बाबुराम बरालकाे हत्यामा बिपीकाे स‌म्लग्नताकाे प्रचार र अश्रु सिन्धुलीको सम्पादकलाई चिठी

फर्कलान् र ती दिनहरू

बाबुराम बरालकाे हत्यामा बिपीकाे स‌म्लग्नताकाे प्रचार र  अश्रु सिन्धुलीको सम्पादकलाई चिठी

हरिविनोद अधिकारी  |  साहित्य  |  श्रावण १७, २०७७

बिपीको नाम नै हाम्रालागि सिद्धान्तको पुञ्ज थियो र आज पनि छ । झन् त्यस्तो व्यक्तिको समीपमा पुग्नु र नजिकैबाट नियाल्नु एउटा ऐतिहासिक क्षण पनि थियो । उहाँको भौतिक शरीर हामीसँगबाट गएको ३८ वर्ष हुँदा पनि बिपीसँगको सामीप्य आज पनि ताजा छ किनभने उहाँकै सिद्धान्तले नेपालको राजनीति आजको दिनमा डोरिएको छ । 

उहाँलाई परबाट त उहाँकै निवासमा पनि देखिएको थियो, पार्टी अफिस थियो कमलाक्षीमा, त्यहाँ पनि देखिएको हो तर बिपीसँग नै भेट गर्न र उहाँसँग भेटेर कुरा गर्ने दिन भनेको २०३४साल कात्तिक ८ गते साँझ ४ः३० बजेतिर नै हो । बिपीप्रति राजा वीरेन्द्रको धारणा कहिले सकारात्मक जस्तो लाग्थ्यो त कहिले एकदम नकारात्मक जस्तो । एकातिर बिपीको स्वास्थ्यका बारेमा चिन्तित भएर अमेरिकासम्म ओखती गर्नका लागि राज्यले खर्चसमेत दिने निर्णय गथ्र्यो भने अर्कोतिर उहाँमाथिको,उहाँका विचारमाथिको निषेध झन् झन् कडा हुँदै गएको जस्तो लाग्थ्यो किनभने बिपीलाई आफ्नो घर विराटनगर जान पनि उहाँ चढेको विमानलाई ओर्लन नदिएर काठमाडौँ फर्काउन बाध्य थिए पाइलटहरू । 

 दिन पनि कस्तो परेको रहेछ भने उहाँसँग भेट गर्न कोही पनि त्यस दिन त्यहाँ आएका थिएनन् । चाबहिलको त्यो तारिणीप्रसाद कोइरालाको घर, तारिणीबाबुको निधन भइसकेको थियो । रोसा आमा त्यो घरको मुली हुनुहुन्थ्यो । 

त्यो बेलामा त सुशीला आमा पनि बनारसबाट विराटनगर हुँदै काठमाडौँ आइसक्नु भएको थियो र उहाँ बिपीसँगै जय बागेश्वरीमै बस्नुहुन्थ्यो । सुशीला आमाले त्यो बेलामा पनि आफ्नो नृत्यको अभ्यास गर्नुहुन्थ्यो र गराउनु हुन्थ्यो । 

