नियति

नियति

प्रा.डा.चन्दा कार्की  |  साहित्य  |  श्रावण १७, २०७७

भेट्नु र छुट्टिनु त प्राकृतिक नियम नै हो हजुर,
छुटेर गएकाहरूलाई फेरि, चाहेर पनि कहाँ भेटिन्छ र,
आकाशबाट पनि कैयन ताराहरू, झरी नै रहन्छ हजुर,
झरेका ताराहरूलाई सम्झी, आकाश कहिले काहा रुन्छ र,
बितेका पलहरू पनि, फर्केर फेरि न आउने नै हो हजुर,
बोलीहरू पनि त फुत्केपछि, वापस काहा कहिले आउँछन् र।

नभमा जुन तारा हुन्छन्, मनलाई ज्यादै प्यारो हुन्छ,
ती पनि तल झर्ने नै हुन भनी, चित्त सबले बुझाउनु पर्छ,
अन्तर्मनमा नियाली हेरौँ, मानसपटल भित्र चियाई हेरौँ,
त्यस्ता कति यहाँ तारा झरे, अनि त्यस्ता कति प्यारा छुटे,
जीवनमा पछि छुट्नेहरू, छुटेपछि काहा भेटिन्छन् र
बोलीहरू पनि त फुत्केपछि, वापस काहा कहिले आउँछन् र।

बगैँचामा फुलेका लोभ्याउँदा कैयन फुलहरू देख्छौँ,
त्यसको रुपमा हामी सदा मन्त्रमुग्ध र लोभिने नै हुन्छौँ,
जति नै हामी भुतुक्क भए नि, ती  फुल पनि त ओइलाउँछन् नै,
ओइलाएका ती फुलहरू, फेरि कहिले काहा फक्रिन्छ र,
फुलवारिमा कैयन फुलहरू, हरदिन त्यसरी मुर्झाउछन् नै,
ती मुर्झाएका फुलहरूको लागि, बगैँचा कहिले काहा रुन्छ र।

मदिराको सिसीको सायद, जीवनमा धेरैको महत्त्व हुन्छ,
तन मन र धन पनि कैयनले, त्यसमाथि नै न्योछाबर गर्छन्,
ती सिसीहरू पनि यता उता, झरेर टुट्छन् र फुट्छन् नै,
भट्टीको आँगनमा असरल्ल, सिसीहरू फुटी छरिएका हुन्छन्,
माटो मा झर्ने,फुट्ने र छरिने, तिनको त नियति नै हुन्छ,
झरेका ती सिसीहरू हेरौँ, ती कहिले लडेर आफै उठेका छन् र,
फुटेका ती सिसीहरूलाई सम्झी,भट्टी कहिले काहा रुन्छ र ।

रमाइलो यो मुल्यवान जीवन हाम्रो, माटो बाट नै बनेको हो ,
धरतीको यो बसाई हाम्रो, चाहेर लम्ब्याउन काहा सकिन्छ र,
फुलहरू ओइलाउने नै हुन, मदका बोतलहरू पनि फुट्ने नै हुन,
घ्याम्पाहरू जति फुटे नि यस्ता, भट्टीहरू जमी नै रहन्छ,
मदिराका सोखिनहरू पनि सधैँ, रस सेवनमै तल्लीन हुन्छन् 

दुई चार घ्याम्पा फुट्नाले,  मद मस्ती कहिले काहा रोकिन्छ र,
भेट्नु र छुट्टिनु त प्राकृतिक नियम नै हो हजुर,
छुटेर गएकाहरूलाई फेरि, चाहेर पनि कहाँ भेटिन्छ र।

आकाशबाट पनि कैयन ताराहरू, झरी नै रहन्छ हजुर,
झरेका ताराहरूलाई सम्झी, आकाश कहिले काहा रुन्छ र,
बितेका पलहरू पनि फर्केर फेरि न आउने नै हो हजुर,
बोलीहरू पनि त फुत्केपछि, वापस काहा कहिले आउँछन् र।