकार 

हामीकहाँ धेरै मानिस पदमा पुगेपछि साहित्यकार बनेका छन् । प्रहरीमै पनि ठुला पदमा पुगेपछि गीतकार बन्ने छन् । तर, उहाँ भने पुलिस बन्नु भन्दा अघिको साहित्यकार । ८,९ कक्षा पढ्दा देखि नै कविता लेख्ने । गोरखा क्याम्पस पढ्दा पनि धेरै लेख्नुभयो । 

पुलिसमा आउनुभन्दा पहिले नै उहाँका लेखहरू राष्ट्रिय पत्रिकामा प्रकाशित भई सकेका थिए । 

उहाँको पहिलो प्रकाशन ०४३ सालमा । गोरखाबाट निस्कने नवकिरण पत्रिका मार्फत । पहिलो प्रकाशन कथा र कविता दुबै थियो ।  पछि राष्ट्रवाणी, मिर्मिरे, मधुपर्कमा पनि हुन थाल्यो । 

०४३ सालमा गोरखा जिल्लामा भएको पृथ्वी रनिङ शिल्ड नृत्य प्रतियोगितामा उहाँको स्कुल महेन्द्र ज्योति प्रथम भएको थियो । उहाँ शिक्षक हुनुहुन्थ्यो ।  प्रथम भएको गीतको उहाँ गीतकार, सङ्गीतकार र नृत्य निर्देशक समेत हुनुहुन्थ्यो । 

उहाँको कला साहित्य प्रतिको अनुराग पुलिस हुनु पहिलेदेखि रहेको यसले प्रस्ट्याउँछ ।  पुलिसको स्वभाव कठोर । तर, साहित्यका लागि हुनुपर्ने भावनात्मक । उहाँको हकमा भने यो लागु भएन । 

पेसा बदलिएर मान्छेको मन बदलिन्छ भन्ने कुरामा उहाँ विश्वास गर्नुहुन्न । 
पुलिसको जागिर त झन् उहाँको लागि साहित्यको उर्वर फाँट बन्न पुग्यो बन्यो । जता हेर्‍यो त्यतै कथा । 

पुलिस र डाक्टरका हरेक 'क्लाइन्ट'ले कथा बोकेर आएका हुन्छन् । देख्न सक्नु र लेख्न सक्नु तपाँइको खुबी हो, उहाँ भन्नुहुन्छ । 

उहाँ दिउँसोका ती घटनालाई राती डायरीमा उतार्ने गर्नुहुन्थ्यो । जो पछि सिर्जना बनेर आए । त्यस कारण पनि उहाँ प्रहरी सङ्गठनप्रति आभार व्यक्त गर्नुहुन्छ । 

प्रकाशन

उहाँका अहिलेसम्म ३ वटा कथा सङ्ग्रह । २ वटा कविताका सङ्ग्रह । र, झन्डै २ सय गीत रेकर्ड भएका छन् । कथासङ्ग्रहका कुरा गर्दा एउटा युगोस्लाभियाको वरपर घुमेको छ । अर्को सुडान । जहाँ उहाँ मिसनमा गएका बेलाका विषयवस्तुमा आधारित छन् । तेस्रो भने माओवादी जनयुद्धको वरपर घुमेको छ । यो सबै पुलिसमा जागिर हुँदाको उपलब्धि हो । 

गीतको प्रसङ्ग भने अलि फरक छ । गीत भने जवानीका बेलाका डायरीका सङ्ग्रह हुन् । 

गोरखा छुटे पनि डायरी र मन भने सँगै आए, उहाँ सम्झनुहुन्छ । ०४० पछि लेखेका गीत पनि ०६० पछि मात्रै आए । जब एकदुईवटा गीत रेकर्ड भए त्यसपछि लाग्यो यो त रेकर्ड गर्ने चिज पो रैछ । डायरीमा राख्ने चिज होइन रैछ । 

