भगवती प्रसाद शर्मा | साहित्य | श्रावण १७, २०७७
पैसाको नै छनक बलियो नाम उस्कै चलेको।
गोडा मोल्ने चलन सजिलो भात पानी मिलेको।
छारो हाल्दै कल छल बलै ज्यान छोड्दै कमाऊ।
हीरा मोती रजत सुनको काम के हो सुनाऊ।।
जे जे गर्दा अघि अघि यही सर्छ टाठो बनेर।
कालो ढाक्ने गजब दुनियाँ काल टार्ने भनेर ।
हाम्रा झर्छन् रगत पसिना प्यार उस्कै गरेर।
हीरा मोती रजत सुनको काम के हो गुनौँन।।
हुन्छन् ठूला फगत दुइका बास डेरा बसेका।
गर्छन् ईर्ष्या दिन दिन अझै वेदनाले डसेका।
पार्छन् माटो कलुषित सदा बन्छ काँटी सलाई।
हीरा मोती रजतसँग के बाँच्छ खै त्यो सजाई।।
धर्ती साझा मगज थलिँदा साथ साथी हुँदैनन् ।
आफ्नो काया सुगठित हुँदा साथ कोही लिँदैनन्।
बूढो पाको तन थकित भो प्यार टाढा बसाइँ ।
हीरा मोती रजत सुन के आँङ ढाक्छन् लगाइ।।
जे जे राख्छौं घर सब भरी साथ जान्नन् कुनै ता।
गाडी घोडा नगद सुनले पार लाउन्नन् बुझौ त !
ज्यानै छाड्छन् फगत किन हो किर्ति केही नराखी।
हीरा मोती रजत सुनको गर्छ जोहो चलाखी।।
२०७७/०३/ २४ खोटाङ