ट्राइग्लिसेरायड बढ्याे भने के गर्ने ? उपचार कसरी गर्ने ?

ट्राइग्लिसेरायड बढ्याे भने के गर्ने ?  उपचार कसरी गर्ने ?

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण १९, २०७७

ट्राइग्लिसेरायड एक किसिमको चिल्लो पदार्थ हो र यसले अल्परक्त प्रवाह गराई हृदयरोग गराउँछ भन्ने कुरा सर्बसाधारणले थाहा पाएका हुन्छन् । धेरै ट्राइग्लिसेरायड भएका व्यक्तिहरुलाई प्यांक्रियाटाइटिस भएर ज्यानलाई खतरा हुँने कुरा भने थोरै मानिसहरुलाई थाहा हुन्छ ।

अमेरिकन हार्ट एसोसियसन र अमेरिकन कलेज अफ कार्डियोलजीले सन् २०१८ मा प्रकाशित गरेको निर्देशिकामा ट्राइग्लिसेरायडका सबै पक्षहरु समेटेको छ । हामीहरु सबैले यही निर्देशिकालाई अनुसरण गरेर विज्ञहरुको सल्लाह मान्नु पर्छ । भविष्यमा गरिने अध्ययनका आधारमा ट्राइग्लिसरायड सम्बन्धि सल्लाहहरुमा परिवर्तन आउन सक्ने कुरालाई पनि सम्झी राख्नु उचित छ ।

ट्राइग्लिसेरायड भनेको के हो र यो कसरी बन्छ भन्ने विषयको जानकारी राख्नु आवश्यक छ । स्वास्थ्य विज्ञानका विद्यार्थीहरु, चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु र सर्वसाधारणले ट्राइग्लिसेरायडको वनावटको ज्ञान प्राप्त गर्दा मन खुशी हुन्छ । खुशी मन नै मानव जातिको चाहाना पनि हो ।

ट्राइग्लिसेरायड ग्लिसेरोल र तीन फ्याटी एसिड मिलेर बनेको ‘इष्टर’ हो । रसायनीक शास्त्रमा अर्गानिक अथवा इनअर्गानिक एसिड र अल्कोहलको मिश्रणबाट बनेको कम्पाउण्डलाई ‘इष्टर’ भनिन्छ । ग्लिसेरोललाई ग्लिसेरिन पनि भनिन्छ र यसको जिवाणु र विषाणु नाशक शक्ति हुने भएकोले  घाउ निको पार्न पनि यसको प्रयोग भएको पाईन्छ । ग्लिसेरोल एक प्रकारको अलकोहल हो र यो फ्याटी एसिडसँग मिसिदा ‘इष्टर’ हुन्छ ।

 यही कारणले गर्दा ट्राइग्लिसेरायडलाई ‘इष्टर’ भनेको हो । अल्कोहोल र एसिड मिसिदा बन्ने कपाउण्डलाई ‘इष्टर’ भनेर नामाकरण गर्ने विज्ञ जर्मनिका लियोपोल्ड मेलिन  (Lepold Gmelin) हुन ।

अल्परक्त प्रवाह हृदयरोग गराउने कारणहरु भएको र यो रोग भएका व्यक्तिहरुलाई स्टाटिनद्वारा उपचार गर्नुपर्छ । ट्राइग्लिसेरायड बढेका तर मुटुरोगका लक्षणहरु नभएकाहरुलाई फाइब्रेट, नायसिन अथवा माछाको तेल प्रयोग गरेर उपचार गर्न सकिन्छ ।

रगतको ट्राइग्लिसेरायड जाँच गर्दा खाली पेटमा गर्नु पर्छ । खाना पछि ट्राइग्लिसेरायड बढ्छ तर कोलेष्ट्रोल भने बढ्दैन । रगतको ट्राइग्लिसेरायडलाई निम्न अनुसार बर्गिकरण गरिएको छः

१. सामान्य ट्राइग्लिसेरायड– १५० मिलिग्राम भन्दा कम
२. थोरै बढेको (Mild)– १५०–१७५ मिलिग्राम
३. केहि धेरै बढेको ] (Moderate) –१७५–४९९ मिलिग्राम
४. धेरै बढेको (Severe)–५०० मिलिग्राम र सो भन्दा ज्यादा 