बिपीको निवासमा जाँदा बाटामा गुप्तचरहरू हुन्थे उहाँको निवासमा झर्ने ठाउँमा । कहिले बाघचाल खेलेका त कहिले बुद्धिचाल खेलेका मानिसहरू बसेका हुन्थे, सबैले भन्थे तिनै हुन् गुप्तचर जसले बिपीको घरमा आउने जानेको रेकर्ड या अभिलेख राख्छन् । अर्थात् बिपीसँग कोको भेट्न आउँछन् र कति बेरसम्म बस्छन् भन्ने होला । तर जोजो बिपीलाई भेट्न जान्थे, ती सबैले ती अप्ठ्यारा अवस्थासँग जसरी पनि मुकाबिला गरिन्छ भन्ने सोचेका हुन्थे । कहिले ती बस्नेहरूले नाम सोध्थे र कहाँबाट आएको भनेर पनि सोत्थे भन्ने सुनिएको हो तर हामीलाई चिनेर हो वा नियमितरुपमा आइरहने भनेर हो, सोध्दैनथे । बिपीसँग कुरा नै गर्ने भनेर सानीमा बिना कोइरालासँग त्यो दिन जब गइयो, बिपीलाई सानीमाले मेरो बाको नाम लिएर परिचय गराउनु भयो र मेरो दिदीको छोरो भन्दै कुरा सुरु गर्नुभयो । मैले पढ्दै गरेको क्याम्पस सानो ठिमीको बारेमा बताउनु हुँदै आफू सुशीला आमासँग भेट्न जाने भन्दै त्यो कोठाबाट जानु भयो । बिपीले मलाई पनि त्यो पल्लो कोठामा नृत्य चलिरहेको छ, तिमी पनि उतै जाऊ र नाच हेर भनेर भन्नुभयो । म यसो त्यो कोठामा गएको त महिलाहरू खुकुलो लुगा लगाएर नाच्ने अभ्यास गरिरहनु भएको थियो जहाँ मेरा साथीहरू अम्बिका बस्नेत र इन्दिरा बस्नेतहरू पनि देखेँ । अनि फर्केर सानदाजुनेर आएँ । 

कुरा के गर्नु थियो र ? त्यो कोठा अतिथिहरूका लागि बस्ने कोठा थियो जहाँ सानदाजु काठमाडौँको कात्तिकको सामान्य चिसोका लागि सामान्य ओढ्ने ओढेर एक्लै बस्नु भएको थियो बेतको कुर्सीमा । मलाई लाग्यो, म जुन मानिसका छेउमा छु, त्यो मानिस नेपालमा राणा शासनको अन्त्य गर्नका लागि जनक्रान्ति गर्ने महानायक हो, नेपालमा राजालाई संवैधानिक बनाएर जनताको शासन गर्ने सिद्धान्तलाई नेपालमा प्रतिपादन गर्ने र जसको जोत उसकै पोत भनेर क्रान्तिकारी भूमि सुधार गर्ने नायक हो, सामन्तहरूका नाममा जन्मसिद्ध दर्ता भएका वनहरूलाई कानुन बनाएरै राष्ट्रियकरण गर्ने रूपान्तरणवादी हो, नेपालका राजा रजौटाहरूको शासन र उनीहरूको सम्पूर्ण खान्की एउटा कानुन पारित गरेर सिद्ध्याउने क्रान्तिकारी हो र निर्वाचनद्वारा निर्वाचित संस्था व्यवस्थापिकाले मात्र सरकार बनाउन पाइने  र जनतालाई राज्य गर्न पाउने अधिकारका लागि लडिरहने एउटा अथक सेनापति हो । 

मैले त्यो सम्पादकलाई चिठीमा लेखेँ -बिपीका वारेमा पैसा उठाउने अधिकार कि त प्रतिवन्धित नेपाली कांग्रेसलाई छ या त उहाँका परिवारलाई मात्र छ । अरुले किन पैसा उठाउने ? कसको अनुमतिले उठाएको ? यस्तै लेखेको थिएँ तर लेख्ने मान्छे अश्रु सिन्धुलीय थियो, जो मै  थिएँ । यो कुराले बीपी नेपाल आएपछि चर्चा पायो र बीपीले त्यो तर्कलाई स्वीकार गर्नुभयो र भन्नुभयो- मैले र कार्यवाहक सभापति किसुनजीले कसैलाई पनि मेरा लागि चन्दा उठाउन अनुमति दिएको छैन ।

अहिले नेपालमा उहाँका विरुद्ध सात सात ओटा त्यस्ता मुद्दाहरू छन् जसको परिणाम उहाँ र उहाँका समकक्षी नेता तथा राजनीतिक अनन्य सहयोगी गणेशमानजीसमेतलाई मृत्युदण्ड पनि हुनसक्छ । तर त्यही आफूलाई अपदस्त गर्ने र जनताको लासमाथि निर्दलीय व्यवस्था चलाउने राजासँग राष्ट्रियताका लागि भने सहकार्य गर्न, सहयोग गर्न र प्रजातन्त्र प्राप्तिका लागि अनवरत सङ्घर्ष गर्ने उद्देश्यले नेपाल आउनु भएको छ र राजाको अग्रसरतामा उहाँको विश्वासमा उहाँलाई ओखती गर्न र आफ्ना सहयोगीसँग वार्ता गर्न छुट दिएको छ । 