एक, दुई वटा गीत हिट भएपछि गीतप्रति अनौठो आकर्षण बढ्यो उहाँमा । लगभग ५,७ वर्ष त कथा छुटे । केवल गीत मात्र रहे । 

०६० देखि ०६६ सम्म प्रायः सबै रेडियोका पुरस्कार जितेका छन् उहाँका गीतले । 

रेडियो कान्तिपुर, हिट्स एफएम, इमेज, कालिका र अन्य थुप्रै पुरस्कार र सम्मान प्राप्त भएको छ उहाँको गीतलाई । 

पानीको फोका जस्तै फुट्यो हाम्रो माया भन्ने मनोज राजले गाएको गीतले ४, ५ वर्ष मेगाहिटको रुपमा रेकर्ड नै बनायो । चोट खाँदा खाँदा मुटु अचानो सरी भो....मनोज राज, बचनैले जोड्यो नाता...राजेश पायल राई, सम्पत्ति दिएँ....दीप श्रेष्ठ, सकिएन भुल्न......शिव परियार, मन मिल्ने मान्छे कतै...अन्जु पन्त, स्वरूप राज, मनभित्र देऊ न मलाइ बास...मिलन नेवार आदि उहाँका चर्चित गीत हुन् । 

पहिले गीत बाँड्दै हिँड्नु पथ्र्यो भने पछि गीत माग्दै आउन थाले । पैसा दिने भन्ने चलन नै थिएन । अहिले भने पैसा पनि आउन थालेको छ । एक प्रकारको सन्तुष्टि मिलेको छ यी सबैबाट, उहाँ भन्नुहुन्छ । अवकाश पछि यसले झन् बेग्लै आनन्द दिएको उहाँ बताउनुहुन्छ ।

समाजसेवाको पाटो 

जागिरे हुँदै करिब १० वर्ष अघिदेखि उहाँमा समाजसेवाको सोच पलाएको हो । ०६७ सालमा उहाँले पैतृक सम्पत्तिको रुपमा प्राप्त गर्नु भएको गोरखाको साँढे पाँच रोपनी जग्गा समता स्कुललाई दान दिनु भएको हो । 

आफू डेरामा बसे पनि उहाँले कराडौं मूल्यको जग्गा दान कसरी दिनु भयो त ? उहाँले आफूलाई प्रयोग गर्न चाहेको बताउनुभयो । कमाउन मात्र होइन समाजको लागि केही दिने आदत र प्रयोग दुबै आफूले गर्न खोजेको उहाँ बताउनु हुन्छ । 

यस विषयमा परिवारलाई मनाउँदा उहाँले आफूले बाबुबाट प्राप्त गरेको सम्पत्ति भन्दा केही थोरै थपेर दिने प्रतिबद्धता पनि जनाउनु भएको छ । तर, त्यो अनैतिक सम्पत्ति भने हुने छैन भन्ने प्रण पनि छ उहाँको । 

उहाँले आफूले मात्र होइन साथीभाइलाई समेत आफूले कमाएको रकमको ९५ प्रतिशत सन्तानलाई छोडे पनि ५ प्रतिशत आफू जन्मे हुर्केको जिल्लालाई दिनुपर्छ भनेर मनाउनु भएको छ । 

अहिले धेरै साथीहरूले उहाँलाई सहयोग पनि गरिरहनु भएको छ । जसले हाल गोरखा जिल्लामा केही प्रोजेक्टहरू सञ्चालन भएका छन् । तर, उहाँ पैसा भने आफू लिनुहुन्न । 
हाल गोरखामा केही बनिसकेका र केही बन्दै गरेका पार्क, लाइब्रेरी सामुदायिक भवन यस प्रोजेक्ट अन्तर्गतका हुन् । 

हिजो र आजको राजुबाबुबिच के अन्तर ?