दिनप्रतिदिन आवश्यकपर्ने इनर्जी प्राप्त गर्न फ्याटी एसिड प्रयोग हुन्छ ।  शरीरलाई आवश्यक शक्तिमा प्रयोग भएर बाँकी रहेको  फ्याटी एसिट ग्लिसेरोलसँग मिसिएर कलेजोमा ट्राइग्लिसेरायड बन्छ । ट्राइग्लिसेरायड रगतद्वारा शरीरका विभिन्न अंगहरुमा पुग्न लाइपोप्रोटिनले र  काइलोमाइक्रेनले मद्दत गर्छन । ट्राइग्लिसेरायड अलिक धेरै बढेको अवस्थामा भेरी लोडोन्सिटी लाईपो प्रोटिन (VLDL) ले ट्राइग्लिसेरायडलाई रगतद्वारा लैजान्छ । ट्राइग्लिसेरायड धेरै बढेको अवस्थनमा ट्राइग्लिसेरायडलाई रगतद्वारा शरीरका विभिन्न अंगमा पुर्‍याउन भिएलडिएल (VLDL) र काइलो माइक्रोेन्सले मद्दत गर्छन ।

घ्यूतेलबाट तयार पारिएका खाना खाँदा रगतमा ट्राइग्लिसेरायड बढ्छ । चिल्लो पदार्थहरुलाई लाइपेज (Lipase) नामक इञ्जाएमले फ्याटी एसिडमा परिणत गर्छ र आन्द्राबाट फ्याटी एसिड कलेजोमा पुग्छ । कलेजोमा फ्याटी एसिड ग्लिसेरोलसँग मिसिएर ट्राइग्लिसेरायड बन्छ । कार्वनको संख्या अनुसार फ्याटीएसिडलाई छोटो (Short) , मझौला (Medium) र लामो (Long) चेनमा विभाजा गरिएको छ । हामीले खाएको खानामा भएको फाइबरलाई ठूलो आन्द्रामा जिवाणुहरुले छोटो चेन भएको फ्याटीएसिड बनाई दिन्छ । छोटो चेन फ्याटीएसिडमा ५ सम्म कार्बोन हुन्छ भने मझौला चेन फ्याटी एसिडमा ६ देखि १२ कार्बोन हुन्छ । लामो चेन भएका फ्याटी एसिडमा १३ देखि २२ कार्बोन हुन्छ भने धेरै लमो चेन भएका फ्याटी एसिडमा  २३ देखि २८ कार्बोन हुन्छ ।

छोटो र मझौला चेन  फ्याटीएसिडहरु आन्द्रका मसिना नलीहरुमा  पस्छन र पोर्टलभेन हुँदै कलेजोमा पुग्छन् । लामो चेन भएका फ्याटी एसिडहरु आन्द्राबाट भित्र पसेर ट्राइग्लिसेरायड बन्छन् । यसरी बनेको ट्राइग्लिसेरायडलाई कोलेष्ट्रोल र प्रोटिनले मिलेर काइलोमाइक्रोन बनाउँछन् । यो काइलोमाइक्रोन लिम्फका नली र थोरासिक डक्ट हुँदै बाँया पट्टीको सबल्केभियन शिराद्वारा दाँयातिरका मुटुका कक्षमा पुग्छन् । अन्तमा ट्राइग्लिसेरायड काइलोमाक्रोनबाट शरीरका अंगहरुमा आवश्यक इनर्जी प्रदान  गर्ने गर्छ । 

ट्राइग्लिसेरायडलाई  फ्याटीएसिड र ग्लिसेरोल बनाउन लाइपेज नामक इञ्जायमले मद्दत गर्छ । यो इञ्जायम केही मात्रामा मुख र पेटमा पनि हुन्छ । प्यांक्रियाजमा सानो आन्द्रा कलेजो र रगतका मसिना नलीहरु निर यो इञ्जायम पाईन्छ । शरीरका अंगहरुलाई इनर्जीको आवश्यक्ता पर्नासाथ लाइपेजले ट्राइग्लिसेरायडबाट फ्याटीएसिड उपलब्ध गराईदिन्छ । 

कलेजोको लाईपेजलाई हेपारिन र एचडिएल (HDL) ले क्रियाशिल तुलाएर ट्राइग्लिसेरायडबाट फ्याटीएसिड बनाउन मद्दत गर्छन् । यसरी पैदा भएका फ्याटीएसिडलाई आवश्यक इनर्जीमा उपयोग गरिन्छ । फ्याटीएसिड रगतबाट मस्तिष्कमा पुग्न नसक्ने भएकाले मस्तिष्कले यसलाई इनर्जीका रुपमा  प्रयोग गर्न सक्दैन । ट्राइग्लिसेरायडमा भएको ग्लिसेरोलबाट ग्लुकोज बनेर शरीरलाई इनर्जी दिन सक्छ । चिल्लो पदार्थबाट सावुन बनाईन्छ र यसलाई पेन्टिङमा पनि प्रयोग गरेकोे पाईन्छ । 