त्यो अन्ताराष्ट्रिय दबाबले पनि हुनसक्छ या आन्तरिक आवश्यकताले पनि हुनसक्छ । तर बिपीको शान्तिपूर्ण राजनीतिको पक्षमा उहाँकै दलमा आफूलाई गान्धीवादी भन्नेहरू र नेपालका शान्तिपूर्ण राजनीति गर्ने र विदेशमा शरणार्थी नहुने भन्ने अडान लिएकाहरू पनि उहाँ नेपाल आएपछि टाढिएका महसुस हुन्थ्यो, पञ्चहरू यसै पनि राजाको पक्षमा लागेको जस्तो गरी बिपी र राजा नजिक आउन नपाउन् भनेर तिकडम गरिरहेका हुन्थे । अनि बिपी के सोचिरहनु भएको होला भन्ने मलाई जिज्ञासा पनि थियो र अपहरित प्रजातन्त्रलाई पुनर्स्थापित गराउने दृढ अठोटका साथ नेपाल आउनु भएक्ँ बिपीमा एउटा प्रजातन्त्र प्राप्तिको तुफान चलिरहेको बुझ्न सकिन्थ्यो । 

करिब २ फिट नजिक रहनुभएको बिपीप्रति मेरा यी र यस्तै भावना खेलिरहेको मनमा कसरी कुरा सुरु गर्ने भन्ने नै  सुझिरहेको थिएन । बिपी सडकतिर फर्केर केही सोचिरहनु भएको थियो र मचाहिँ यति बेर बिपीको मनमा के भावना चलिरहेको होला भन्ने कल्पना गरिरहेको थिएँ । त्यही बेलामा मैले भारतमा राष्ट्रिय काङ्ग्रेस खोल्दाको बिपी, नेपाली काङ्ग्रेस खोल्दाको बिपी, राणाविरुद्ध  जनक्रान्ति गर्नका लागि पहिले अङ्ग्रेजलाई भारतबाट हटाएर राणाको आधार भूमिमाथि हमला गर्नका लागि भारतीय स्वतन्त्रता सङ्ग्राममा होमिने बिपी अनि भारत स्वतन्त्र हुने बित्तिकै नेपाललाई राणाको पुञ्जबाट, जहानियाँ शासनको पन्जाबाट मुक्त गराउने बिपीलाई विभिन्न स्वरूपमा सम्झिरहेको थिएँ । के कुराबाट सुरु गरौँ भन्ने मलाई ठुलो समस्या परेको थियो र फेरि मैले सुरु गर्ने कुरामा बिपीलाई चासो हुनु पनि जरुरी थियो । 

अचानक बिपी मतिर फर्केर सोध्नुभयो-अनि रामप्रसादकी के गर्दै हुनुहुन्छ त अचेल ? यसरी सहजीकरण गरेर मलाई बोल्न अभिप्रेरित गर्नुभयो । अनि मैले पनि सविस्तार आफ्ना कुराहरू भन्न थालेँ । बिपी त ग्वाल्टारका बारेमा पो मलाई बताउन थाल्नु भयो जबकि उहाँ त्यहाँ जानु नै भएको रहेनछ । भन्नुभयो-जान त चाहेको थिएँ हैबार, घोक्सिला, देउरालीटार अनि ग्वाल्टार तर चाँजो परेन । अनि ग्वाल्टार र देउराली टारका बिचमा कुलाको समस्या छँदै छ अझै ? ओमराजले(ओमराज कोइराला जसले मगर बेँसीमा बाटो बनाउन सरकारसँग सहयोग ल्याउनु भएको थियो) जाउँ सानदाजु भन्थ्यौ देउराली टार, हैबार कोइरालाको पुरानो बिर्तामा । तर मैले जान भ्याइनँ । कुलचन्द्रले पनि जाउँ सानदाजु भनेको थियो । तिम्रा बाले पनि ग्वाल्टार आउन भन्नुभएको थियो ।