हिजो गोरखाको निमाविको सामान्य शिक्षक । कमल दर्जी दाइले सिलाएको कालो कोट लगाएर काठमाडौँ आएको असई । एउटा एसपी । एक पिएचडी डाक्टर । एक सर्जक । अनि हाल सेवा निवृत्त राजुबाबुबिच केही अन्तर नरहेको उहाँ बताउनुहुन्छ ।

समयले ठाउँ फेरियो, पद फेरियो अवस्था फेरियो होला । मलाइ हेर्ने आँखा फेरिए होलान् । त्यस कारण परिवर्तित देखिएको होला राजुबाबु । तर, गोरखाबाट जुन मन लिएर जुन राजुबाबु आएको थियो त्यो आजसम्म पनि उही छ । उहाँको पुष्ट्याँइ छ । 

हमनिके साथी प्रहरी 

०७२ साल माघ २१ गते एक्कासि मधेस आन्दोलन रोकियो । मधेसका जनता तथा नेता पनि आश्चर्यमा परे । आन्दोलन कहाँबाट र कसरी रोकियो । अत्तोपत्तो छैन । 

अस्तिसम्म लाठी, मुङ्ग्री र गोली चलाएको पुलिस जनताको नजरमा हत्यारा आतङ्ककारी छँदैछ । अब कसरी जनतामा जाने । उहाँलाई छटपटी भयो । 

अनि वीरगन्जका प्रतिष्ठित समाजसेवी डा. दीपक शाक्यलाई उहाँ अध्यक्ष रहेको आदर्श माविका एकसय बिस जना बच्चा दिन भन्नुभयो उहाँले । 

एक सय बिस जना बच्चा र एक सय बिस जना प्रहरीको र्‍याली । 'हातमा हमनिके साथी प्रहरी, हाम्रो साथी प्रहरी, पुलिस आउर फ्रेण्ड' लेखेको प्लेकार्ड बोकेर मकालु चोकदेखि विभिन्न ठाउँ हुँदै एसएसपी कार्यालयसम्म पुग्यो । 

यसले वीरगन्जमा एक प्रकारको सनसनी नै मच्चियो । पुलिसले के गर्‍यो यस्तो । लोकल मिडियादेखि सबैले यसका बारेमा चर्चा गरे । 

जिल्ला प्रहरी कार्यालयमा ल्याएर बच्चाहरूलाई जुस बाँडियो । चकलेट बाँडियो । ४०,४० जनाको तीन समूह बनाइयो । एसएसपी नारायण खड्का अनि ट्राफिकका अधिकारीलाई पनि कक्षा लिन भनियो । 

बच्चासँग जिस्कने, खेल्ने गरियो । फोन साटासाट गरियो । बच्चाको नजिकको सम्बन्ध उसको साथीसँग हुने गर्छ ।  यसपछि उहाँलाई बच्चाको फोन आउन थाल्यो । 

एक दिन पोद्दार थर भएको केटोले फोन गर्दै भन्यो, एसपी अङ्कल मेरो दिदीलाई स्कुल जाने बेलामा एउटा केटाले तङ गर्छ ।  उहाँले उक्त बालकलाई त्यो केटोलाई आफूले दिएको भिजिटिङ कार्डको फोटोकपी दिएर फेरि तङ गरे एसपी अङ्कललाई फोन गर्छु भन भन्नुभयो । नमाने केही गरौँला । त्यसपछि थप केही गर्नु परेन, उहाँ भन्नुहुन्छ । पछि खुसी भएर केटीका बाबुआमा पनि आएर भेटे उहाँसँग ।  

यो कार्यक्रम उहाँको आफ्नो उत्पादन होइन । ‘कपी पेष्ट’ हो । यस्तो कार्यक्रम तामिलनाडुका एक एसपीले गरेर वाहवाही पाइसकेका थिए । जापानमा पनि यस्तै किसिमका अन्य कार्यक्रम भएको उहाँलाई जानकारी थियो । त्यसैलाई यहाँ कार्यान्वयन गर्नु भएको थियो । 