कोलेष्ट्रोल र ट्राइग्लिसेरायड  कलेजोमा बन्छन् । यी चिल्लो पदार्थ खानाबाट पनि रगतमा पुग्छन् । एउटा कुखुराको अण्डामा १८६ मिलिग्राम कोलेष्ट्रोल हुन्छ । घरेलु कुखुराको अण्डामा ओमेगा–३ फ्याटीएसिड ज्यादा हुन्छ । विज्ञहरुले दिनमा एउटा अण्डा खाँदा शरीरलाई फाईदा गर्छ भन्न थालेका छन् । अण्डामा भएकोे कोलेष्ट्रोलले रगतको कोलेट्रोल बढाँउदैन । खानाबाट कोलेष्ट्रोल रगतमा पुगेपछि कलेजोले कोलेष्ट्रोल कम पैदा गर्छ जसको कारण रगतको कोलेष्ट्रोल बढ्न पाँउदैन । अण्डामा भएको ओमेगा–३ फ्याटीएसिडले एचडिएल– कोलेष्ट्रोल बढाँउछ । यो राम्रो किसिमको कोलेष्ट्रोल हो । 

रगतमा ज्यादा ट्राइग्लिसेरायड हुनुका धेरै कारणहरु हुन्छन् । रगतमा ट्राइग्लिसेरायड बढ्ने अनुवंशिक रोग  पनि हुन्छ । यो रोग अटोसोमल डोमिनेन्ट तरिकाले सन्तानमा जान्छ र यसमा ट्राइग्लिसेरायड पनि धेरै बढेको हुन्छ । यो किसिमको सन्तानमा जाने ट्राइग्लिसेराइयड बढ्ने रोग ५० प्रतिशत छोराछोरीलाई हुन्छ । 

रगतमा लाइपेज नामक इञ्जायम नहुने अवस्थामा ट्राइग्लिसेरायड फ्याटी एसिड र ग्लिसेरोलमा परिवर्तन हुन पाउँदैन र रगतमा ट्राइग्लिसेरायड धेरै बढ्छ । रगतमा ट्राइग्लिसेरायड बढ्ने कारण निम्न प्रकार छन् –

१. अनुवंशिक
२. मोटोपन
३. मेटावलिक सिण्ड्रोम
४. चिनीरोग 
५. थाइराइड हर्माेन कमी हुने अवस्था
६. दीर्घ कलेजो रोग
७. दीर्घ मृगौला रोग
८. औषधिहरु Estrogens, Glucocorticoids, Cyclosporine, Cyclophosphomide, Betablochers, Thiazidesआदि 

रगतमा हुनुपर्ने भन्दा ज्यादा ट्राइग्लिसेरायड पाईयो भने जीवनशैलीमा परिवर्तन गरेर र आवश्यक परे औषधिहरुको प्रयोगद्वारा बढेको ट्राइग्लिसेरायड नियन्त्रण गर्नुपर्छ । २० वर्ष र यो भन्दा ज्यादा उमेर भएका व्यक्तिहरुको ट्राइग्लिसेरायड १७५ मिलिग्रामदेखि ४९९ मिलिग्रामसम्म भएमा खानपिनमा परहेज गर्नुको साथै  नियमित व्यायम गरेर ट्राइग्लिसेरायड बढाउने कारणहरुलाई नियन्त्रण गर्नु आवश्यक छ । यसलाई  एक क्लासको  सल्लाह मानिएको छ ।

४० देखि ७५ वर्ष उमेरका प्रौडहरुमा केही धेरै र धेरै ट्राइग्लिसेरायड देखिएर मुटुरोग हुने संभावना ७.५ प्रतिशत भन्दा ज्यादा भएमा स्टाटिन समूहका औषधि प्रयोग गर्ने सल्लाह दिइएको छ । औषधि प्रयोग गर्नुको साथै परहेज पनि गर्नु पर्छ । यो किसिमको सल्लाहलाई क्लास २ ए मानिएको छ ।

५०० मिलिग्राम र सो भन्दा ज्यादा ट्राइग्लिसेरायड हुने प्रौडहरुलाई प्यंक्रियाटाइटिस हुने डर भएकोले यिनीहरुलाई परहेज गर्नुका साथै स्टाटिन समूहका औषधिहरु, ओमेगा–३ फ्याटीएसिड र फाइब्रेट समूहका  औषधि प्रयोग गर्नु पर्छ । यी औषधिको प्रयोगका साथ साथै चिल्लो पदार्थ कम खानु पर्छ । मदिरा र चिनी जस्ता  कार्बोहाइड्रेट नखानु राम्रो हो । यो किसिमको सल्लाह पनि क्लास २ ए मा पर्छ । 