 यसरी बिपीले सहजीकरण मात्र गर्नु भएन, बरु ग्वाल्टारमा रामहरि बराल, रामहरि अधिकारी, कृष्णहरि बराल, कृष्णहरि अधिकारीका बारेमा बताउनु भयो । खासमा बिपीलाई बाबुराम बरालको सहादतका बारेमा गरिएको गलत प्रचार र पछि सहित परिवारबाटै नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट रामहरि बराल काकाले आम निर्वाचनमा सांसदमा उठ्नु भएको कुरामा सदैव पश्चात्ताप रहेछ । त्यसको कारण अर्को पनि रहेछ, रामहरि काका उठेकाले कुलचन्द्र कोइरालाले १५ नम्बर निर्वाचन क्षेत्रबाट हार्नु परेको कुरामा उहाँलाई अझै पनि दिक्क लागेको रहेछ । पछि कुलचन्द्र काकालाई जित्ने जीतबहादुर कार्कीले बिपीलाई नै सहयोग गर्ने बचन दिनु भएको कुरा पनि बिपीले भन्नुभयो । बिपीले कुलनाथ जिबाका बारेमा, कृष्णलाल सुब्बाका बारेमा र रामेछापमा मेरा हजुर बाको काँग्रेसका छापामारबाट भएको हत्याका बारेमा जानकारी रहेछ । यसो हुनुमा विपिन साना बाको कारणले पनि होला किनभने मेरा हजुरबा विपिन साना बाका ससुरा पनि हुनुहुन्थ्यो । 

यसरी एउटा उहाँको सिद्धान्तप्रति समर्पित तर  प्रजातन्त्रको कुनै स्वाद नचाखेको युवा जिज्ञासुलाई कुरा गर्न प्रेरित गर्ने बीपी के सोचिरहनु भएको छ भन्ने कुरा अझै मैले थाहा पाइँन किनभने उहाँले मलाई सामान्यीकरण गर्नका लागि स्थानीय पुराना कुरामार्फत् त्यसबेलाको पूर्व २ नम्बरका धेरै कुराहरु भन्नुभयो जुन मैले पहिले पनि सुनेको थिएँ र फेरि भन्नुभयो- तिम्रा बा र सूर्याबाबुका बिचमा भएको विवादले मैले तत्काल विद्यालयका लागि कोटा दिनु भनेँ । अनि मैले भनेँ-ती विद्यालयहरु अहिले पनि चलेकै छन् ।  अनि बाटाको कुरा गर्दै भन्नुभयो- यदि आर टी ओले बनाउन लागेको बाटो बन्न सकेको भए त्यो क्षेत्रको कायापलट हुने थियो । करिब २ घण्टासम्मको बसाइमा धेरै कुराहरु भए तर सामान्यतया उहाँले समाजमा उहाँप्रतिको धारणा र राजासँगको मेलमिलापका वारेमा सामान्य प्रतिक्रिया माग्नु भयो । मैले बीपीसँग त्यसरी के पो भन्न सक्थेँ र ! तैपनि बीपी नेपाल आएपछि राजनीतिले नयाँ नयाँ बाटो समाउन थालेको भने हो भन्ने बित्तिकै उहाँ हाँस्नुभयो र भन्नुभयो- ‘अब तिमी आउँदै गर्नू ।’ 