वीरगन्जको यो कार्यक्रम यति चर्चित भयो कि बाध्य भएर नेपाल प्रहरीले असार २७ गते प्रहरी मेरो साथी भन्ने कार्यक्रम ल्याउन बाध्य भयो ।  त्यस बेला हाम्रो साथी प्रहरीको ४९ भाग भैसकेको थियो । 

५० औँ भागको कार्यक्रममा उहाँले अब हाम्रो साथी प्रहरी नेपाल सरकारको प्रहरी मेरो साथीमा परिणत भएको घोषणा गर्नुभयो ।  हाम्रो साथी प्रहरी वीरगन्जमा लोकप्रिय हुँदै भनेर कान्तिपुरले लेखेको पनि थियो । यसमा उहाँको नाम कतै जोडिएको छैन । तर, पनि उहाँलाई चित्त दुखाइ भने छैन । 

हप्ताको दुई दिन कक्षा

मधेसको ठुलो समस्या भनेको बालविवाह र दाइजो प्रथा हो । उहाँले यसको अन्त्यका लागि कक्षा ९, १०, ११ र १२ का किशोरीहरूको २९ वटा गल्र्स क्लब गठन गर्नुभयो । 
उहाँले हप्ताको दुई दिन विभिन्न स्कुलमा कक्षा लिँदै ‘दहेज लेने से शादी नहिं करेंगे र अठार वरस से आगे ब्याह नहीँ करेंगे’ भन्ने नारा स्वयं किशोरीहरूलाई लगाउन लाउनु भयो । 
स्थानीय पत्रिकाले किशोरीहरूले ‘दहेज लेने से शादी नहीँ करेंगे’ भनेर नारा लगाएको समाचार पनि छापे । 

आखिर यो एउटा चेतना थियो । अब छोरीले हामीले भनेको मान्दिन भनेर एक जनाले स्कुल पठाउन छोडे । पछि रेखा झा सहितका ९ जना क्लबका किशोरीहरूले गएर केटीका बाबुलाई एसपी अंकलले भनेको छोरीलाई स्कुल पठाउनुस् भनेर मनाएपछि उनले छोरीलाई स्कुल पठाउन थाले ।

उहाँले उक्त क्लबका लागि स्टेशनरी उपलब्ध गराउनु भयो । उहाँको नम्बर उपलब्ध गराउँदै केही पर्‍यो भने जुनसुकै बेला खबर गर्न भनियो । आवश्यक पर्दा स्थानीय प्रहरीलाई परिचालन गर्न निर्देशन पनि गरियो । यसले पुलिसले गर्ने काम त्यहीँका किशोरीहरूले गर्ने भए । 

तर, दुखको कुरा उहाँको सरुवा भएपछि यसले निरन्तरता पाएन । प्रहरीको बलमा उनीहरूले समाजमा लड्न खोजेका थिए । प्रहरीले साथ दिएन भनेर उनीहरूले फोन पनि गरे उहाँलाई । 

हरियाली वीरगन्ज 

वीरगन्जको आदर्श नगरमा सामुदायिक प्रहरी गठन गरी हरियाली अभियान सञ्चालन गर्नुभयो उहाँले । अहिले त्यहाँ पाँच सय आठ दश फिटका बिरुवा देख्न सकिन्छ । त्यसको नाम वीरगन्ज ग्रिन सिटी सामुदायिक केन्द्र नै राखियो । 

बिरुवा हेर्नका लागि बिहान बेलुका दुई जना प्रहरीलाई खटाइयो । यदि कसैको घर अगाडीको बिरुवा मर्‍यो भने उसले त्यसको मूल्य तिर्नुपर्ने र बिरुवा पनि लगाउनुपर्ने नियम राखियो । 