अमेरिकन कलेज अफ कार्डियोलजी र अमेरिकन हार्ट एसोसियसनले निकोटिनिक एसिडको प्रयोगलाई त्यत्ति महत्व नदिए पनि बढेको ट्राइग्लिसेरायड घटाउन यसलाई प्रयोग गर्न सकिन्छ । केही बढेको ट्राइग्लिसेरायडलाई घटाउन फाइब्रेट समूहका ओखती पनि प्रयोग गर्न सकिन्छ । 

यूरोपियन सोसाईटी अफ कार्डियोलजी र यूरोपियन एथेरोस्कलोरोसिस सोसाईटीले ट्राइग्लिसेरायड बढेकाहरुले निम्न प्ररहेज गर्ने सल्लाह दिइएको छ ।

१. तौल घटाउने
२. कम मदिरा पान गर्ने  
३. नियमित व्यायम गर्ने
४. कार्बोहाइड्रेड खाना कम गर्ने
५. ओमेगा–३ खाने
६. चिनी, ग्लुकोज, फ्रुटकोज कम गर्ने 
७. स्याचुरेटेड चिल्लो पदार्थको साटो अनस्याटुरेटेड चिल्लो पदार्थ खाने
८. ओखर र कटुसले पनि ट्राइग्लिसरायड कम गराउँछन् ।

माथी उल्लेख गरिएका सल्लाहहरुले रगतमा बढेको ट्राइग्लिसेरायड कम हुन्छ ।

स्टाटिनले २०–४० प्रतिशत ट्राइग्लिसेरायड र १८–५५ प्रतिशत एलडिएल–सी लाई घटाँउछ भने ५–१५ एचडिएल–सी लाई बढाँउछ । एलडीएल–सी नराम्रो र एचडिएल– सी राम्रो कोलेष्ट्रोल हो ।

फाइब्रेट ले ४०–६० प्रतिशत ट्राइग्लिसेरायडलाई घटाउँछ  र यसले ५–३० प्रतिशत एलडीएल–सी र १५–२५ प्रतिशत एचडीएल–सीलाई बढाँउछ । 

निकोटिनिक एसिड अर्थात नायसिन ले ३०–५० प्रतिशत ट्राइग्लिसरायड र ५–२५ प्रतिशत एलडिएल–सीलाई घटाउँछ भने २०–३० प्रतिशत एचडिएल–सीलाई बढाँउछ । माछाको तेलमा पाईने फ्याटीएसिडहरुले ३०–५० प्रतिशत ट्राइग्लिसेरायडलाई घटाउँछन् ।

अल्परक्त प्रवाह हृदयरोग गराउने कारणहरु भएको र ट्राइग्लिसेरायड बढेका व्यक्तिहरुलाई स्टाटिनद्वारा उपचार गर्नुपर्छ । ट्राइग्लिसेरायड बढेका तर मुटुरोगका लक्षणहरु नभएकाहरुलाई फाइब्रेट, नायसिन अथवा माछाको तेल प्रयोग गरेर उपचार गर्न सकिन्छ ।

ट्राइग्लिसेरायडका विषयमा विशेषज्ञहरु बिच केहि फरक मत भएता पनि यसलाई हुनुपर्ने भन्दा ज्यादा बढ्न नदिन प्रयत्न गर्नु बुद्धिमानि हुन्छ । यो लेखमा उल्लेख गरिएका ट्राइग्लिसेरायड सम्बन्धि तथ्यहरु सर्वसाधारणले थाहा पाएर अल्परक्त प्रवाह हृदयरोग र प्यांक्रियाटाइटिस जस्तो ज्यानलाई नै खतरा पुर्‍याउने रोगबाट आँफुलाई बचाउन सक्नेछन् । चिकित्सा शास्त्रका विद्यार्थीहरुलाई पनि यो लेखले ट्राइग्लिसरायडका विभिन्न पक्षहर सँग राम्रो परिचय गराउने कुराममा विश्वस्त छु ।

Volanesorsen भर्खरै पत्ता लागेको ओखतीले ७० प्रतिशत ट्राइग्लिसेरायड घटाउन सक्षम भएको छ । भविष्यमा अन्य औषधि र प्रविधि आविस्कार हुने आशा राख्न सकिन्छ ।