अनि उहाँ भित्र जानु भयो कोठामा । मेरालागि उहाँसँग भएको यो भेटघाट नै स्मरणीय भयो र आज पनि त्यो बेला सम्झँदा लाग्छ, म जय वागेश्वरीको त्यही अतिथिलाई बीपीले भेट्ने कोठामा छु र बिपी अझै पनि त्यही बेतको कुर्सीमा अडेस लागेर बस्नु भएको छ र आफ्नो त्यो अभूतपूर्व स्मरण शक्ति प्रयोग गरेर मलाई मेरा ठाउँ र मेरा चिरपरिचित व्यक्तिहरुका वारेमा केही भन्दै हुुनुहुन्छ । बाबुराम बराल काकाका वारेमा गरिएको गलत प्रचारका वारेमा उहाँलाई सधैँ  पोलेको रहेछ । प्रचार के थियो भने बिपी, मातृका र गणेशमानजीेले आफूभन्दा क्रान्तिकारी नेता भएकाले रौतहट पठाएर हत्या गराएको भन्ने गलत प्रचार थियो । त्यसलाई चिर्न नसकेकोले नै त्यही परिवारको अर्को भाइ रामहरि बरालले कम्युुनिस्ट पार्टीको तर्फबाट सांसद पदमा उठ्नुु भएको थियो । बीपीले भन्नुभयो- बाबुरामजीले नै रौतहट मेरो कार्यक्षेत्र हो, म त्यसलाई मिलाएर आउँछु भनेर भनेकोले मैले पठाएको थिएँ । बाबुरामजीले दोलखामा समस्या राम्रैसँग समाधान गर्नुभएको थियो । कुनै बेला गणेशमानजीको ज्यान जोगाउन बाबुरामजीले देखाएको सौर्यताले गणेशमानजी बाबुरामजीमो प्रशंसक हुनुहुन्थ्यो । त्यसैले पनि होला, रौतहटमा बाबुरामजीको प्रभाव देखेर होला, गणेशमानजीले सिफारिस गर्नु भयो पठाउनका लागि । तर दुर्भाग्य,प्रतिक्रान्तिको ज्वालामा उहाँलाई झोसियो तर बदनाम हामीलाई गरियो । बिपीले ग्वाल्टारलाई सम्झिरहने कारणमा सबैभन्दा बढी बाबुराम काकाको कारणले रहेछ भन्ने मैले त्यो दिन निचोड निकालेँ । 

त्यसपछि बीपीसँग धेरैपटक छलफल गरियो, खासगरी पछि म शिक्षक भएपछि शिक्षकहरुको संगठनका वारेमा बीपीको विश्लेषणका आधारमा हामीले तत्कालीन नेपाल राष्ट्रिय शिक्षक संगठनसँगको सम्बन्धलाई निर्धारण गरेका थियौँ । 