यसो भएपछि पुलिसले पनि बिरुवा हेर्ने । पब्लिकले पनि बिरुवा हेर्ने गर्न गर्न थाले । अब बिरुवा हुर्कन थाले । हुन त यसअघि पनि बिरुवा नरोपिएका होइनन् तर रोपिए मात्र संरक्षण भएन । 

यो एउटा हरियाली आन्दोलन थियो, उहाँ सम्झनुहुन्छ । 

यी कार्यक्रमले एउटा शिक्षा दियो । पुलिस मात्रैले शान्ति सुरक्षा पनि दिन सक्दैन । केही गर्न सक्दैन् । तर, समुदायसँग मिलेर गर्‍यो भने जुनसुकै कार्यक्रम पनि सम्भव छ । 

झुटो सावित गर्ने चुनौती

आखिर लाग्दो हो ! वीरगन्ज बसेको एसपी उसले पनि त कमायो होला ? त्यस बेलाको सिडिओ, कर्णेल, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, व्यापारी, पत्रकारमाझ सर्वेक्षण गर्नुस् र कसैसँग एक हजार मात्र लिएको प्रमाण छ वा अगाडी आएर भन्छ भने म मेरो सबै जायजेथा उसकै नाममा गरिदिन्छु । यो मेरो चुनौती हो । उहाँले चुनौती पनि पेस गर्नु भयो । 

घरको नियम

सामान्यतया उच्च पदमा पुगेपछि मानिस अल्छी बन्छ । विलासी बन्छ । तर, उहाँको घरको नियम भने बेग्लै छ ।  बिहानको खाना बनाउने तथा भाँडा माझ्ने श्रीमतीको काम । पूजा गर्ने, चुलो पुछ्ने, भुँइ पुछ्ने उहाँको काम । 

खाना मिठो बनाउन नसक्ने कारण बेलुकीको खाना श्रीमतीजीको भागमा । तर, भाँडा माझ्ने भने उहाँको काम । घर, भर्‍याङ बढार्ने काम छोरीको । पुछ्ने काम छोराको । लुगा धुने भने मेशिन छ । 

हप्तामा दुई दिन भ्याक्युम लगाउने काम उहाँको । आआफ्नो ट्वाइलेट आफू आफूले सफा गर्ने । कमन ट्वाइलेट सफा गर्ने काम भने उहाँको भाग । यस्तो कार्य विभाजन भएका कारण आजसम्म विमति आएको छैन । 
यो एक अर्काको परस्पर हेरविचार हो । यसले परिवारमा एक जना मात्र घोटिएर रोगी हुने प्रवृत्तिको अन्त्य गर्छ ।  खाना सँगै खाने र त्यसपछिको आधा घण्टा जिरो आवर । त्यसमा हाँसी मजाक देखि आफूलाई लागेका कुरा राख्न पाइन्छ । एउटा बेग्लै रमाइलो छ यसमा उहाँ थप्नुहुन्छ । 

अन्त्यमा 

काठमाडौँमा असईको तलब नौ सय चालिस थियो । यसले के हुन्थ्यो र ! ट्युसन पढाउन कुपण्डोलको उकालोमा साइकलमा पसिना बगाएको आजै जस्तो लाग्छ उहाँलाई । उहाँको कुनै महत्त्वाकाङ्क्षा थिएन । जिन्दगीमा यहाँ पुग्छु भन्ने उद्देश्य पनि थिएँ । तर, निरन्तर मेहनत र इमान्दारीता भने रगतमा थियो । त्यसले राजुबाबु श्रेष्ठलाई एउटा निर्भीक र इमानदार प्रहरी अधिकृत बनायो । समाज प्रतिको उत्तरदायित्व सम्झायो । समाजलाई केही दिनुपर्छ भनेर त्याग गर्न सिकायो । यसले एउटा समग्र व्यक्तित्व विकासमा मद्दत गर्‍यो । बेग्लै छवि बनायो । अलग  डा.राजुबाबु श्रेष्ठकाे पहिचान दियाे र दिइरहेकाे छ ।