बिपीका वारेमा अरु धेरै स्मरण छन्, प्रसङ्गवश पछि पनि चर्चा गरौँला तर बिपीकै वारेमा मैले आफ्नो छद्य नाम वा साहित्यिक या पत्रकारितामा अश्रु सिन्धुलीय नाम राखेँ । हुन त सिन्धुलीय राख्ने मेरो विचार मेरा गुरु उमानाथ सिन्धुलीयको प्रभावले पनि हो । तर अश्रु सिन्धुलीय लेखेको पहिलो पटकचाहिँ बिपी पेरोलमा ओखती गर्न अमेरिका गएपछिको घटना हो । म त्यसबेलामा राष्ट्रपुकार साप्ताहिकमा स्तम्भ लेखन गर्न थालेको थिएँ । मेरो लागि राजनीतिक सिद्धान्तमा जसरी बीपी कोइराला प्रेरणाको श्रोत हुुनुहुन्थ्यो, त्यसैगरी पत्रकारितामा एकमात्र प्रेरणामा श्रोत भनेको होमनाथ दाहाल नै हुनुुहुन्थ्यो ।  २०२६सालदेखि उहाँले साप्ताहिक राष्ट्रपुकार प्रकाशित गरेर प्रतिवन्धित नेपाली कांग्रेसका पक्षमा, प्रजातन्त्रको पुनस्र्थापनाका वारेमा अनवरत निर्भीक भएर लेखिरहनु भयो जुन कुरा म जनकपुरमा कलेजमा पढ्दादेखि नै थाहा पाएको थिएँ । पक्कै नै त्यस्तो राष्ट्रपुकारको सम्पर्कमा, त्यस्तो निर्भीक सम्पादकको सामीप्यमा जान पाउनु मैले अहोभाग्य ठानेँ । र, त्यसपछि त्यो पत्रिको प्रकाशन रहुन्जेलसम्म म विनाशर्त रहेँ । त्यसैले मेरो कोही पनि अरु पत्रकारिताका गुरु रहेनन्, प्रभाव त पक्कै अरुको पनि पर्‍यो होला तर बीपीको नजिक पुग्ने र उहाँका राजनीतिक धारणाका वारेमा व्याख्या गर्न पनि मलाई त्यही साप्ताहिकले उत्प्रेरित गरेको थियो । बीपी अमेरिका जानु भयो राज्यको खर्चमा राजाको अनुरोधमा नै । राजाले बीपीलाई भनेछन्, तपाईँको स्वास्थ्य बिग्रेको छ, औषधि गर्न जानुस् । अनि बीपीले आफ्नो भन्दा देशको स्वास्थ्य खराब भएकाले आफू नजाने अड्डी लिँदा राजाले डाक्टर मृगेन्द्रराज पाण्डेलाई बीपीलाई सम्झाउन भनेको प्रसङ्ग बीपीकै आत्म वृतान्तमा आएकै छ । 
एकातिर बीपीलाई मुद्दा लगाउने, बीपीलाई बचाउन भनेर औषधि गर्न पठाउने अनि बीपीकै अनुयायी र उहाँकै आदेशमा सशस्त्र क्रान्ति गर्ने क्रान्तिपुरुषहरु यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठहरुलाई फाँसी दिने विवादास्पद काम भइरहेको बेला थियो । बीपी विदेशमा नै हुनुहुन्थ्यो । यहाँ मण्डलेहरुले बीपीलाई राजाले औषधि गर्न पठाएकोमा सायद ठुलो विरोध थियो । त्यसैले एउटा मण्डले समर्थित साप्ताहिकमा बीपीको पक्षमा लेखेजस्तो गरी बीपीको ओखतीका लागि चन्दाको सार्वजनिक आह्वान गरेको थियो र प्रत्येक हप्ता बीपीका लागि चन्दा दिनेहरुको विवरण निकाल्थ्यो -फलानाले २५ पैसा दिएको, फलाना ५० पैसा दिएको, फलानाले ५ रुपैयाँ दिएको भनेर । यसो गर्नुको खास कारण हुनसक्थ्यो बीपी नेपाली जनताका बिचमा मन पराइएको नेता होइनन् भन्ने जनमतको व्यवस्था । उहाँका नाममा कम भन्दा कम व्यक्तिहरुको चन्दा दिने र कम पैसा दिने देखाएर । 
२०३२सालमा डाक्टर तुलसी गिरि प्रधानमन्त्री भएपछि राष्ट्रपुकार प्रतिवन्ध भएको थियो पछि कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएपछि २०३४ सालमा प्रतिवन्ध फुकुवा भएको थियो । सायद २०३५ सालको सुरुमा हुनुपर्छ, मैले अश्रु सिन्धुलीयको नाममा एउटा सम्पादकलाई पत्र लेखेँ राष्ट्रपुकारमा । यसको कारण के पनि थियो भने म त्यहीँ लेख्थेँ अनि आफ्नै नाममा लेख्नु पत्रकारिताको नियमले पनि दिँदैनथ्यो तर बीपीका वारेमा गरिएको षडयन्त्रको वारेमा पाठकलाई, जनतालाई भन्नु जरुरी थियो । र मैले त्यो सम्पादकलाई चिठीमा लेखेँ -बिपीका वारेमा पैसा उठाउने अधिकार कि त प्रतिवन्धित नेपाली कांग्रेसलाई छ या त उहाँका परिवारलाई मात्र छ । अरुले किन पैसा उठाउने ? कसको अनुमतिले उठाएको ? यस्तै लेखेको थिएँ तर लेख्ने मान्छे अश्रु सिन्धुलीय थियो, जो मै  थिएँ । यो कुराले बीपी नेपाल आएपछि चर्चा पायो र बीपीले त्यो तर्कलाई स्वीकार गर्नुभयो र भन्नुभयो- मैले र कार्यवाहक सभापति किसुनजीले कसैलाई पनि मेरा लागि चन्दा उठाउन अनुमति दिएको छैन । यो एकदम ठिक हो । त्यसपछि मैले आफ्नो स्तम्भमा पनि अश्रु सिन्धुलीय लेखेँ, साहित्यिक नामको रुपमा पनि त्यही प्रयोग अझै पनि गर्दैछु । क्रमशः